सडक विस्तारपीडित संघर्ष समितिले गरेको बन्दको प्रभाव न्युन
कठमाडौं: सडक विस्तारपीडित संघर्ष समितिले आह्वान गरेको उपत्यका बन्दको प्रभाव बुधबार सामान्य परेको छ ।
राजधानीका विभिन्न सडकमा निजी सवारी साधन सामान्य रुपमा सञ्चालनमा रहेपनि सार्वजनिक सवारीका साधन भने कम मात्र चलेका छन् ।
सडकका चोकचोकमा बाक्लो संख्यामा उपस्थित प्रहरीले सुरक्षा दिएका छन् । तर, पनि सार्वजनिक सवारी सञ्चालन नहुँदा सर्वसाधारण यात्रु मारमा परेका छन् ।
कलंकीमा रहेका ध्रुव कुमार सिंहले अहिले कममात्र सवारी चलेको बताए । उनले भने-'बन्दका कारण उताबाट आएका केही नाइट बस बाहेक अरु कुनै सवारी चलेका छैनन् । निजी सवारी पनि कम मात्र चलेका छन् । बन्द हुन्छ भन्ने थाहा नपाएका सर्वसाधारण भने बाटोमा अलपत्र परेका छन् । उपत्यका बाहिर जाने तयारीमा रहेका सर्वसाधारण बढी प्रभावित भएका छन् ।'
काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण आफूहरु समस्यामा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाका उचित मआब्जा दिनुपर्ने र भत्काउने घरको उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै उपत्यका बन्द आह्वान गरेका हुन् ।