न्युरोड मोबाइल महोत्सवमा १७ हजार फोन बिक्री
काठमाडौं: नेपाल मोबाइल व्यवसायी संघले आयोजना गरेको 'न्यूरोड मोबाइल महोत्सव २०७३' मा १७ हजार स्मार्टफोन बिक्री भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको मेलाको अन्तिम दिनसम्म १७ हजारभन्दा बढी स्मार्टफोन बिक्री भएको आयोजकले जनाएको हो ।
मोबाइल व्यापारको मुख्य केन्द्र न्युरोडका स्थानीयबासी र पाको यूथ क्लबको सक्रिय सहयोगमा आयोजित महोत्सवमा पाँच लाखभन्दा बढी ग्राहकले अवलोकन गरेका छन् । महोत्सवमा सबैभन्दा बढी फोरजी प्रविधियुक्त स्मार्टफोनको माग देखिएको छ । मेलामा फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुने ग्राहकको संख्या पनि उल्लेखनीय रहेको आयोजकले जनाएको छ ।
नेपाल टेलिकमले आइतबारदेखि सुरु गरेको फोरजी सेवाले गर्दा ग्राहकले फोरजी मोबाइल सेटबारे विशेष रुचि र जानकारी लिएका थिए । महोत्सवमा नेपालका सबै मोबाइल ब्राण्डहरूको सहभागिता रहेकोमा जोप्पो र लिएगो मोबाइल ब्राण्डले आफ्नो बिक्री सुरु भएको घोषणा गरेका थिए ।
महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले भव्य र ऐतिहासिक मोबाइल महोत्सव पहिलो पटक आयोजना गरिएको बताउँदै भने, 'आागामी दिनमा पनि ग्राहकका लागि विभिन्न उपहार योजना ल्याउँछौं ।' महोत्सवका सहसंयोजक आविष्कारलाल श्रेष्ठले महोत्सव अनुमान गरे भन्दा अत्यधिक सफल भएको बताए ।