मूलघरलाई माया
हिजोआज अभिनेता सरोज खनाल मण्डला थिएटरमा दैनिक भेटिन्छन् । उनी कुनै चलचित्रको वर्कसप वा भेटघाटका लागि नभई नाटक मञ्चन अभ्यासका लागि मण्डला धाइरहेका हुन् ।
कतिपयलाई लाग्ला, सशक्त अभिनयका पर्याय एवं पर्दाका सफल कलाकार त्यसरी नाटकका लागि दैनिक अभ्यास गर्लान् र ? तर उनी उत्साहका साथ नाट्य अभ्यासमा जुटेका छन् ।
उनको मनमा डर पनि छ । ‘थिएटरलाई म स्कुलका रूपमा लिन्छु । त्यहाँबाट धेरै सिक्न सकिन्छ’, खनालले भने, ‘नाटकमा नयाँ पुस्ताका कलाकार कति सशक्त छन् भने उनीहरूका अगाडि मलाई अभिनय गर्न डर लाग्छ ।’
उनको अनुभवमा थिएटरमा दर्शकलाई ढाँट्न पाइँदैन । कुनै एक्सन कट् र यु टर्न हुँदैन । पसेपछि एकै चोटि निस्कने हो । अमेरिकी नाटककार रोनाल्ड रोजको लेखनमा राजन खतिवडाको निर्देशन रहने नाटक ‘१२ एंग्री मेन’का लागि उनी अहिले अभ्यासमा छन् ।
माघको दोस्रो सातादेखि मञ्चन हुने यस नाटकमा १२ एंग्री मेनमध्ये उनी एक हुन् । सरिता गिरी, पशुपति राई, सिर्जना सुब्बा, लक्ष्मी बर्देवा, सोमनाथ खनाल, सुलक्षण भारती, अभय बराल, कुशल पाण्डे, पुष्कर कार्की, बादल भट्टलगायतले नाटकमा अभिनय गर्दैछन् ।
भनिन्छ, अभिनय थिएटरबाट सुरु हुन्छ । मञ्चबाट पर्दामा उक्लेका कलाकारको अभिनय कौशल हेर्दा होजस्तै लाग्छ । अभिनेता खनाललाई पनि थिएटरबाट चलचित्रमा जाँदा फिक्का महसुस हुन्छ ।
थिएटरलाई म स्कुलका रुपमा लिन्छु । त्यहाँबाट धेरै सिक्न सकिन्छ । मेरा गुरुहरु नाटकमा अझै क्रियाशील हुनुहुन्छ । नाटकमा नयाँ पुस्ताका कलाकार कति सशक्त छन् भने उनीहरुका अगाडि मलाई अभियन गर्न डर लाग्छ । सरोज खनाल
नाटकप्रति उनलाई पहिल्यैदेखि रुचि थियो, अहिले त्यो रुचि झन् बढेको छ । ‘नाटकमा अझै पनि मेरा गुरुहरू क्रियाशील हुनुहुन्छ तर चलचित्रमा प्रायः जुनियर भाइहरूको निर्देशनमा काम गर्दैछु’, उनले कारण खुलाए, ‘त्यसैले चलचित्रमा धेरै सिक्ने अवसर भएन । दाइले गरेपछि भइहाल्छ नि भन्छन् । तर, नाटकमा अशेष मल्ल, सुनील पोखरेल लगायतले अझै सिकाउँदै हुनुहुन्छ ।’
थिएटरमा क्रियाशील जुझारु युवा हुन् राजन खतिवडा । उनको पहिचान थिएटरबाटै बनेको हो । उनी पनि रंगीन पर्दाको आकर्षणबाट पृथक् रहन सकेका छैनन् । तापनि उनलाई पर्दाभन्दा मञ्च नै रमाइलो लाग्छ ।
दीपक रौनियार निर्देशित चलचित्र हाइवेबाट ठूलो पर्दामा डेब्यु गरेका उनले कबड्डी, सरी ल, १२ नेपाली एक चिहान, तान्द्रो, को आफ्नोजस्ता चलचित्रमा अभिनय गरेका छन् । चलचित्रको ग्ल्यामरले उनलाई खासै आकर्षित गर्न सकेन ।
‘चलचित्रको ग्ल्यामर मञ्चको भन्दा चम्किलो हुन्छ । तापनि मचाहिँ त्यहाँ रमाउन नसक्ने रहेछु’, राजन भन्छन्, ‘राम्रा फिल्म मेकर पनि छैनन् । कतिपयले कोसिसचाहिँ गरिरहेका छन् ।’ राजनको अनुभवमा एउटा मान्छे सबै चलचित्रमा फिट हुँदैन । फिट भए पनि उनलाई त्यति रुचि जाग्न सकेको छैन ।
चलचित्रको ग्ल्यामर मञ्चको भन्दा चम्किलो हुन्छ । यो भौतिक संसारमा पैसाको महत्व भइहाल्छ । नाटकभन्दा चलचित्रमा पैसा छ, दर्शक बढी छन्, रमझम छ । तर पनि मचाहिँ त्यहाँ रमाउन नसक्ने रहेछु । राजन खतिवडा
थिएटरमा भन्दा चलचित्र हलमा यसै पनि धेरै दर्शक हुन्छन् । तापनि अभिनयको असली मजा थिएटरमै हुन्छ । त्यसको स्वाद चाखेका कतिपय कलाकार पर्दामा जति सफल र चर्चित भए पनि थिएटरबाट अलग हुन सकेका छैनन् । त्यहीमध्येकै एक हुन्, सरोज खनाल ।
गुरुकुल आरोहणमा रहेर लामो समय मञ्चमा देखिएका उनी चलचित्रमा पनि त्यत्तिकै सफल भए तर अहिले पनि नाटकप्रति उनको आकर्षण त्यत्तिकै छ । अब वार्षिक दुईदेखि तीनवटा नाटकमा काम गर्ने अठोट नै गरिसकेका छन् ।
राजन खतिवडा
उनले अठोट गरेअनुसार काम गरे भने पर्दामा सफल भएर पनि थिएटरमा फर्कने कलाकारको उनी राम्रो उदाहरण बन्नेछन् । थिएटरबाट पर्दातिर लागेका कलाकार खासै मूलघर अर्थात् थिएटरमा फर्केका छैनन् । कहिलेकाहीँ मञ्चमा झुल्किए पनि व्यावसायिक रूपमा समय दिएका छैनन् । थिएटर व्यावसायिक रूपमा त्यति आकर्षक पनि मानिँदैन ।
‘यो भौतिक संसारमा पैसाको महत्व भइहाल्छ । नाटकभन्दा चलचित्रमा पैसा छ । दर्शक बढी छन् । रमझम छ’, राजन खतिवडाले भने, ‘तर कुनै न कुनै दिन थिएटरको महत्व र अभाव महसुस गर्छन् ।’ नीर शाह, हरिहर शर्मा, मिथिला शर्मादेखि दयाहाङ राई, सौगात मल्ल, कर्मा, नाजिर हुसैन, बुद्धि तामाङ, अभय बराल, रोयदीप श्रेष्ठसम्मका दर्जनौं कलाकार रंगीन पर्दामा रमाइरहेका छन् ।
पर्दामा सफल भए पनि थिएटरमा रमाउन चाहने कलाकार विरलै पाइन्छ । त्यस्ता कलाकार बलिउडमा पनि केहीचाहिँ छन् । अभिनयका गुरु मानिने नसुरुद्दिन शाह पर्दामा जति नै चले पनि नियमित रूपमा नाटक गर्ने गर्छन् ।
वर्कसपका लागि केहीपटक नेपाल आएका उनले थिएटरको महत्वलाई स्थान दिएका थिए । लिंकन, माई लेफ्ट फुडलगायतका विभिन्न चलचित्रमा अभिनय गरेका डेनियल डेलिस ‘चलचित्रबाट बनेको आडम्बर त्याग्न चाहन्छु’ भनेरै थिएटरमा फर्के ।