गीतलाई नायिकाले परिपक्व बनाउँछ (भिडियाेसहित)
ग्लामर क्लिक
काठमाडौंमा जन्मे हुर्केकी दीपा लामा सानैदेखि गीत गाउँथिन् । तीन वर्ष अगाडिदेखि व्यावसायिक रूपमा गाउन थालेकी उनले वीरविक्रम, फूलैफूलको मौसम तिमीलाई, हाउ फन्नीलगायत डेढ दर्जनभन्दा बढी चलचित्रमा स्वर दिइसकेकी छन् । संगीतसम्बन्धी अन्य प्रविधि र ज्ञान पाउन बसुन्धरास्थित नयाँ मार्गी संगीत विद्यालयमा डक्टर किराँतसँग शाश्त्रिय संगीतसम्बन्धी कक्षा लिँदै आएकी छन् । ताराप्रकाश लिम्बूको संगीतमा एकल एल्बम निकाल्ने तयारीमा रहेकी दीपाको विचारमा गायन क्षेत्रमा निपुर्ण हुन स्वरमात्रै राम्रो भएर पुग्दैन ।
संगीतमा तपाईंलाई मन पर्ने विधा ?
गीतसंगीत मन छुने हुनुपर्छ । हरेक विधाका संगीतमा आआफ्नै विशेषता हुन्छ । मैले पनि यो गाउँछु त्यो गाउँछु भनेर हुँदैन । संघर्षका दिनदेखि हरेक खाले गीत गाउँदै आएकोले मलाई सबै प्रकारका गीत मनपर्छ ।
गायनमा कसरी आकर्षित हुनुभयो ?
म सानैदेखि गाउँथेँ । व्यावसायिक रूपमा लाग्छु भन्ने लागेको थिएन । सबैबाट हौसला र प्रोत्साहन पाएपछि व्यावसायिक रूपमै लैजाने निधो गरेँ ।
कुन नायिकाको लागि गाउनु चाहनुहुन्छ ?
सबै गुण सम्पन्न नायिका प्रियंका कार्की लाग्छ । उहाँको लागि गाउने मेरो चाहना चलचित्र हाउ फन्नीमा पूरा भयो । मिलन चामको अर्को चलचित्र ह्यापी डेजमा पनि प्रियंकका लागि दुईवटा गीतमा स्वर दिएको छु ।
आफ्नो स्वर कुन नायिकालाई बढी म्याच गरे जस्तो लाग्छ ?
दर्शकले भने अनुसार मेरो स्वर दिया पुनलाई म्याच गर्छ । उहाँको पहिलो चलचित्र वीर विक्रममा मैले स्वर दिएकी छु ।
मनपर्ने संगीतकार ?
सुरेश अधिकारी, हरि लम्साल, ताराप्रकाश लिम्बू, वसन्त सापकोटा, उत्तमजंग लिम्बूलगायतका अन्य धेरैको संगीत मलाई मनपर्छ ।
चलचित्रको गीत हिट बनाउन नायिकाको भूमिका हुन्छ ?
चलचित्रको गीतलाई नायिकाले अझ परिपक्व बनाउन सक्छ । उहाँहरूको प्रस्तुतिका आधारमा गीतको लोकप्रियता भर पर्छ ।
भविष्यको लक्ष्य ?
राम्रा गीत गाएर दर्शकसामु चिनिन चाहन्छु । मैले गरेको राम्रा कामबाट नयाँ कलाकारले पनि केही सिक्न सकून् भन्ने मेरो चाहना छ ।
भिडियाे हेर्नुहाेस्र