कुमारी बैंकको २१ प्रतिशत बोनस
काठमाडौः कुमारी बैंक लिमिटेडको २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र नगद लाभांश १.१० प्रतिशत दिने प्रस्ताव पारित गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ । बोनस सेयर वितरणपश्चात, बैंकको चुक्ता पुँजी तीन अर्ब २७ करोड हुने बैंकले जनाएको छ । बैंकले हालको चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने एक अर्ब ३५ करोड बराबरको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन गरिसकेको छ ।
साथै सो बैंकले काष्ठमन्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेबिहार विकास बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरी सकेको बैंकले जनाएको छ ।
हाल जारी गर्न लागेको बोनस सेयर, हकप्रद सेयर र सो प्राप्तिपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड पुग्नेछ । ७४ वटा बैंकको शाखा कार्यलय रहेको बैंकको निक्षेप ५० अर्ब र कर्जा लगानी ४० अर्ब रहेको बैंकले जनाएको छ ।