झन्डै २३ लाख जनतालाई सामाजिक सुरक्षा भत्ता दिइने
काठमाडौं: केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष २०७३/७४ मा २२ लाख ८९ हजार २८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जाति, अपाङ्ग भएका व्यक्ति र दलित तथा कर्णाली अञ्चलका पाँच वर्ष नपुगेका बालबालिकालाई समेत सामाजिक भत्ता दिन लागेको हो।
जसमा ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई भत्ता एक हजार रुपैयाँ र औषधि उपचारका लागि एक हजार गरी मासिक दुई हजार रुपैयाँ दिनेछ भने दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जातिलाई मासिक एक हजार रुपैयाँ दिइनेछ।
यस्तै अपाङ्गता भएका व्यक्तिको हकमा पूर्ण अपाङ्ग (रातो कार्ड) प्राप्त गरेकालाई दुई हजार र अति अशक्त (निलो कार्ड) प्राप्त गरेकालाई ६०० सय दिइनेछ। यसैगरी दलित र कर्णाली अञ्चलका पाँच वर्ष उमेर नपुगेका बालबालिकालाई मासिक चार सय दिइनेछ।
विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले विभागले सामाजिक सुरक्षा भत्ताका लागि ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार रुपैयाँ रकम छुट्याएको जानकारी दिए। रासस