सुन तस्करलार्इ तत्काल कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
काठमाडौंः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले ३३ किलो अबैध सुनसहित तीन जना पक्राउ परेको घटनाप्रति चासो राखेका छन्।
गृहमन्त्री निधिले गृह सचिव लोकदर्शन रेग्मी, प्रहरी प्रमुख आइजीपी उपेन्द्रकान्त अर्याल, सीआईबी प्रमुख डीआइजी नवराज सिलवाल र अतिरिक्त अनुसन्धान अधिकृत गणेश अधिकारीलाई शुक्रबार गृह मन्त्रालयमा बोलाएर सुन तस्करीको घटनाबारे जानकारी लिएका हुन्।
गृहमन्त्री निधिले सुरक्षा निकायसँग सुन तस्करीको घटनाबारे जानकारी लिँदै छिटो अनुसन्धान गरी अपराधिलाई कडा कारबाही गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। दाहालका अनुसार गृहमन्त्री निधिले सुन तस्करीको घटनामा संगठित अपराधिक समूहको संलग्नता रहेको हुन सक्ने भन्दै थप अनुसन्धान गरी तत्काल अपराधिक समूहलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
निधिले सुन तस्करीको घटनाको छानविनको जिम्मा केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख डीआइजी नवराज सिलवाललाई नै जिम्मेवारी दिएका छन्। गृहमन्त्रीले बोलाएको बैठकमा आइजीपी अर्याल र डीआइजी सिलवालले सुन तस्करीको घटनामा कुनै संगठित अपराधिक समूहको संलग्नता रहेको हुन सक्ने बताएका थिए।
यसअघि बिहीबार प्रहरीको टोलीले ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो।