अब मोबाइलबाट राहदानीको फाराम भर्न सकिने (भिडियोसहित)

अब मोबाइलबाट राहदानीको फाराम भर्न सकिने (भिडियोसहित)

काठमाडौं: सेवाग्राहीले अब आफ्नै मोबाइल फोनबाट नयाँ राहदानीका लागि आवेदन फाराम भर्नसक्ने भएका छन् । केन्द्रीय राहदानी विभागले मंगलबारदेखि यस्तो नयाँ सेवा थालेको हो । नारायणहिटीस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले उक्त सेवा उद्घाटन गरे । यो सेवाको नाम 'मोबाइल एप्स नेपाल पासपोर्ट' दिइएको छ ।

एप्पलको आईओएस तथा एन्ड्रोइड मोबाइलबाट एमआरपीका लागि अनलाइन फाराम दर्ता गर्ने व्यवस्था सुरु भएको राहदानी विभागका महानिर्देशक सुशील लम्सालले सञ्चारकर्मीलाई बताए । यो नयाँ व्यवस्था कम्प्युटरबाट मात्र आवेदन गर्ने र फाराम अनिवार्य रूपमा प्रिन्ट गर्नुपर्ने विद्यमान अवस्थामा सुधार आउने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंस्थित राहदानी विभाग र विदेशस्थित १० वटा नेपाली नियोगबाट यो सुविधा उपलब्ध हुने परराष्ट्रसचिव शंकरदास बैरागीले बताए । उनका अनुसार कतारको दोहा, साउदीका रियाद र जेद्दा, संयुक्त अरब इमिरेट्सको आबुधाबी, बेलायतको लन्डन, कुवेतको कुवेत सिटी, अमेरिकाका वासिंटन, न्युयोर्क र चीनको हङकङमा यो सुविधा नेपाली नागरिकले प्रयोग गर्न सक्नेछन् । राहदानीका लागि आवेदन लिँदा मोबाइल एप्सबाट फाराम भर्न सकिनेछ ।

त्यस्तै यो सेवा कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट पनि उपलब्ध हुनेछ । मोबाइल प्रयोगकर्ताले App Qmore/play store  मा गइ nepalpassport सर्च गरेर उक्त एप्स डाउनलोड गर्नसक्ने जानकारी लम्सालले दिए ।

भिडियो हेर्नुहोस्

नयाँ प्रविधिअनुसार मोबाइल एप्सबाट राहदानीका लागि फाराम भरेपछि आवेदकले बार कोड प्राप्त गर्नेछन् । राहदानी प्राप्त गर्न लाग्ने दस्तुर, फोटो, औंठाछाप र नागरिकता लिएर गएर विभाग तथा विदेशस्थित नेपाली नियोग जान सक्नेछन् । विभागले गत वर्षदेखि प्रत्यक्ष दर्ता प्रणाली लागू गरेको छ । त्यसअनुसार सेवाग्राहीले राहदानी आवेदन दिन जाँदा फोटो लिएर जानु पर्दैन । आगामी दिनमा प्रत्यक्ष दर्ताप्रणाली विदेशस्थित सबै नेपाली नियोगमा लागू हुने जानकारी विभागका निर्देशक रामप्रसाद सुवेदीले दिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री महतले विकसित विज्ञान तथा सूचनाप्रविधिको अधिक प्रयोग गरी प्रविधिमैत्री सेवा प्रदान गर्न परराष्ट्रका सबै विभागलाई निर्देशन दिए । मन्त्री महतले सरकारले अहिलेको मेसिन रिडेबल पासपोर्ट विस्थापित गरी इलेक्ट्रोनिक पासपोर्ट जारी गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।

'अहिलेको जमानामा पनि सेवा लिन मानिस भौतिक रूपमा नै उपस्थित हुनुपर्ने अवस्था राम्रो होइन । त्यसैले त्यस्तै प्रकृतिका सेवाबाहेक सकेसम्म सबै सरकारी सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ', महतले भने ।

'यो पासपोर्ट एप्सका कारण पक्कै पनि नागरिकलाई सेवा लिन सजिलो हुनेछ । नागरिकलाई कसरी सस्तो र सजिलो गरी सेवा दिन सकिन्छ भन्नेबारेमा सरकारले हरसम्भव सोच्नेछ', महतले भने ।

मन्त्री डा. महतले राहदानी र कन्सुलरसेवा बढी मात्रामा जनतासँग प्रत्यक्ष जोडिएकाले विशेषगरी यहाँ काम गर्ने कर्मचारीले नयाँनयाँ प्रविधि र तरिकाको अनुसरण आवश्यक रहेको बताए ।

राहदानीको दस्तुर महँगो भएको भनी आएका गुनासाहरूको सम्बोधन गर्नेबारेमा पनि मन्त्रालयले तदारुकताका साथ काम थालेको उनको भनाइ थियो ।

परराष्ट्रसचिव बैरागीले केही समययता राहदानी विभागले सेवामा गुणात्मक फड्को मारेकोमा सराहना गर्दै आगामी दिनमा सेवालाई अझ प्रभावकारी बनाउनतर्फ सोच्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.