कांग्रेसमा २८ वटा विभाग गठन साताभित्रै

कांग्रेसमा २८ वटा विभाग गठन साताभित्रै

काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार २८ वटा केन्द्रीय विभाग र समिति गठन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मंगलबार साँझ भएको छलफलपछि विभाग तत्कालै गठन गर्ने निर्णयमा देउवा पुगेका हुन् । देउवानिकट स्रोतका अनुसार तेह्रौं महाधिवेशनबाट सभापति बनेको एक वर्षभित्रै विधानअनुसार सबै केन्द्रीय विभाग, समितिलगायत पदाधिकारी र सदस्य मनोनयन गर्ने योजना छ । यसअघि कांग्रेसमा विधानअनुसारका विभाग र समिति सबै गठन हुने गरेको थिएन । 'विधानअनुसार सबै विभाग र समितिले पूर्णता पाउनेगरी काम भइरहेको छ', देउवानिकट वरिष्ठ केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले अन्नपूर्णसँग भने ।

देउवाले विधानअनुसार चार महिनाभित्र सबै पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी गरे पनि राजनीतिक उतारचढावका कारण पूरा हुन नसकेको भन्दै एक वर्षमा सबै पूरा गर्ने तयारी गरेका हुन् । केन्द्रीय विभाग र समिति गठनका लागि उनले पौडेलसँग परामर्श गरेका छन् । स्रोतका अनुसार पार्टीभित्र भागबन्डा गरेको सन्देश नजाने गरी दुई नेताबीच समझदारी र सहकार्यमा विभाग गठनको तयारी भएको छ ।

देउवाले एक महिनाअघि नै विधानअनुसार गठन हुने २८ वटा विभागका लागि इच्छुक महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यको नामावली पनि संकलन गरिसकेका छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि उनले सदस्यलाई इच्छा लागेको प्राथमिकताका आधारमा तीनवटा विभागको नाम दिन अनुरोध गरेका थिए ।

कांग्रेस विधानमा केन्द्रीय सदस्यको प्रमुखत्वमा संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध, संसदीय, स्थानीय निकाय, प्रचार, महिला, विद्यार्थी, तरुण, पेसागत तथा बुद्धिजीवी, सांस्कृतिक, शिक्षा तथा स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, अनुसन्धान तथा अभिलेख, उद्योग व्यापार यातायात तथा व्यवसाय, कृषि तथा सहकारी, संवैधानिक तथा कानुन, प्रशासन, श्रमिक, आदिवासी तथा जनजाति, अनुगमन तथा मूल्यांकन, खेलकुद विभाग, प्राकृतिक स्रोत विभाग, प्रशासन विभाग, नेपाली जनसम्पर्क समन्वय, वैदेशिक रोजगार क्षेत्र समन्वय, अपांग, भूपू सैनिक, दलित र द्वन्द्व व्यवस्थापन विभाग गठन हुने उल्लेख छ ।

यसअघि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले ४२ वटा विभिन्न विभागको संयोजक तोके पनि सदस्य विवादका कारण पूर्ण हुन सकेका थिएनन् ।

स्रोतका अनुसार साताभित्रै विभाग गठन गरी लगत्तै केन्द्रीय कार्यसम्पादन समिति, अनुशासन समिति, संसदीय समिति, लेखा समितिलगायत गठन गर्ने तयारी देउवाले गरेका छन् । त्यसैगरी यसअघि बन्नै नसकेको केन्द्रीय सदस्यको संयोजकत्वमा गठन हुने उपत्यकाका तीन जिल्लाका सभापति र क्षेत्रीय सभापति सदस्य रहने उपत्यका समन्वय समिति पनि गठन हुने भएको छ । विधानअनुसार गठन हुने २२ सदस्यीय कार्यसम्पादन समिति केन्द्रीय समितिपछिको निर्णायक निकाय हुनेछ । उक्त समितिमा पदाधिकारी र प्रवक्ता पदेन सदस्य भई २२ जना सदस्य मनोनयन हुने प्रावधान छ ।

त्यसैगरी विभिन्न निर्वाचनमा उम्मेदवार तय गर्ने संसदीय समितिमा पनि पदाधिकारी एवं प्रवक्ता पदेन सदस्य हुने र आठजना केन्द्रीय सदस्य मनोनयन गर्ने प्रावधान छ । पार्टीको अर्को महत्त्वपूर्ण निकाय केन्द्रीय अनुशासन समितिमा वरिष्ठ केन्द्रीय सदस्य संयोजक र चारजना केन्द्रीय सदस्य सदस्य हुने प्रावधान छ । अनुशासन समितिले पार्टीभित्र अनुशासन पालना नगर्ने जोकोहीलाई पनि कारबाही गर्नसक्ने अधिकार छ ।

प्रदेश कांग्रेस गठनको पनि कसरत

नयाँ संविधानअनुसार कांग्रेसले सातै प्रदेशमा प्रदेश कांग्रेस पनि गठन गर्ने तयारी गरेको छ । पार्टी विधानको धारा १२ मा पार्टीका विभिन्न प्रदेशमा रहेका महाधिवेशन प्रतिनिधिको अधिवेशनबाट प्रदेश समिति गठन गर्ने उल्लेख छ । त्यसका लागि पार्टी सभापति देउवाले सातै प्रदेशमा प्रदेश कांग्रेसको तदर्थ समिति गठन गर्ने र त्यसलाई निश्चित समयावधिमा अधिवेशन सम्पन्न गराउने म्यान्डेट दिने तयारी गरेका छन् ।

नयाँ संविधानअनुसार मुलुक संघीयतामा गएको र पार्टीको विधानमा पनि प्रदेश कांग्रेसको व्यवस्था भएकाले तत्काल तदर्थ समिति गठन गर्ने तयारी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.