हुम्लामा हिमपात: तापक्रम माइनस १० मा झर्यो
सिमकोट: लामो समयदेखि खडेरी परेको हुम्लामा यो वर्षकै पहिलोपटक हिमपात भएको छ । बिहीबार बिहान २ बजेदेखि सुरु गरेको हिमपातले उत्तरका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाविस बढी प्रभावित भएका छन् ।
लामो समयपछि परेको हिउँले चीनसँग सीमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको लिमीबाट छिरिङ तामाङले जानकारी दिए । उनका अनुसार लिमीमा साढे एक फिट हिउँ जमेकाले घरबाहिर निस्कन समस्या भएको हो ।
हिउँले जिल्लाको लिमी र मुचुको तापक्रम माइनस १५ पुगेको मुचु प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिउँले सिमकोटको तापक्रम माइनस १० मा झरेको सिमकोट विमान स्थल स्रोतले जनाएको छ । सहकायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रसाद सिटौलाले हिमपातले कुनै अप्रिय घटना नघटेको जानकारी दिए ।
वर्षकै पहिलोपटक हिउँ परेपछि हुम्लाका किसान खुसी भएका छन् । गएको असोज अन्तिम सातादेखि परेको चर्को खडेरीका कारण झण्डै २० प्रतिशत गहुँ बाली छर्न नपाएका कृषक हिउँसँगै खुसी भएको जिल्ला कृषि विकास कार्यालय हुम्लाले जनाएको छ । हिउँ परेपछि सदरमुकाम सिमकोटमा बाँकी रहेको जौ छर्ने कामसमेत सुरु गर्ने सिमकोट ५ की परेउकली रावतले जानकारी दिइन् । हिउँसँगै परेको पानीले जिल्लाको दक्षिण भेगका कृषकलाई समेत केही आस जगाएको कालिका ४ का दीपबहादुर रोकायाले जानकारी दिए ।
चिसोले तीन प्रहरीचौकी सरे
हिमपातले अत्यधिक चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रका तीनवटा प्रहरीचौकी स्थानान्तरण भएका छन् । नेपाल-चीन सिमानाको हिल्सा प्रहरीचौकी, यारी प्रहरीचौकी र लिमीको प्रहरीचौकी चिसोले सरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हिउँदको समयसँगै तापक्रम माइनस १० भन्दा बढी भएर खप्न नसकेपछि केन्द्रसँगको परामर्शमा प्रहरीचौकी सिमकोट र मुचुमा स्थानान्तरण गरिएको प्रहरी प्रमुख कमलप्रसाद नेपालले जानकारी दिए ।