दुवईबाट ल्याइएको ३३ केजी सुनसहित तीनजना पक्राउ
काठमाडौंः केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ३३ किलाे सुनसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दुवईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको एयर अरेबियाको विमानमा ल्याइएको अन्दाजी ३३ किलाे सुनसहित तीन जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) मीरा चौधरीका अनुसार मोरङका दीनबन्धु थापा, बाँके नेपालगञ्जका गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्ले सुनसहित पक्राउ परेका हुन् ।
‘दुवईबाट लगेजमा सुन ल्याएको भेटिएको छ’ प्रवक्ता चौधरीले भनिन्, ‘थप अनुसन्धान भइराखेको छ ।’
गोप्य सूचनाका आधारमा प्रहरीले ठूलो परिणाममा सुनसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीसँगको बयानमा नेपागञ्जका शाहीले दुवईबाट एक भारतीय नागरिकले सुटकेस लगिदिनु भनेर ल्याएको बताएका छन् ।
शाहीले प्रहरीसँग सुनको धनीका बारेमा आफूलाई केही थाहा नभएको समेत बताएका छन् । प्रहरीले विमानस्थलबाट ट्याक्सीमा सुनसहित बाहिरिएपछि पिछा गरेर पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले गौशला प्रहरी वृत्तका डिएसपी नवराज कार्कीको कार्याकक्षमा सुनसहितका सुटकेस खोलेर सार्वजनिक गरेको हो । प्रहरीले सुन कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ । ३३ किलो सुनसहित तीनजना पक्राउ परेको बताइएको भए पनि यसको आधिकारीक तौल भोली मात्र सार्वजनिक गर्ने प्रहरीलेब बताएको छ ।
प्रहरीले सुटकेस भित्र फलामाको भाँडोमा लुकाएको अवस्थामा २ सय ८२ थान सुनका विस्कुट, २० थान सुनका माला र १९ थान औँठी सार्वजनिक गरेको छ । नेपालगञ्जका शाही बुधवार साँझ दुवईबाट एयर अरेवियाको विमानबाट दुईवटा सुटकेससहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।
प्रहरीले सुनको मालिक खोजी भइराखेको जानकारी दिएको छ । बरामद भएको सुनको बजार मूल्य १५ करोड बढी भएको प्रहरीले बताएको छ ।