पोखरा घुम्न स्नोल्यान्डको टुर प्याकेज
पोखराः पोखराकै जेठो होटेल स्नोल्यान्डले पोखरा घुम्न चाहने स्वदेशी पर्यटकका लागि टुर प्याकेज ल्याएको छ । लेकसाइड बाराहीचोकस्थित होटेलले प्रतिव्यक्ति पाँच हजार रुपैयाँमा दुई रात तीन दिनको टुर प्याकेज घोषणा गरेको हो । अँग्रेजी नयाँ वर्ष र जाडो बिदा पारेर घुम्ने पर्यटकलाई आकर्षित गर्न प्याकेज घोषणा गरेको होटेल सञ्चालक गणेशबहादुर थापाले बताए ।
एयरपोर्ट वा बस स्टेसनबाट होटेलसम्म ल्याउने, दुई रात सुविधासम्पन्न कोठामा राख्ने र बिहानको नास्ताको सुविधा प्याकेजमा छ । पोखराका विभिन्न पर्यटकीय स्थलमा दुई दिनसम्म घुमाउने जिम्मा होटेलले लिएको छ । होटेल सञ्चालक थापाले सुलभ दरमा भ्रमण गर्न चाहने पर्यटकका लागि स्नोल्यान्डको टुर प्याकेज रोजाइ बन्न सक्ने बताए ।
पर्यटकलाई पहिलो दिन विन्ध्यवासिनी मन्दिर, सराङकोट, महेन्द्र गुफा, चमेरे गुफा, गोर्खा स्मारक, सेती खोँच, पुरानो पोखरा र बजार क्षेत्र घुमाइन्छ । दोस्रो दिन पर्यटकले बाराही मन्दिर, कोमागाने पार्क, केदारेश्वर मन्दिर, रक गार्डेन, डेभिज फल, गुप्तेश्वर गुफा, विश्व शान्ति स्तूपको अवलोक गर्न पाउँनेछन् । साँझपख फेवातालको किनारैकिनार डुलेर पर्यटकले आनन्द लिन सक्नेछन् ।
पर्यटकीय स्थलमा लाग्ने प्रवेश शुल्क, डुंगा भाडा, बिहान र बेलुकीको खाना, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, बेगनास र रूपाको यात्रा भने प्याकेजमा समावेश गरिएको छैन ।
अल्ट्रालाइट, प्याराग्लाइडिङ, क्यानोनिङ, बन्जी जम्प, जिप फ्लायरका लागि होटेल स्नोल्यान्डबाटै बुक गर्ने सुविधा छ । २०२९ सालमा स्थापना भएको होटेल स्नोल्यान्ड दुई तारे होटेल हो । पार्किङको पर्याप्त स्थान रहेको होटेलमा हाल ४२ कोठा छन् ।