निकास निकाल्न प्रचण्डलाई सभामुख घर्तीको पाँच दिने समय
काठमाडौं: सभामुख ओनसरी घर्तीले राजनीतिक निकासका लागि निर्णायक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी घर्तीले व्यवस्थापिका संसदको अर्को बैठकको मिति भन्दा अघि नै निकास निकाल्ने गरी पहल गर्न आग्रह गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले समय अब छोटो रहेको र पाँच दिन भित्रमा जसरी पनि राजनीतिक निकास निकाल्ने गरी संवाद थाल्न आग्रह गरेको शर्माले बताए ।
प्रधानमन्त्री प्रचण्डले पनि छलफल सकारात्मक भएको बताउँदै राजनीतिक गतिरोधको अन्त्य गरी निकास निकाल्न आफुले हदैसम्मको पहल गर्ने भन्दै दलीय सहमति हुनेमा आशाबादी रहेको बताएका छन् ।
सभामुख ओनसरी घर्तीले राजनीतिक निकास निकाल्न आग्रह गर्दै मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेकी थिइन् ।