धनगढी र देवदहमा अन्नपूर्ण रोड सो
परासीः ग्राहक योजनाअन्तर्गत अन्नपूर्ण पोस्ट्ले सोमबार रूपन्देहीको देवदह, परासी र कैलालीको धनगढीमा रोड सो आयोजना गरेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकाका सम्बन्धमा स्थानीयबाट सुझाव संकलन र नयाँ ग्राहक बनाउने योजनाअनुसार रोड सोको आयोजना गरिएको हो ।
देवदह र परासीमा भएको रोड सोमा बुटवल क्षेत्रीय कार्यालयबाट आएका बजार प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीसमेत सहभागी थिए ।
त्यस्तै धनगढीमा भएको रोड सोमा त्यस क्षेत्रका बजार प्रतिनिधि, कर्मचारी र सञ्चारकर्मी सहभागी भएको अन्नपूर्ण पोस्ट्का सुदूर तथा मध्यपश्चिम ब्युरो प्रमुख प्रेम केसीले बताए । पुस १ गतेदेखि बाँकेको कोहलपुरबाट प्रकाशन सुरु गरेको अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको सोमबारदेखि धनगढीमा सुरु भएको रोड सो एक हप्तासम्म चल्ने प्रमुख केसीले उल्लेख गरे ।
त्यस्तै देवदहका ग्राहकले अन्नपूर्ण पोस्ट्ले समेटेका विषयवस्तु अन्य पत्रिकाभन्दा फरक रहेको बताउँदै स्थानीय समाचारलाई महŒव दिन आग्रह गरेको बुटवल क्षेत्रीय कार्यालय प्रमुख रामबन्धु पौडेलले बताए । स्थानीय शिवकुमार खड्काले भने, ‘अन्नपूर्ण पोस्ट्ले समेट्ने सबै विषय समय सान्दर्भीक छन् तर जिल्लास्तरमा रहेका समस्यालाई अझ बढी प्राथमिकता दिनसके यसको लोकप्रियता झनै बढ्ने थियो ।’
रूपन्देहीको देवदह भलुही, परासी सदरमुकामलगायत सुनवल, बर्दघाट, भूमही बजारमा रोड सो गरिएको थियो । रोड सो कार्यक्रममा पत्रिकाका प्रतिनिधिले पसल, संघसंस्था र घरघरमा पुगेर अन्नपूर्ण पोस्ट्को वार्षिक योजनाबारे जानकारी गराएका थिए ।
रोड सो कार्यक्रममा ग्राहक बन्दै संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष धरेन्द्र यादवले अन्नपूर्ण पोस्ट् अरु पत्रिकाभन्दा परासी क्षेत्रमा सबैभन्दा पहिले आउने भएकाले नियमित रूपमा पढ्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे । परासी क्षेत्रमा पत्रिका बिहान ४ बजे पुग्ने गरेको छ ।
रोड सो अभियानमा विभिन्न व्यक्ति र संघसंस्थाले उत्साहपूर्वक ग्राहक बन्ने चाहना देखाएको क्षेत्रीय कार्यालयका मार्केटिङ प्रमुख अनिल रेग्मीले बताए ।
ग्राहकका लागि अन्नपूर्ण पोस्ट्ले एक करोड २५ लाख नगद वा बंगलासहित साप्ताहिक र मासिक उपहार योजना सञ्चालन गर्दै आएको छ ।