२८ वर्षमाथिका स्ववियु चुनाव लड्न नपाउने
काठमाडौं : २८ वर्षमाथिका विद्यार्थीले स्ववियु चुनाव लड्न नपाउने भएका छन्।प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न सभाले यस्तो निर्णय गरेको हो । विगतमा मुख्य विद्यार्थी संगठनबीच यही विषयमा कुरा नमिल्दा चुनाव हुन सकेको थिएन ।
अबदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवार बन्न २८ वर्ष भन्दा तल हुनुपर्नेछ । त्रिविले फागुन १४ गतेलाई स्ववियु चुनावको मिति यसअघि नै घोषणा गरिसकेको छ ।
विगतमा विद्यार्थी संगठनबीच यही विषयमा कुरा नमिले पनि बुधबार उमेर हद तोक्ने विषयमा आयोजना गरिएको बैठकमा विद्यार्थी संगठनका प्रतिनिधी भने सहभागी भएनन् । ‘यसको अर्थ विद्यार्थीहरुले उमेर हदलाई स्वीकार गरेका हुन् भनेर बुझ्नुपर्दछ’ शिक्षाध्यक्ष प्रा।डा। सुधा त्रिपाठीले भनिन्, ‘विद्यार्थीले विगतमा भएको छलफलमा जसरी पनि स्ववियु चुनाव हुनपर्छ भन्ने माग राखेका थिए ।’
प्रत्येक दुई वर्षको अवधिमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि हुन सकेको छैन । त्रिविले उमेर हद तोकेसंगै विद्यार्थी संगठनहरु पनि चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् । एमाले निकट अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले आफ्नो संगठन स्ववियु चुनावको तयारीमा जुटिसकेको बताइन् ।