घरका अवशेष पन्छाउँदै मुसहर
महोत्तरीः बर्दिबास नगरपालिका २ मुसहर बस्तीका ४० वर्षीय झगरु सादा मुसहर अहिले दाउरा लिन जंगल जान छोडेका छन् । जंगलबाट दाउरा बटुलेर उनले परिवार पाल्दै आएका भए पनि उनी चार दिनदेखि उनी आफ् भत्काइएको जीर्ण घरको अवशेष पन्छाउन व्यस्त छन् ।
झिसमिसे बिहानै काँधमा बन्चरो बोकेर दाउराको खोजीमा जंलग चाहर्दै हिँड्ने झगरु अचेल काँधमा साबेल र हातमा गैंचा बोकेको अवस्था भेटिन्छन् । झगरुकी श्रीमती गोलो सादा छोराछोरी शिवा र सपनालाई समयमै खाना खुवाए स्कुल पठाउँछिन् । त्यसपछि गोलो पनि श्रीमान् झगरुलाई घरका अवशेष पन्छाउन सहयोग गर्छिन् ।
बर्सौंदेखि जीर्ण झुप्डीमा बसोबास गर्दै आएका झगरुको नयाँ घर बन्ने भएपछि जंगल जान छाडेर उनी घर बनाउन खटिएका हुन् । हास्य कालाकार धर्मुस-सुन्तलीले बर्दिबासका पचास परिवार मुसहरका लागि पचासवटा घर बनाइदिने काम सुरु गरेपछि बस्तीका सबै मुसहर व्यस्त छन् ।
आफ्नो घर बनाउन सामूहिक रूपमा उनीहरू श्रमदानमा जुटेका स्थानीय सञ्जीव सादा बताउँछन् । ‘कोही काम गर्ने मान्छेलाई खुवाउन खाना बनाउँछन् । कोही जीर्ण घर हटाउन खटिन्छन् । कोही बाहिरबाट मुसहर बस्तीमा आउनेलाई स्वागत गर्छन्', उनले भने ।
पुस्तौंदेखि रोग, भोक र अशिक्षाले पछाडि परेका मुसहरको मुहारमा हाँसो ल्याउन धुर्मुस—सुन्तली कस्सिएका छन् ।
‘१५ दिनमा नसकिने काम सबैजना मिलेर चार दिनमै गरियो,' बस्तीका अगुवा मन्जय सादाले भने, ‘मुसहरका लागि नवयुग सुरु भयो । स्थानीयहरू बच्चाहरूलाई स्कुल पठाउँछन् । बचत गर्छन् । आफ्ना बारेमा सोच्न थालिसके ।' मानवता र सद्भावका लागि सहकार्य गरौं भन्ने नाराका साथ धुर्मुस—सुन्तलीले मुसहर बस्ती बनाउन लागेका छन् ।
‘बर्सौंदेखि अरूका लागि पसिना बगायौं, श्रम गर्यौं । मुसहरले अखिर के पायौं, त्यही पाँच किलो धान मात्र होइन,' घरको खर ओसार्दै गरेका बस्तीका ४२ वर्षीय बिल्टु सादा मुसहरले भने,‘ दिनभरि बालुवा, इँटा, ढुंगा ओसारेर मालिकको महल बनायौं तर बनिसकेपछि हामीलाई त्यहाँ छिर्न दिँदैनन् ।
अब हामी पनि आफ्नै श्रम र पसिनाले मालिकको जस्तै महल बनाउँदैछौं ।' सबैको हेलाँको पात्र बन्दै आएका मुसहरका दिन फेरिने भएपछि उनीहरू उत्साहित छन् ।
घरको अवशेष हटाउन बर्दिबासस्थित छिन्नमस्ता सशस्त्र प्रहरी गण माईस्थानका प्रहरी जवानले पनि सघाएका छन् । लगभग पुराना घर र तीनका अवशेष स्थानीयले हटाइसकेका छन् ।
आफ्नो जीर्ण घर भत्काउँदै मुसहर बस्तीका स्थानीय ।अन्नपूर्ण