व्यवस्था फेरियो, अवस्था फेरिएन
जाजरकोटः पश्चिम जाजरकोटको दह निपानेमा खेत रोपिरहेका नौजना युवकलाई प्रहरीले २०५५ असार ३ गते पक्राउ गरी सोही दिन गर्खाकोट र दह गाविसको सिमानामा लगेर विद्रोही माओवादीको आरोपमा गोली हानेर हत्या गर्यो ।
उक्त घटनाको घाउ नपुरिँदै दैलेखको कालिका ६ मा जन्ती जान थालेका स्थानीय बेहुला कमानसिंह घर्तीसहित ११ जनालाई गिरफ्तार गरी भालु कुइयाँलेकमा लगेर प्रहरीले माओवादी आरोपमा हत्या गर्यो ।
६ महिनाको अवधिमा माओवादी आरोपमा घरमा बसेका २० जनाको हत्या गरिएपछि दह १ निपाने र दह २ जुनीका बासिन्दालाई यति विद्रोही बनायो कि दुईवटा वडाका पूरै गाउँले माओवादी बने । कोही भूमिगत भए, केही भारत गएर लुके, कोही सहरतिर विस्थापित हुन बाध्य भए । एक सय २५ घर मगर बस्ती रहेको जुर्के र निपाने गाउँमा त्यसपछि बूढाबूढी, महिला र केटाकेटी मात्रै बाँकी रहे ।
साहराविहीन उनीहरू न कतै भागेर जान सक्थे न त विद्रोहमा नै लाग्न सक्थे । खान बस्नको समेत समस्या भइरहेको बेला तात्कालीन माओवादीले त्यसको फाइदा उठाउँदै कम्युन स्थापना गरी अभ्यास गर्ने निर्णय गर्यो । हत्या भएलगत्तै सामूहिक कामकाज र सहयोग आदानप्रदान गर्ने अभ्यास गर्न थालिसकेका थिए स्थानीयहरू । माओवादीले जुर्के र निपाने गाउँलाई छोटकरीमा ‘जुनी’ नामाकरण गरी २०५६ चैत १२ गते जुनी कम्युनको घोषणा गरे ।
एक सय २५ घरको एउटै भान्सा हुन थाल्यो । एक छाक खाना पकाउन ६÷७ जनासम्म मेसमा खटाइन्थ्यो । त्यस्तै सामूहिक पसल थियो । सामूहिक खेती प्रणालीको विकास गरियो । हरेक मानिसलाई उनीहरूको क्षमता हेरेर कम्युन इन्चार्जले कामको खटनपटन गर्थे । ‘सबै कुरा सामूहिकमा हुन थालेपछि गाउँलेले राहत महसुस गर्न थाले’, कम्युन इन्चार्ज भएर काम गरेका ओयलसिंह घर्तीले विगत स्मरण गदै भने ।
‘गाउँका प्रहरीचौकी माओवादीले लखेटेपछि कम्युन सञ्चालन गर्न निकै सजिलो भयो’, घर्तीले भने, ‘भौगोलिक रूपले निकै विकट यस ठाउँमा माओवादीका केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरका बैठक तथा प्रशिक्षणसमेत हुने गर्थे ।
कम्युन नहुँदै भागेर सहर पसेका र भारत गएका पनि बाँच्ने भएपछि फर्किएका थिए । कम्युन घोषणाको केही समयपछि माओवादीले उक्त क्षेत्रलाई आधार इलाकाको रूपमा पनि घोषणा गरेका थिए । त्यहाँ जुनी बालसंरक्षण केन्द्र नामक विद्यालय स्थापना गरेर पठनपाठनको समेत व्यवस्था गरियो । पठनपाठनका लागि माओवादीले आफ्ना पढेलेखेका पूर्णकालीन सदस्यलाई खटाएका थिए ।
माओवादी द्वन्द्वका क्रममा राज्यपक्षले पटकपटक गरी जुनीका २८ जनाको ज्यान लिएको थियो भने माओवादी पक्षबाट तीनजनाको हत्या गरिएको स्थानीयको भनाइ छ । माओवादीले त्यतिबेला कलिलै उमेरमा विधवा भएका एकल महिलालाई दोस्रो विवाह गर्नसमेत प्रोत्साहित गरे ।
श्रीमती मर्दा दोस्रो विवाह गर्न मिल्ने तर श्रीमान् मर्दा जीवनभर आफ्ना इच्छा आकांक्षा दबाएर बस्नुपर्ने रुढीवादी संस्कारलाई तोड्न पुनर्विवाहलाई जोड दिएको माओवादीका नेता कालीबहादुर मल्लले बताए ।
अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेको उनको भनाइ छ । आधार इलाकामा बालविवाह र बहुविवाह रोक्ने काम गरेको, छाउपडी प्रथा, जातीय विभेदको रूपमा रहेका छुवाछुत प्रथाको अन्त्य, बोक्सी प्रथा र दाइजो प्रथाजस्ता सामाजिक विकृतिविरुद्ध आवाज उठाएपछि जनताको सहानुभूति र समर्थन पाउन सहज भएको मल्लको भनाइ छ ।
राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे सहमतिपछि भएको २०६२/०६३ को जनआन्दोलन सफल भए पनि कम्युन रहिरह्यो । समयको गतिसँगै विस्तारै २५ घरपरिवारमा मात्र कम्युन सीमित रहन पुग्यो ।
११ वर्ष चलेको कम्युन अन्तत २०६७ सालमा औपचारिक रूपमा विघटन भयो । शान्ति स्थापनासँगै मानिसहरू स्वतन्त्र रूपमा बाँच्न खोज्नु, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने मोह, सम्पत्तिमा स्वामित्व खोज्नु, सरकारले द्वन्द्वका क्रममा मारिएका परिवारलाई दिएको राहतमाथिको अधिकार र कम्युन स्थापन गर्ने माओवादी बेवास्तालगायतका कारण कम्युन विघटन भएको हो ।
पहिलो संविधान सभाको चुनावमा जुनी गाउँबाट पूरै भोट माओवादीलाई गएको थियो । माओवादी आन्दोलनको निराशा र माओवादी फुटको फाइदा उठाउँदै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेस, एमाले राम्रै जनमत प्राप्त गरेका थिए । स्थानीय नैनसिंह घर्ती भन्छन्, ‘कम्युन स्थानीयको बाध्यता र माओवादीका लागि परीक्षण र उपयोग भूमि थियो ।’
कम्युनको अभ्यासले जुनीका बासिन्दालाई जीउन सहज भए पनि खासै उपलब्धि नभएको घर्तीले बताए । ‘क्रान्ति सफल भएपछि जनताको आर्थिक, सामाजिक अवस्थामा परिवर्तन आउने, विकासका मार्ग प्रसस्त हुने, गरिबी र अभावको अन्त्य हुने भन्दै नेताहरूले आश्वासन बाँडे तर व्यवस्था परिवर्तन त भयो तर जनताको अवस्थामा परिवर्तन आएन’, घर्तीले गुनासो गर्दै भने ।
‘हिजो मर्न र मार्न लगाउने नेताहरू सांसद, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म भए तर हामीलाई कहिल्यै फर्केर हेरेनन् । युद्धकालमा पटकपटक आइरहने माओवादीका केन्द्रीयस्तरका नेताहरू शान्ति स्थापनापछि कहिल्यै फर्केर आएनन्’, स्थानीय गीता घर्तीले बताइन् । उनले खान, लाउन र केटाकेटी पढाउन पनि निकै मुस्किल परिरहेको बताइन् ।
जुनी पुग्न सदरमुकामबाट झण्डै तीन दिन पैदल हिँड्नुपर्छ । दैलेख, कालीकोट र जुम्लासँग सिमाना जोडिएको सो गाउँबाट जुम्ला जान दुई दिन र दैलेख जान एक दिन लाग्छ ।
खाद्यान्नलगायतका दैनिक उपभोग्य मालसामान दैलेखबाटै ल्याउने गरेको स्थानीयको भनाइ छ । गाउँमा अभाव अहिले पनि उस्तै छ । धान नफल्ने त्यस गाउँमा सिँचाइ सुविधा नहुँदा खाद्यान्नको समस्याले निकै सताउने गरेको छ ।
खाद्य डिपो निकै टाढा हुँदा उनीहरू समस्यामा छन् । नौ रुपैयाँ प्रतिकेजीमा पाइने नुन त्यहाँका बासिन्दाले ५५ रुपैयाँ प्रतिकेजीमा खान बाध्य छन् । ३५ रुपैयाँ प्रतिकेजी पर्ने चामल गाउँमा पुर्याउँदासम्म ८० रुपैयाँ पर्ने गरेको छ ।
माओवादी द्वन्द्वका क्रममा राज्यपक्षले पटकपटक गरी जुनीका २८ जनाको ज्यान लिएको थियो भने माओवादी पक्षबाट तीनजनाको हत्या गरिएको स्थानीयको भनाइ छ । माओवादीले त्यतिबेला कलिलै उमेरमा विधवा भएका एकल महिलालाई दोस्रो विवाह गर्नसमेत प्रोत्साहित गरे ।
गाडी भेटाउनै दुई दिन पैदल हिँड्न बाध्य छन् जुनीका बासिन्दाका । जाजरकोटको छेडा–कचाली हुँदै जुम्ला जोड्ने मोटर बाटो निर्माण भयो भने उनीहरूका दुःखका दिन अन्त्य हुन्थे । तर उक्त बाटो निर्माण थालिएको १० वर्ष बितिसक्यो अहिलेसम्म १५ किलोमिटर मात्र ट्र्याक खुलेको छ । जुनी पुग्न अझै ४० किमि बाटो खन्नुपर्छ । बजेट विनियोजनमा प्राथमिकता नदिँदा मोटरबाटोले गति लिन नसकेको हो ।
‘टावर नहुँदा फोनले पनि काम गर्दैन । आम्दानीको खासै स्रोत नभएको जुनीका बासिन्दाले खाद्य डिपो, गाउँ जोड्ने मोटरबाटो र टेलिफोन टावर मागेको पनि धेरै भइसक्यो, कसैले सुन्दैनन्’, स्थानीय पुष्पा रोकाले गुनासो गरिन् । जुनीमा अहिलेसम्म न त सरकारी निकायको ध्यान पुगेको छ न त गैरसरकारी संस्थाको नै ।
रोग, भोक र गरिबीले निकै पछाडि परेको जुनी गाउँमा द्वन्द्वको घाउ पुरिनुको साटो बिगत सम्झँदा र जीवनस्तरमा परिवर्तन नहुँदा बल्झिरहेको छ । द्वन्द्वमा सबैभन्दा बढी चपेटामा परेको गाउँमा लोकतन्त्र आएको लामो समयसम्म पनि अभाव र पीडाले छोड्न सकेको छैन । द्वन्द्वको घाउ मेटाउन सरकारी पक्षबाट गतिलो प्रयास नहुँदा यहाँका पीडित निराश भएका छन् । अहिले जुनीमा दुई सय घरधुरी जनजाति तथा दुई घरधुरी दलित छन् ।
शान्ति प्रक्रियासँगै सरोकारवालाको बेवास्ताले सामूहिक रूपमा चल्न समस्या भएकोले बाध्य भएर छुट्टिएको स्थानीयको भनाइ छ । बस्तीको समस्या न सरकार न त कम्युन निर्माण गर्ने माओवादीले बुझ्यो । ‘सयौंको घरबार बिग्रियो, बालबालिकाको बिचल्ली भयो ।
कमाउने मान्छेको मृत्यु भयो । अहिले साथ दिनेको कमी छ । सबै आआफ्नो बाटो लागे । बिन कामका सपना र आश्वासन मात्र बाँडे जुनीको व्यथा उस्तै छ’, स्थानीय इन्द्र घर्तीले बताए ।
कम्युन हुँदा जसोतसो छार्क टार्न सजिलो हुन्थ्यो । विघटनपछि मुस्किल भएको छ । तीन घर परिवारबाहेक सबै घरपरिवारलाई उत्पादनको कमीले साँझ बिहान छाक टार्न पनि धौधौ भइरहेको घर्तीले बताए ।
जुनीमा विद्यालय छन् तर भवनको अभाव छ । जुर्क गाउँमा ५ कक्षासम्म पढाइ हुने अमर प्रावि र निपाने गाउँमा ८ कक्षासम्म पढाइ हुने पुतली निमावि रहेको छ ।
दरबन्दी र भवन अभावमा पठनपाठन झारा टार्ने काममा सीमित छ । गाउँका सबै मगर खाम भाषा बोल्छन् । भाषा समस्याले पनि बाहिरबाट गएका शिक्षकलाई अध्यापनमा समस्या परिरहेको छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा उपचारमा समेत समस्या परेको स्थानीयको गुनासो छ ।