किन झोकी हुन्छन् बालबालिका ?
बच्चा हुर्काउने क्रममा अधिकांश आमाबाबुले आफ्नो छोराछोरीले देखाउने झोकी अथवा रिसको सामना गर्नुपर्ने हुन्छ । केटाकेटीले देखाउने यस्तै झोक अथवा रिसलाई 'टेम्पर ट्यान्टर्म' भन्दछन् । एक वर्षदेखि तीन वर्षको उमेरका केटाकेटीले अधिक झोक देखाउने गर्छन् । आफूले भनेको जस्तो भएन अथवा आफ्नो इच्छा पूरा हुन नसक्दा रोइकराइ गर्दै भुइँमा लडिबुडी खेल्ने, लात हाल्ने अरूमाथि हमला गर्ने, टोक्ने, चिथोर्ने एक सामानले झटारो हान्नेजस्ता क्रियाकलापहरू झोकी व्यवहार हुन् ।
यस्तो क्रियाकलाप असन्तुष्ट एवं नैराश्यताको उपज हो । उमेरको वृद्धिसँगै यस्ता व्यवहारलाई निरुत्साहित गरिएका विस्तारै हराउँदै जान्छन् । तर यदि यस्तो व्यवहार हराएर गएन र केटाकेटी दबाउँदै लैजान्छन् भने त्यसले बालव्यक्तित्व विकासमा गम्भीर असल पार्ने गर्दछ ।
भनिन्छ, जति बच्चा स्वस्थ र सन्तुष्ट हुन्छ त्यति नै उसले रिस एवं झोक देखाउँदैन । रोगी अथवा बिरामी परिरहने, असन्तुष्ट, निराश र दुःखी केटाकेटीले भने धेरै झोक देखाउने गर्दछन् । त्यसैगरी ठूलो परिवार, परिवारमा धेरै सदस्यहरू र परिवारको केटाकेटीमध्ये सबैभन्दा ठूलो केटाकेटी त्यसमा पनि छोरामा झोकी व्यवहार धेरै देखिन्छ । यस्तो परिवारमा पहिलो बच्चाप्रति विशेष चाहना हुन्छ र सबैको ध्यान जान्छ तर अन्य बच्चाहरू जन्मँदै गएपछि परिवारका सदस्यको ध्यान पहिलोमा कम जाने हुनाले त्यस्तो बच्चाले ध्यानाकर्षण गर्नै क्रममा रिस एवं झोक देखाउने गर्छन् ।
झोकी व्यवहारले केटाकेटीको व्यक्तित्व विकासमा कस्तो असर पुर्याउँदछ ?
- धेरै झोकी व्यवहार देखाइरहने केटाकेटी शारीरिक एवं मानसिक दृष्टिकोणले स्वस्थ हुँदैनन् ।
- यसले केटाकेटीको गतिसीपलाई बाधा हाल्दछ ।
-एकाग्रता, चिन्तन क्षमता, स्मरण क्षमता एवं बुझाइ क्षमतालाई बाधा हाल्दछ ।
- यस्ता केटाकेटीहरूको सामाजिकीकरण पक्ष कमजोर हुन्छ । सहजै कसैसँग अथवा नयाँ ठाउँमा समायोजन गर्न सक्तैन ।
-यस्ता केटाकेटीलाई अरूले मन पराउँदैनन् । यस अवस्थामा हीनबोध र स्वअवमूल्यनले केटाकेटीको राम्रा पक्षहरूसमेत दबिँदै जाने गर्दछ ।
-यस्ता केटाकेटीमा विविध समस्याहरू एकपछिअर्को गर्दै बढ्दै जाने गर्दछ ।
केटाकेटी झोकी एवं रिसाहा हुनुको कारण
- झोकी एवं रिसाहा नैराश्यताको अभिव्यक्ति हो । जब केटाकेटी कुनै काम गर्न असमर्थ हुन्छन्, उनीहरू निराश हुन्छन्, त्यो निराशाको अनुभूतिलाई पोख्ने क्रममा झोकी व्यवहार देखाउने गर्छन् ।
- केटाकेटीले परिवार अथवा अन्य व्यक्तिको ध्यानाकर्षण गर्न परेमा पनि झोकी व्यवहार देखाउने गर्दछ । (खासगरी घरमा पाहुना आएको बेलामा) ।
- केटाकेटीहरू आफ्नो शक्ति प्रदर्शन गरी परिस्थितिलाई आफ्ना नियन्त्रणमा ल्याउन अथवा शक्तिको होडबाजीमा पराजित भएमा ।
-केटाकेटीलाई घरमा तनावको स्थितिमा बस्नुपर्दा ।
-अधिक बन्देज एवं अधिक छुट दिएमा, धेरै पुल्याएमा केटाकेटीमा झोकी व्यवहार धेरै नै देखिन्छ ।
-कुपोषण एवं रोगी भएमा ।
-नयाँ ठाउँ अथवा नयाँ मान्छेसँग भेट हुँदा उत्तेजित हुन गएमा ।
-कुनै ठाउँमा समायोजन गर्न नसक्दा (जस्तै साथी समूहमा विद्यालयमा, शिक्षकसँग इत्यादि) आन्तरिक असन्तुष्टि पैदा हुन्छ र त्यो असन्तुष्टिलाई अभिव्यक्त गर्ने क्रममा ।
-विद्यालयमा अरू साथीसरह प्रतिस्पर्धामा जान नसक्दा परीक्षामा असफल हुँदा शिक्षकबाट दण्ड पाउँदा र साथीभाइबीच झगडा हुँदा अथवा साथीहरूले घृणा एवं तिरस्कार गरेमा ।
-केटाकेटीको लालनपोषण कार्य गर्दा आमाबाबुले केटाकेटीहरूबीचमा भिन्न अथवा भेदभावपूर्ण व्यवहार देखाएमा पीडित पक्ष (अपहेलित अथवा कम महत्त्व पाएको)ले झोकी व्यवहार देखाउने गर्दछ ।
-कहिलेका कुनै कारणबिना नै केटाकेटीले झोकी व्यवहार देखाउने गर्दछन् ।
-धेरै थाकेको अवस्थामा, राम्रोसँग खाना नखाएको र प्रशस्त निद्रा नपुगेको अवस्थामा पनि झोकी व्यवहार देखाउने गर्छन् ।
कसरी सहयोग गर्ने
झोकी व्यवहार देखाउनुमा केटाकेटीको दोष हुँदैन । उनीहरूले जानीबुझीकन आमाबुवालाई अप्ठेरो स्थितिमा ल्याउन अथवा आफ्नो इच्छा पूरा गराउन बाध्य पार्ने उद्देश्यले झोकी व्यवहार देखाउने गर्दैनन् । बालवृद्धि र विकासको क्रममा आउने यो एक प्रकारको संवेग हो ।
यस प्रकारको व्यवहारले केटाकेटीलाई संवेग नियन्त्रण गर्न पनि सिकाउँछ । आमाबुवाले झोक देखाउने बालबालिकाको असन्तुष्टि, इच्छा र भावनालाई समयमा नै बुझेर सही एवं मानसिक सहयोग गर्ने किसिमको व्यवहार गर्नुपर्छ । अनावश्यक नियन्त्रण, छुट एवं आदेश दिने र दण्ड दिनेजस्ता क्रियाकलापले झोकी व्यवहारलाई झन बढाउँछ । त्यसैले झोक देखाउने केटाकेटीलाई अत्यन्त सावधानीपूर्वक निम्न तरिकाले सहयोग गर्नुपर्छ ।
- बालबालिकाले झोक देखाएमा सबैभन्दा पहिला त्यसको कारण खोजी गर्ने ।
- झोकी व्यवहार दिए भन्दैमा दण्ड दिने होइन झन् सहयोग र साथ दिनुपर्छ- झोकी व्यवहार देखाउँदा केटाकेटीलाई अंकमाल गर्ने, च्यापेर छातीमा टाँस्ने, टाउको एवं पिठ्युँमा सुमसुम्याउने र अनुहारमा विस्तारै फुकिदिने गर्नुपर्छ ।
- त्यस्ता बालबालिकालाई पोषिलो खाना, प्रशस्त आराम र सुत्ने अवसर दिनुपर्छ ।
- झोकलाई घटाउन घरायसी वातावरण सौहार्दपूर्ण, रमाइलो, शान्त र मायालु बनाउने ।
- उमेर सुहाउँदो क्रियाकलापमा व्यस्त राख्ने, खेल्ने र उफ्रने अवसर दिने ।
- आफू सरहका बालबालिकासँग मिलिजुली गर्न, खेल्न र आवत्जावत गर्न दिने ।
- अधिक छुट र बन्देज दुवैले झोक जन्माउने हुँदा त्यसप्रति अभिभावक सचेत हुने ।
- सधैं स्वस्थ एवं सन्तुलित व्यवहार देखाउने ।
- झोक देखाए भन्दैमा अहरे माग पूरा नगर्ने, बेवास्ता गर्ने र मन अर्कैतिर मोडिदिने गर्नुपर्छ ।
- झोक देखाएर ध्यान आफूतिर तान्न खोज्ने बालबालिकालाई धीत मरुन्जेल रुन र कराउन दिने तर फकाउने र इच्छा पूरा गरिदिने गर्नु हुँदैन । यसो गरेमा माग पूरा गर्ने हतियारको रूपमा झोकलाई प्रयोग गर्ने गर्छन् ।
- ध्यानआकर्षण गर्न झोक देखाउने बालबालिकालाई त्यो ठाउँबाट अर्को ठाउँमा जान लगाउने वा आफैं अर्को ठाउँमा हिँडिदिने । जबसम्म ऊ खुसी हुँदैन तबसम्म नबोल्ने चेतावनी दिने ।
- नौलो मानिस आउँदा वा बजार जाँदा झोक देखाउने बालबालिकालाई नौलो मानिस आउनुअघि वा बजार जानुअघि अनावश्यक माग वा अस्वाभाविक व्यवहार (जुन व्यवहार देखाउँछ त्यही तोकेर) देखाएमा कुन कुन कुराबाट बञ्चित गराइन्छ त्यसबारे स्पस्ट पारिदिनुस् । यति गर्दा पनि त्यस्तो व्यवहार देखाएमा उक्त चेतावनीलाई व्यवहारमा उतारेर देखाउनुपर्छ । तर यस प्रकारको व्यवहार सधैं समान हुनुपर्छ । कहिले छुट कहिले लागू गरेमा बालबालिकाले सही एवं तथ्यतासम्बन्धी ज्ञान पाउन सक्दैन ।
- नैराश्यता वा असन्तुष्टिका कारण त्यस्तो झोक देखाएका हुन् भने त्यो वातावरणलाई निरुत्साहित गर्नुपर्छ ।
- ठूलो उमेरसम्म पनि झोक देखाइरह्यो र माथि उल्लेखित उपाय अपनाउँदा पनि सुधार भएन भने बालमनोवैज्ञानिक एवं मनोवैज्ञानिक परामर्शदाताको सहायता लिनु आवश्यक हुन्छ ।
('केटाकेटीको समस्यालाई कसरी बुझ्ने ? ' पुस्तकबाट)