भारतको रिजर्ब बैंकले एक अर्ब भारु नेपाल पठाउने
काठमाडौं : रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले एक अर्ब भारु नेपाल पठाउने भएको छ । नेपालमा भारु अभावलाई हटाउन भारतले एक अर्ब भारु दिने भएको हो ।
भारतीय ठूला दरका नोटमा प्रतिबन्ध लागेपछि भारतले यस वर्ष नेपाललाई उपलब्ध गराउने भनेको भारु पनि उपलब्ध गराएको थिएन । ‘नेपाल राष्ट्र बैंकले यस वर्ष भारतबाट छ अर्ब भारु लिने सम्झौता गरेको थियो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘सो रकममध्ये अहिले एक अर्ब दिन लागेको हो । नेपालले दसैं अघि एक अर्ब २० करोड भारु ल्याएको थियो ।
भारतमा नोटबन्दी लागेपछि आरबीआईले डिसेम्बरसम्म भारु उपलब्ध गराउन नसक्ने र जनावरी लागेपछि यसबारे सोच्ने बताएको थियो ।
भारतमा १ हजार र ५ सयको भारु कारोबारमा रोक लागेको छ । यो रकम माघको दोस्रो सातासम्म नेपाल आइपुग्नेछ । नेपालले भारतबाट अहिलेसम्म ठूला दर एक हजार र पाँच सयको नोट ल्याएको छैन ।