एथलेटिकले बार्सालाई हरायो
बिल्बाओः कोपा डेल रे फुटबलको बिहीबार राति भएको खेलमा नौ खेलाडीमा सीमित एथलेटिक बिल्बाओले बलियो प्रतिद्वन्द्वी बार्सिलोनालाई २-१ गोलले पराजित गरेको छ । अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा पराजित भएपछि दुईपटकको साबिक विजेता बार्साले क्वार्टरफाइनलमा पुग्न थप संघर्ष गर्नु पर्ने भएको छ ।
घरेलु मैदानमा भएको उक्त खेलमा एथलेटिक ७४औं मिनेटमा १० र ८०औं मिनेटमा नौ खेलाडीमा सीमित भए पनि बार्साले हार टार्न सकेन । निर्धारित समयको ७४औं मिनेटमा राउल गार्सिया दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । यसअघि उनले ५४औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।
यसैगरी ८०औं मिनेटमा एन्डर इटुरास्पे दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । उनले ५३औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए । एथलेटिकले दुवै गोल पहिलो हाफमै गरेको थियो । खेल सुरु भएको २५ औं मिनेटमै एरिट एडुरिजले एथलेटिकका लागि पहिलो गोल गरेका थिए ।
एडुरिजले गोल गरेको तीन मिनेटपछि नै एथलेटिकका लागि इनाकी विलियम्सले दोस्रो गोल थपेका थिए । दोस्रो गोलका लागि पनि विलियम्सलाई एडुरिजले नै पास उपलब्ध गराएका थिए ।
भ्रमणकारी टोली बार्साका लागि भने एकमात्र गोल अर्जेन्टिनी खेलाडी लियोनल मेसीले ५२ औं मिनेटमा फ्रिकिकमार्फत गरेका थिए । खेलको अन्त्यतिर मेसी अर्को गोल गर्नबाट चुकेका थिए ।
खेल सकिन तीन मिनेट बाँकी रहँदा मेसीले डी बक्सभित्रबाट गरेको सशक्त प्रहार गोल पोस्टमा ठोक्किएर मैदानमा फर्किएको थियो । सोही बललाई नियन्त्रणमा लिँदै पाको अल्कासेरले अर्को प्रहार गरे पनि उनी त्यसमा सफल हुन सकेनन् ।
‘हामीले राम्रो खेल्यौं तर, पाएका केही गतिला अवसरलाई सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य बन्यौं', खेलपछि बार्साका प्रशिक्षक लुइस एनरिकले भने । उनले दोस्रो लेग खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोली क्वार्टरफाइनलमा पुग्ने दाबी पनि गरे । पछिल्लो १० वर्षयता खेलिएका ३२ खेलमा एथलेटिकले बार्सालाई हराएको यो केवल तेस्रो पटक हो ।
एथलेटिकका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डले भने आफ्ना खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । ‘बार्सिलोना निकै बलियो टोली हो, त्यसैले पहिलो लेग खेलमा हासिल गरेको सानो अग्रताबाट हामी धेरै उत्साही हुनु हुँदैन ।
अब हामीले आफ्नो सम्पूर्ण ध्यान बार्सिलोनाको मैदानमा खेलिने दोस्रो लेग खेलमा केन्द्रित गर्नु आवश्यक छ', खेलपछि प्रशिक्षक भाल्भेर्डले भने । यसअघि बुधबार राति भएको खेलमा रियल म्याड्रिडले सेभिललाई ३-० गोलले हराएको थियो ।
रियलका लागि जेम्स रोड्रिग्वेजले दुई गोलको योगदान गरेका थिए । अर्को एक गोल भने डिफेन्डर राफेल भारानाले गरेका थिए ।