आशा लघुवित्तको शाखा विस्तार
काठमाडौं: आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक आफ्नो दुई वटा शाखा कार्यालय स्थापना गरेको छ । स्थापना गरिएका शाखा कार्यालयमध्ये तुरतुरे, तनहुँको उद्घाटन सञ्चालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले गरेका हुन् भने शुक्लगण्डकी, खैरेनीटार शाखाको उद्घाटन सञ्चालक प्रदिपकुमार खड्काले गरेको संस्थाले जनाएको छ ।
यस राष्ट्रिय स्तरको वित्तीय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलालाई विभिन्न आयआर्जन व्यवसाय सञ्चालन गर्न उनीहरूको घरदैलोमा लघुवित्त सेवा पुर्याउने उद्देश्य लिएको छ । देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आय वृद्धिमूलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यलाई उद्यमशिल बनाइ उनीहरूको सामाजिक तथा आर्थिक स्तर वृद्धि गर्न तनहुँमा दुई वटा शाखा खोलेको संस्थाका विभागिय प्रमुख जीवन खनालले बताए ।