खानभन्दा पकाउन रहर(भिडियाेसहित)
आइसक्रिम क्रेजी गायिका रेखा शाह अहिले ‘जेन्डर स्टडिज’को स्नातकोत्तर तहको अन्तिम परीक्षाको तयारीमा छिन् । यस अध्ययनले उनमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याइदिएको छ ।
भान्छामा खाना बनाउने काम महिलाले गर्नुपर्छ भन्ने उनलाई लाग्दैन । परिवारका जो कोहीले गर्नु सकिने उनको भनाइ छ । कतिपय शिक्षित र व्यावसायिक घरानामा पनि महिलालाई भातभान्छा र घरभित्रकै काममा सीमित राखिने परिपाटी उनलाई चित्त बुझ्दैन ।
हुन त रेखाले १०, १२ वर्षको उमेरदेखि भान्छाको काम गर्न थालेकी हुन् । त्यतिबेला अभिभावक कामका लागि बाहिर जाने हुनाले बाध्य भएर काम गर्नुपथ्र्यो । तर हिजोआज उनी रहरले खाना पकाउने गर्छिन् । घरमा काम गर्ने भए पनि उनलाई पकाउन असाध्यै मनपर्छ । पाहुना वा साथीभाइ आए उनी आफ्नै खाना पकाउन तम्सिन्छिन् ।
मौसमअनुसारका तरकारी, तील हालेको अचार, रक्सी खानेलाई त्यसको लागि मासु फ्राई र खानासँग खानेलाई ग्रेभी बनाउने गर्छिन् । चिकेन, फिस र मटनमात्रै होइन, भेज खाना पनि उनी निकै मीठो पकाउँछिन् । नेवारी खाना बारा र छोयला पनि उनले राम्ररी बनाउने परिकारमा पर्छन् ।
स्वास्थ्यप्रति सचेत भएकाले मोटाउने डरले उनी मिठाई खासै खाँदिन् । मिठाई बनाउन पनि आउँदैन । मासु भने एक दुई टुक्रा उनलाई सधैं चाहिन्छ । उनको फ्रिजमा कुखुराको मासु र माछा टुट्दैन ।
माछामा जनकपुर, माहुर, पम्पलेट, रहु उनलाई मनपर्ने जात हुन् । ढिँडो र लोकल कुखुराको मासुको उनी सौखिन नै हुन् । घरबाट कुखुरा पठाइदिएको बेलामा उनी मकै वा फापरको ढिँडो पकाउने गर्छिन् । दुईवटा अन्डा बराबरको मात्रामा ढिँडो खाए उनी अगाइहाल्छिन् ।
गुन्द्रुकमा आलु र भटमास हालेर पकाएको तरकारी र आलु, तामाको तरकारी उनलाई असाध्यै मीठो लाग्छ । घिउ पनि मनपर्ने भएकाले कहिलेकाहीँ खानाभन्दा बढी घिउ हालेर खाँदा घरका मान्छेले पनि सञ्चो नहोला भन्दै सम्झाउने गरेको उनले बताइन् ।
रेखा बजारबाट अग्र्यानिक तरकारीमात्र ल्याउँछिन् । कालो दाल, आलुलगायतका खाद्यान्न प्रायः उनको माइती गाउँ धादिङको रातमाटेबाटै आउँछन् । माछा र खसीको सुकुटी पनि पठाइदिने गर्छन् । घिउ उतैबाट आए पनि सनफ्लावर र मकैको तेल खाने गरेकी छन् उनले । बाहिर जाँदा ठाउँअनुसारको खानामा सन्तुष्ट हुन सक्ने उनको बानी छ ।
दैनिक खानपान
बिहान उठ्नेबित्तिकै उनी पहिले एक ग्लास मनतातो पानी पिउने गर्छिन् । त्यसपछि ३,४ दाना मधिसे बदाम र एक दाना ओखर फुटाएर खाने बानी छ । हिजोआज जाडो बढी भएकाले उनी कि भिभा कि त हर्लिक्स खाने गर्छिन् ।
कहिलेकाहिँ कालो चिया पिउने गर्छिन् । चियामा सेतो चिनी नभई खैरो चिनी हाल्ने गर्छिन् उनी । दूध चिया र अजिनो मोटो उनी खाँदिनन् । कफीले निद्रा नलाग्ने र मुटुको गति तिब्र भएर अस्पताल जानुपर्ने अवस्था आउन सक्ने भएकाले डाक्टरले नै नखानु सुझाएको छ उनलाई ।
ब्रेकफास्टमा मौसमअनुसारको फल खान्छिन् । तर एउटा सिंगै स्याउ पनि खान सक्दिनन् । हिजोआज सुन्तलाको मौसम भएकाले एक दाना सुन्तला खान्छिन् । दिउँसो १२, १ बजेतिर खाना खाने र राति सुत्नभन्दा ३ घन्टा अगाडि खाना खाने उनको बानी छ ।
बेलुका प्रायः एउटा वा दुईटा रोटी र दूधमात्रै पिउँछिन् । बिहान र बेलुकीको खाना खाइसकेपछि १० मिनेट बज्रासन गर्छिन् । यसले खाना पचाउने भएकाले अरूलाई पनि बज्रासन गर्न उनी सुझाउने गरेकी छन् ।
फिटनेस मन्त्र
खानाकै कारण मानिसलाई विभिन्न रोग लाग्नुको साथै ज्यानसमेत जान सक्ने भएकाले खानामा होसियार हुनुपर्ने उनको भनाइ छ । ‘म सेलिब्रेटी भएर मेनटेन गरेँ भन्ने होइन । हरेक मानिसले स्वस्थ बन्नुपर्छ’ उनले भनिन् ।
शरीरको तौल बढ्दा धेरै रोग लाग्न सक्ने हुनाले सकेसम्म तौल नियन्त्रण राख्नुपर्ने उनको सुझाव छ । उनले व्यायाम गर्न नभ्याए पनि खाना नियन्त्रण गर्ने र प्रशस्त पानी पिएर तौल नियन्त्रण गर्ने गरेकी छन् ।
भिडियाे हेर्नुहाेस्
परम्परागत शैलीकै खानपानमा विश्वास गरेर बेलुकी टन्न भात खाई सुत्ने बानीले हानि पुर्याएको उनको बुझाइ छ । धेरै पटक थोरै थोरै खाने बानी बसाल्नुपर्ने र केही नभए बिस्कुटमात्रै भए पनि बोकेर हिँड्नुपर्ने उनले बताइन् ।
आइसक्रिम क्रेजी
पेयपदार्थमा उनी प्रायः फ्रेस जुस मन पराउँछिन् । रक्सी पिउँदिनन् । कहिलेकाहीँ एक दुई घुड्का वाइन लिन्छिन् । स्प्राइट कहिलेकाहीँ मात्रै । दही पनि मनपर्छ । आइसक्रिम भनेपछि उनी हुरुक्कै हुन्छिन् ।
साथीहरूसँग न्यु इयर इभ मनाउँदा हायात होटेलमा मात्रै नभई नयाँ वर्षको दिनमा सोल्टीमा पनि उनले आइसक्रिम खाएकी थिइन् ।
खाना संस्कृति
नेपालमा विभिन्न ठाउँ र जातअनुसार खानाको संस्कृति फरक छ । यही संस्कृतिलाई जोगाउन अभियान थाल्नुपर्छ जस्तो लाग्छ उनलाई । विदेशीबाट छोटा लुगा लगाउने फेसन होइन नयाँ प्रविधि र शिक्षामा पछ्याउनुपर्ने उनको धारणा छ ।
महिलालाई घरको भान्छाको मात्रै जिम्मा दिइने र पुरुषले ठूलठूला होटेलको सेफको जिम्मेवारी दिइनुलाई विभेदको संज्ञा दिन्छिन् उनी । भविष्यमा घरभित्रको परि श्रमको कदर हुनुपर्ने र सेफलगायत राम्रो आर्जन हुने पेसामा महिलाको अग्रसरता बढ्नेमा उनी विश्वस्त छिन् ।