सांग्रिला कम्युनिटी र कसमस डेभलपमेन्ट बैंक गाभिँदै
काठमाडौः सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेड तथा कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धमा बैंकले दुई विकास बैंकसँग छुट्टा छुट्टै कार्यक्रम गरेर प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरी प्रक्रिया अघि बढाएको छ ।
सहमतीपत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष सुरेन्द्रबहादुर भारीजु, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष पशुपती घिमिरे तथा कसमस डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष टेकनाथ ढकालले हस्ताक्षर गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए ।
दुई वटा विकास बैंकको प्राप्तिपछि तिन वटै संस्थाको बोनस सेयर वितरणपश्चात सांग्रिला डेभलपमेन्ट लिमिटेडको चुक्ता पुँजी करिब एक अर्ब ५७ करोड पुग्नेछ भने चालू आवको मुनाफाबाट बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी करिब एक अर्ब ८७ करोड पुग्ने बैंकले जनाएको छ ।
मर्जरपश्चात आव २०७३/७४ को प्रथम त्रैमासिक विवरण अनुसार बैंकको निक्षेप १३ अर्ब ३६ करोड तथा कर्जा ११ अर्ब ७० करोड पुग्नेछ भने शाखा संख्या ४३ वटा, चार वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुवित्त शाखा हुनेछन् ।