संसद्मा खैनी फाल्ने मन्त्री केसीले भनेः मैले गल्ती गरेकै हुँ
काठमाडौंः सोमबार व्यवस्थापिमा संसद् बैठक चल्दै गर्दा बैठकस्थलमै खैनी फालेर आलोचित भएका सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले आफू अस्वस्थ्य भएका कारण गल्ती भएको बताएे । ‘म केही दिनदेखि नै अस्वस्थ्य थिएँ, हिजो संसद्मा देखिएको दृश्य स्वभाविक भएको गल्ती हो,’ मन्त्री केसीले भने ।
केसीले आफ्नो घाँटीमा समस्या भएकाले उक्त गल्ती भएको स्पष्टिकरण समेत दिएका छन् । ‘एक्कासी मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो’, मन्त्री केसीले भने, ‘तर बाध्यतालाई नबुझी समाचार बाहिर आयो ।’
केसीले आफू नै संसदको मर्यादापालक भएको भन्दै आफ्नो आलोचना गर्नेलाई देखेर हाँसो लागेको बताए । ‘संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ । तर, आलोचना गर्नेलाई देखेर मलाई हाँसो लागेको छ’, केसीले भने ।
‘मेरो जीवनयात्रा’ सार्वजनिक
मन्त्री केसीले रिपोर्टर्स क्लब नेपालमा जयराम दवाडीले लेखेको ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको विमोचन गरेका छन् । पुस्तकको बारेमा टिप्पणी गर्दै केसीले पुस्तकमा समावेश भएका पक्ष र बिषयहरू भावी पुस्ताले ग्रहण गर्न लायक र जीवनमा अत्यावश्यक रहेको बताए ।
राजधानीमा जन्मेर देशका कुनाकन्दरामा पुगेर विद्यालय खोल्ने, शिक्षाको दियालो सल्काउने महत्वपूर्ण काम गरेको भन्दै मन्त्री केसीले लेखक दवाडीको प्रशंसा गरे ।
नेपालवाणी नेटवर्कका समाचार निर्देशक दामोदर दवाडीले ‘मेरो जीवनयात्रा’का लेखक जयराम दवाडी समाजका तारा र शिक्षा क्षेत्रका नक्षत्र भएको बताए ।