प्रहरी कार्यालय भवन जीर्ण हुँदा समस्या
बैतडीः जिल्ला प्रहरी कार्यालय बैतडीमा ३० वर्ष पहिले बनेको भवन छ । सोही जीर्ण भवनमा प्रहरी बसिरहेका छन् । जनतालाई शान्तिसुरक्षा दिने निकाय नै सुरक्षित रूपले बस्न सकिरहेका छैनन् ।
‘३० वर्ष पुरानो भवनमा बसिरहेका छौं, सानो भूकम्पले भत्कनसक्छ । त्यसैले प्रहरीलाई आफ्नो सुरक्षा कसरी गर्ने भन्ने चिन्ता छ’, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले भने,‘रातको समयमा मौसम परिवर्तन भएको बेला प्रहरी राम्ररी निदाउन पाएका छैनन् ।’
जिल्लामा रहेका २७ वटा प्रहरी युनिटमध्ये १४ वटासँग आफ्नो भवन छैन भने भएकाहरूसँग पनि जीर्ण भवन रहेका प्रहरी नायव उपरीक्षक शर्माले बताए । उनले भने, ‘इलाका प्रहरी कार्यालय पाटन, इलाका प्रहरी कार्यालय तस्सुदेही, सीमा प्रहरीचौकी झुलाघाट, प्रहरीचौकी खोड्पे र प्रहरीचौकी पुरघाटबाहेकका अन्य चौकीका भवन जीर्ण छन् ।’
ग्रामीण क्षेत्रमा रहेका धेरैजसो प्रहरीका भवन जीर्ण भएकाले प्रहरीलाई सुरक्षा प्रदान गर्न निकै गाह्रो छ । प्रहरीसँग भएका हातहातियार राख्ने ठाउँको उचित प्रवन्ध छैन भने खाना पकाउने र बस्ने ठाउँको समेत अभाव रहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
भवनको अभावमा प्रहरीले संकुचित भएर बस्नुपरिरहेको छ । प्रहरीसँग भएका भवन जीर्ण छन् भने भाडामा लिएका भवन पनि सुरक्षित नभएको शर्माले बताए ।
‘भाडामा लिएका अधिकांश भवन पनि जीर्ण छन्, घर प्रयोजनका लागि बनेका भवन प्रहरी बस्न योग्य छैनन् । तर के गर्नु जसोतसो नागरिकको सेवामा खटिनु परिरहेको छ ।’ उनले भने, ‘ग्रामीण क्षेत्रमा भाडामा लिएका घर सुरक्षित नभएकाले प्रहरीलाई समस्या छ ।’
धेरैजसो प्रहरीचौकीसँग आफ्नो जग्गा भए पनि भवन निर्माण नभएकाले बसोबासमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सुरेन्द्र बमले बताए । उनले भने, ‘धेरैजसो युनिटसँग जमिन छ तर भवन अझै बन्न सकेको छैन । उचित भौतिक सुविधाको अभावमा प्रहरीले आफ्नो सेवालाई प्रभावकारी बनाउन बाधा पुगेको छ ।’
जिल्लामा द्वन्द्वकालमा क्षति पुगेका भवनसमेत अझै पुनर्निर्माण हुन सकेका छैनन् । द्वन्द्वकालमा क्षति पुगेका ७ वटा भवनमध्ये ४ वटाको पुनर्निर्माण हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको भवन निर्माणका लागि यो वर्षदेखि निर्माण कार्य सुरु हुने भए पनि नयाँ भवन बन्न तीन वर्ष लाग्नेछ । त्यो बेलासम्म प्रहरीले असुरक्षित ज्ञपमा बस्नुपर्ने बाध्यता रहने प्रहरी प्रवक्ता बमले बताए ।