'एमाले संघीयता खारेज गर्ने खेलमा'
सोलुखुम्बुः नेकपा माओवादी केन्द्र प्रदेश नं– १ का इन्चार्ज तथा सचिवालय सदस्य गोपाल किराँतीले नेकपा(एमाले) सङ्घीयता खारेज गर्ने खेलमा लागेको आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुको एकदिने प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता किराँतीले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको विरुद्धमा एमाले उठ्नु भनेको सङ्घीयतासँगै संविधान नै खारेज गर्ने खेल भएको बताए ।
पूर्वमन्त्री समेत रहेका किराँतीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गराउने भन्दै एमालेलाई सहमतिमा आई मधेसवासीको मुद्दालाई हल गर्न आग्रह गरे ।
संशोधन गरी सङ्घीयता तथा संविधान कार्यान्वयनसँगै नयाँ संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन गराउने पनि नेता किराँतीले बताए । रासस