संविधान संशोधन गर्न माग गर्दै मधेसी मोर्चाद्वारा तौलिहवामा प्रदर्शन
कपिलवस्तुः संविधान संशोधन गरी मधेसका मुद्दाहरु सम्वोधन गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्नु पर्ने माग गर्दैै मधेसी मोर्चाले कपिलवस्तुको तौलिहवामा प्रदर्शन गरेका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जिल्लाका मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर प्रदर्शन तथा नारावाजी गरेका हुन्।
नेकपा एमालेविरुद्ध चर्को नारावाजी गर्दै मोर्चाका कार्यकर्ताहरुले मधेसका जिल्लाहरुमा पहाडी जिल्ला मिलाउन नहुने, तराई मधेसमा मधेसी, थारु तथा मुस्लिमहरुको अधिकार स्थापित हुने ढंगले राज्यको पुर्नसंचना हुनु पर्ने माग गरेका छन्। उनीहरुले मधेसलाई दुई प्रदेशमा विभाजन गर्नु पर्ने माग गरेका छन्।
विरोध प्रदर्शन कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सहसराम यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता धर्मबहादुर लाल श्रीवास्तव, सद्भावना पार्टीका नेता मधुसुदनशरण चौधरी, नेपाल सद्भावना पार्टीका नेता रविन्द्रनाथ मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो।