सीमा सुरक्षालाई उच्च प्राथमिकता राख्न गृहमन्त्रीको निर्देशन
रसुवाः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उच्च मनोवलका साथ सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाको नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै गृहमन्त्री निधिले उच्च मनोबलका साथ निर्भिक भएर सीमा सुरक्षा लगायत अपराध नियन्त्रणमा काम गर्न निर्देशन दिएका हुन्। तीनवटै सुरक्षा निकायका प्रमुखका साथ रसुवा सदरमुकाम धुन्चे पुगेका गृहमन्त्री निधिले सीमा सुरक्षा राष्ट्रभक्ति र देशभक्तको प्रतिक भएको उल्लेख गरे।
मन्त्री निधिले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव टेबुल गर्न नदिएर मुख्य विपक्षी दल एमालेले संसदीय प्रक्रियाको खिलापमा काम गरेको बताए। एमाले नेताहरुसंग वार्ता भइरहेको बताउँदै उनले कुनै निकास निस्कनेमा आफू आशावादी भएको बताए।
मन्त्री निधिले रसुवाका कार्यालय प्रमुखहरुसंगको भेटमा स्थानीय निकायको निर्बाचनको घोषणा जुनसुकै बेला हुन सक्ने भन्दै त्यसका लागि तयार रहन निर्देशनसमेत दिएका छन्।