प्राधिकरण सिइओ हटाउनु आपत्तिजनकः ओली
काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएकोमा आपत्ति जनाएका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार पार्टी मुख्यालमा गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सिइओ हटाएकोप्रति आपत्ति जनाएका हुन् ।
ओलीले भने, ‘सरकारले भूकम्पपीडितको पुनःनिर्माणका लागि खासै काम गरेकै छैन, प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएर उल्टै प्रमुखलाई पदमुक्तको अनुचित निर्णय हो ।’ ओली नेतृत्वको सरकारले एक वर्षअघि मात्र ज्ञवालीलाई पुननिर्माण प्राधिकरणको सिइओमा पाँच वर्षका लागि नियुक्त गरेको थियो ।
कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढङ्गले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेको आरोप लगाएका छन् ।
‘संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितमा छैन । अन्यत्रका केही प्रायोेजित माग यसमा छन् । त्यो माग समस्या समाधानमा भन्दा पनि समस्या बल्झाउने प्रकारको छ ।’ ओलीले भने, ‘संविधानको कार्यान्वयनका लागि विभिन्न तहको निर्वाचन गराउनु यतिबेलाको आवश्यकता हो ।’
अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक न्याय, समानता, सद्भाव तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा सम्झौता हुन सक्दैन भन्दै साम्प्रदायिक विद्वेष, क्षेत्रीय तथा जातीय विद्वष आजको आधुनिक नेपालमा स्वीकार्य नहुने उल्लेख गरे ।
संविधान संशोधनबारे सर्वोच्च अदालतको फैसला पनि प्रदेशसभा नबनी सिमाना हेरफेर गर्न नसक्ने पक्षमा आएकाले आफूहरुले लिएको अडान र विश्लेषण सही स्थापित भएको तर्क गर्दै अध्यक्ष ओलीले संसदमा संशोधनको प्रस्ताव पारित हुन नदिने बताए ।