विवाह गर्ने उमेर नपुग्दै हुन्छ सम्बन्ध विच्छेद

विवाह गर्ने उमेर नपुग्दै हुन्छ सम्बन्ध विच्छेद

लिबाङ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षको भइन्। १७ वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उनी परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिइन्।

विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले। विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरिन्।  डाँगीका अनुसार २०७१ साल फागनुमा उनका श्रीमान् वैदेशिक रोजगारीका लागि बिदेसिएर फोनबाटै गालीगलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि डाँगी अन्तमा सम्बन्ध विच्छेदको निर्णयमा पुगेकी हुन्। हाल उनले दर्ता गराएकी सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ।

राङ्सी–५ रोल्पाकी दीपा घर्तीमगरले आजभन्दा ८ वर्ष पहिले १५ वर्षको कलिलो उमेरमा कोर्चाबाङ–७ रोल्पाका खडकबहादुर घर्तीसँग प्रेम विवाह गरेकी थिइन्। १६ वर्षको उमेरमा आमा बनेकी घर्तीले आफ्नो अध्ययनलाई ४/५ कक्षाभन्दा माथि उठाउन सकिनन्। दुबैको मञ्जुरीमा प्रेम विवाह गरेकी घर्तीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए । दिनभरि काम गर्दा पनि श्रीमान्ले पेटभर खान नदिएको, रातदिन कुटपिट गर्ने गरेको, वैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको बेवास्ता गरेको तथा विभिन्न किसिमका घरेलु हिंसा गरेको भन्दै न्यायको ढोका ढक्ढक्याउन उनी पटक पटक इलाका प्रहरी कार्यालय घर्तीगाउँमा पुगिन् । पटकपटक घर्तीगाउँ प्रहरीले श्रीमान् श्रीमतीका बीचमा मेलमिलाप गराएर पठायो । तर स्थायी रुपमा उनीहरुका बीचमा सुमधुर सम्बन्ध कायम हुन सकेन । अन्तमा घर्ती सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा पुगिन् ।

त्यसैगरी, कोटगाउँ–७ रोल्पाका १७ वर्षीया कमला बुढा र कोर्चाबाङ गाविस–२ रोल्पाका २० वर्षीय समीर बुढाबीच २०७० साल भदौ २५ प्रेम विवाह सम्पन्न भएको हो । बुढा दम्पतीका बीचमा पनि सुमधुर सम्बन्ध कायम हुन सकेन । विसं २०७१ असोज १० गते पारिवारिक झगडा भएपछि माइतीघरमै बस्दै आउनुभएका श्रीमती कमला बुढाले २०७३ साल साउन १९ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएकी छिन्।

गैरीगाउँ–१ रोल्पाका १८ वर्षीया पवित्रा केसीले बुढागाउँ–९ रोल्पाका १८ वर्षीय हेमराज पुनसँग २०७० साल पुष १५ गते प्रेम विवाह गरेकी थिइन्। उनका श्रीमान् विवाह भएको करिव १ महिनापछि कामको खोजीमा काठमाडाैंको ईंटा भट्टामा पुगिन् । ६ महिना पछि त्यहाँबाट कामकै खोजीमा भारत गइन्। यसरी भारत पुगेका श्रीमानले घरमा भएकी श्रीमतीको बेवास्ता गर्ने, खर्च नपठाउने गर्न थालेपछि आफ्ना दिनहरु थप कष्टकर बन्दै गएको केसीले बताइन्।

घरमा भएका परिवारले समेत मानसिक यातना दिन थालेपछि उनी माइती घरमा बस्न थालिन्। माइतीले छोरीलाई घरमै बस्ने वातावरण मिलाउन धेरै प्रयास गरेको तर सम्भव नभएको केसीका भाउजूले बताइन्। उनले भनिन्,' हामीले नानीलाई घरमै बसाल्ने वातावरण मिलाउन धेरै प्रयास गर्‍यौं तर ज्वाइँले कुटपिट गर्न र यातना दिन छा्ड्नु भएन। माइतीमै राख्नुपर्छ भने किन सम्बन्ध गाँसिरहने भन्ने सोची सम्बन्ध विच्छेदको निवेदन दिन लिबाङ आएका छौं ।'

राँक–५ रोल्पाका ५० वर्षीया कौशिला विकले पनि सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गराएकी छिन्। श्रीमान् कुलवीर कामीले मदिरा सेवन गरी कुटपिट गर्ने, गालीगलौज गर्ने, आफ्नो कामको मूल्याङ्कन नगर्ने, सधैं झगडा गरी आफूलाई शारिरीक तथा मानसिक यातना दिने गरेको उनीले पेस गरेको निवेदनमा उल्लेख छ । उनीका मुद्दा पनि विचाराधीन अवस्थामा रहेको अदालतले जनाएको छ।

यसरी १७/१८ वर्षको उमेरदेखि ५०/५५ वर्षको उमेर समूहका महिलाहरु सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आउने गरेको मुद्दा फाँटका नासु दामोदर दाहालले जानकारी दिए। मुद्दा फाँटका खरिदार दिपेन्द्रराज श्रेष्ठका अनुसार जिल्ला अदालत रोल्पामा यस आर्थिक वर्षमा मात्र जम्मा ५० वटा नयाँ र २० वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका गरी कुल ७० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। यस आवमा ३३ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भइसकेका छ। सातवटा मुद्दामा अंशसहित सम्बन्ध विच्छेद गर्न खोजेको भएपछि अन्य कसैले पनि अंश दावी गरेको देखिएको छैन।

जिल्ला न्यायाधीस कमलप्रसाद ज्ञवालीका अनुसार सम्बन्ध विच्छेदको समस्या पछिल्लो दिनमा रोल्पा जिल्लामा मात्र नभएर देशभर नै बढ्दै गएको छ । विशेषगरी बालविवाहका कारण विवाह गर्ने उमेरका किशोरकिशोरीले सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको छ ।

यस्तै, प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरी कार्यालय रोल्पामा आएका सबैजसो घटना मिलापत्र गरी पठाउने गरिएको बताए। उनका अनुसार नगण्य घटना मात्रै सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत पुग्ने गरेका छन्। जिविस रोल्पाका सामाजिक विकास अधिकृत रत्नज्योति हमालका अनुसार एकाध बाहेक जिल्लामा बालविवाह गरेका अधिकांश जोडीले नै सम्बन्ध विच्छेद गर्ने गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.