फोरमेन्तेराकी सुन्दरी र पोल्यान्डकी सुइरी

फोरमेन्तेराकी सुन्दरी र पोल्यान्डकी सुइरी

शुक्रबारको दिन, बिहानै मैले भ्यालेन्तिनालाई भेट्नु थियो । बार्सिलोनाको मुटुमा रहेको होटेल क्यातलानियाको अगाडिपट्टि ऊ कुनै कारमा पर्खिरहेकी हुन्छे भन्ने मलाई थाहा थियो । म त्यो अञ्जान मान्छेको कारमा बार्सिलोनादेखि सान सेबेस्टियनसम्मको लामो यात्रा गर्न खोज्दै थिएँ । पूरै पाँच सय ७० किलोमिटर । यो सबै संयोग जुराइदिएको थियो ब्ला ब्ला कारले (कसैको कार, जसमा पैसा तिरेर कारवालासँगै यात्रा गर्न पाइन्छ) ।

७ बजे नै तयार भएँ । बार्सिलोनाको पुबिया कासाबाट मैले मेट्रो समातेँ । जमिनमुनिबाट मात्र चल्ने त्यस्ता मेट्रोको सुरुवात स्पेनको बार्सिलोनामा सन् १८६३ बाट भएको रहेछ जसको विकासको गति अझै थामिएको थिएन । मानवसागरलाई नै बोकेर मन्द गतिमा गुड्ने जमिनमुनिको त्यो सुन्दर संरचना हेरेर दंग पर्दै म होटेल क्यातलानिया नजिकै ओर्लिएँ । भनिएको ठाउँमा पुग्दा घडीले साँढे सात बजायो । तैपनि झिसमिसे अँध्यारो सकिएको थिएन ।

मैले भ्यालेन्तिानलाई फोन गरेँ । ऊ त छेउमै उभिएकी रहिछे । मैले फोन गरेको देखेर उसले मलाई नै हेरी र स्वागतको हात हल्लाई । म उतिर बढें । उसको नजिक पुग्नेबित्तिकै उसले हग गरी, मानौं हामी पहिलेदेखि नै परिचित छौं ।

म कारको अघिल्लो सिटमा बसेँ, उसकै समानान्तर भएर । उसले कार हुइँक्याई उत्तरतिर । कार उछिट्टिएर अगाडि बढ्यो । अमेरिका पत्ता लगाउने कोलम्बसको अग्लो र ऐतिहासिक सालिकनिर पुगेपछि उसले सोधी, 'तपाईं कहाँबाट हो ? '

'नेपालबाट ।'
'ओ, अनि तपाईं सान सेबेस्टियन के को लागि जाँदै हुनुहुन्छ ? घुम्नको लागि ? '
'हो ।'

मेरो कुरा सुनेर ऊ एकछिन अकमकाई । उसलाई लागेको हुनुपर्छ, नेपालीहरू घुम्न सक्दैनन् । तर, त्यो प्रश्न उसले सोधिनँ । बरु उसले सुनाई, 'म त समुद्रको बीचमा जन्मेको मान्छे, मलाई हिमालको यात्रा गर्न खुब मन छ ।'

'उसो हो भने नेपाल जानुस् । पछुतो हुँदैन तपाईंलाई,' मैले पनि भन्देँ ।
त्यसपछि ऊ निकै बेर सुसाइरही । मैले सुनिरहेँ ।

ऊ कुनै टापुमा जन्मेकी थिई । टापुको नाम हो फोरमेन्तेरा । फोरमेन्तेरा पुग्न बार्सिलोनाबाट इबिजा नामक टापुसम्मको एक घन्टा लामो प्लेन यात्रा गरेपछि २० मिनेट जति डुंगा चढ्नुपर्छ । फोरमेन्तराको लम्बाइ १९ किलोमिटर जतिमात्रै हो । त्यसपछि भेटिन्छ, आँखाले अन्दाजै गर्न नसक्ने पानीको अथाह सागर । त्यहाँ बस्छन्, लगभग १० हजार मान्छे । तर, गर्मीमा जनसंख्या ह्वात्तै बढ्छ, कारण हो पर्यटन । मान्छेहरू माछा मार्छन्, पर्यटन व्यवसाय गर्छन् र नोकरी गर्छन् । आलु, गहुँ पनि हुन्छ तर खेती कम गर्छन् त्यहाँका मान्छेहरू ।

'अहिले पनि फोरमेन्तरा नै बस्नुहुन्छ ? ' मैले सोधेँ
'बार्सिलोना । यहाँ म काम गर्छु डेन्टिस्टको रूपमा । आज, भोलि र पर्सि मेरो छुट्टी । म सन्डेमात्र फर्किन्छु ।'
'के को लागि जान लाग्नुभयो ? '
'ब्वायफ्रेन्ड भेट्न ।' उसले बिना कुनै हिच्किचाहट, दाँतले नङ नटोकी भनी ।
'कति वर्षदेखि सँगै हुनुहुन्छ तपाईंहरू ? ' एक किसिमको अन्तर्वार्ता नै सुरु भएको थियो ।
'लामो समय भएको छैन, मात्र डेढ वर्ष । '

मलाई अचम्म लाग्यो, उमेरले ३० लाग्दै गरेकी स्पेनिस फरवार्ड केटीको पहिले केही थिएन कि क्या हो ? सोध्ने तरखर गर्दागर्दै ऊ नै बोली, 'यो मेरो छैटौं ब्वायफ्रेन्ड हो । अरूलाई त मैले लाइफबाट किकआउट गरिसकेँ । सानो सानो कुरामा कम्प्रमाइज गरेर लाइफ चल्दैन । मान्छे स्वतन्त्र छ र उसले आफूले रोजेको जीवन बाँच्नुपर्छ ।'

उसको कुरा ठीकै जस्तो लाग्यो । हरेक मान्छे आ-आफ्नो सिद्धान्तमा बाँचिरहेको हुन्छ, त्यस्तै सिद्धान्तको पोको लिएर हिँडेकी थिई भ्यालेन्तिना । मैले भ्यालेन्तिातिर सुटुक्क हेरेँ । ऊ ढुक्कले कार हाँकिरहेकी थिई । बिना कुनै अवरोध कारले एक सय ३०-एक सय ४० किलोमिटर प्रतिघन्टाको स्पिड पक्रेको थियो । ठूला र चिल्ला राजमार्ग, त्यसमाथि आउने र जाने गाडीहरूको लागि छुट्टाछुट्टै बाटो । बाटोको छेउछाउ देखिने सल्लाका रूखहरू, चट्टानी सुन्दर पहाडहरू । लाग्यो म कतै मेरै देशको बाटोमा यात्रा गरिरहेको छु । तर, त्यति चिल्लो र ठूलो बाटोको कल्पना फगत एक कल्पनामात्र थियो ।

कल्पनामा डुब्दै गर्दा उछिट्टिएर आएको उसको बोलीले म झस्केँ । उ भन्दै थिई, 'यो कुनै किताबमा पढेको परिको गाउँ जस्तो छैन त ? ' अगाडिपट्टि एउटा सुन्दर गाउँतिर उसको आँखा तेर्सिएको थियो ।
'छ, ठ्याक्कै ।' मेरो जवाफ थियो ।

कुनै स-सानो थुम्कोमा बनाइएका सुन्दर र आकर्षक युरोपियन शैलीका घरहरू, चर्च र सफा बाटोहरूले त्यो कुनै परीको गाउँ झैं लाग्थ्यो । भ्यालेन्तिनालाई त त्यो गाउँ त्यति सुन्दर लाग्यो भने मेरो त झन् के कुरा ? भ्यालेन्तिना बोलैया थिई । ऊ बेला-बेलामा मतिर हेर्थी र एक खालको मुस्कान फ्याँक्थी । जब ऊ गाडीको स्पिड कम गर्थी, म बुझ्थेँ त्यहाँ पक्कै कर तिर्ने ठाउँ छ । नभन्दै त्यस्तै हुन्थ्यो । ऊ घरी कार्डबाट त घरी नगद नै करको रूपमा खुसी खुसी बुझाउँथी र कार हुइँक्याउँथी ।

जीवन सुन्दर बन्न चिल्ला र चौंडा बाटोले पनि निकै सहयोग गर्ने रहेछ ।
भ्यालेन्तिना खासै राम्री थिइनँ । हेर्दा ठीकैमात्रै । तर, उसको बोली र व्यवहार सुन्दर थियो । हरेक कुराको उत्तर खुलेर दिने । झन्झट नमान्ने खालकी । उसका बा-आमा अझै फोरमेन्तरामा बस्छन् । ऊ बेला-बेलामा फोरमेन्तरा जान्छे र त्यहाँको खुल्ला हावामा पखेँटा फिँजाएर उड्छे ।

ऊ पानी खुब मन पराउँछे । पानी, पानीमात्र हैन । पानी स्वतन्त्रा पनि हो । पानीमा उभिएर टाढाटाढा फैलिएको समुद्र हेर्दा उसलाई आफू स्वतन्त्र भएझैं लाग्छ । बिना रोकतोक उडान भरिरहेको पंक्षी झैं । त्यसकै कारण होला सम्बन्धहरूमा पनि ऊ रोकिएकी छैन । कोही चित्त बुझ्दैन भने ऊ त्यो सम्बन्धलाई घिसिपिटी घिसारिरहँदिन । पाँच जनासँगको सम्बन्ध त्यसै टुटेको कहाँ थियो र ।

'तपाईंलाई समुद्र कस्तो लाग्छ ? ' उसले प्रश्न फ्याँकी ।
'राम्रो, तर हाम्रो देशमा समुद्र छैन ।' उसले बल्लबल्ल त्यो कुरा पत्याई । अनि सोधी, 'रेल नि ? '
'रेल पनि छैन ।' उसले यो कुरा पनि बल्ल बल्ल पत्याई ।

केही कुरा नभएर देश नचल्ने त हैन नि । त्यसको विकल्पहरू देशले खोज्छ र देश चलिरहन्छ । तर, सही विकल्प खोजेन भने देश चल्न त चल्छ तर कहीँ पुग्दैन् ।

युरोपका सबैजसो देश विकल्प खोज्ने मामलामा धेरै अघि छन् । युरोपका अन्य देशमा झैं स्पेनमा पनि ठाउँअनुसार, विकासका खाका कोरिएका छन् । जहाँ पानी छैन, त्यहाँ हावाले ठूलठूला पंखा घुमाइरहेको छ र उत्पादन गरिरहेछ बिजुली । भिरालो परेको जमिनमा चरिरहेका छन् भेँडा, सुँगुर र गाई । विशाल र फराकिला चिल्ला बाटाहरू छन् । रेल मार्गहरू माकुराको जालो झैं यत्रतत्र जेलिएका छन् । स्याउको बगैंचा, गहुँ र मकैको विशाल फाँट केही छिनको दुरीमा भेटिन्छन् । चारैतिर विकासै विकास छ ।

भ्यालेन्तिनासँगको कुराकानीमा करिब ६ घन्टाको यात्रा ६ मिनेटजस्तो मात्रै लाग्यो । म सान सेबेस्टियनको ट्रेन स्टेसनमा झरेँ र बिदाइको हात हल्लाएँ । झर्नेबित्तिकै हान्यो एउटा चिसो हावाको झोकाले । बार्सिलोनाभन्दा सान सेबेस्टियन चिसो थियो । दिउँसो नै समुद्रलाई छोएर आएको चिसो हावा जोडले चलिरह्यो ।

ट्रेन स्टेसन सामान्य थियो । भीडभाड थिएन । सहरको व्यस्त माहोल थिएन । स्टेसनमा करिब एक घन्टाको बसाइपछि भुवन भाइ मलाई लिन आए । त्यसपछि लागियो ओर्दिजियातिर । ओर्दिजिया गाउँ थियो तर सारै विकसित । यसो हेर्दा ठ्याक्कै जिरीजस्तो । रेल बनाउनेदेखि गाडी बनाउने फ्याक्ट्रीहरू अवस्थित । सल्लाका डाँडाहरू र टुप्पोमा चौपाया चरण । सानो र सफा नदी । माछा खेलिरहेका । हाँस चरिरहेका । मेरो कल्पनाको गाउँजस्तै लाग्यो । त्यहीँ भेटिए अरू एकाध सय नेपाली ।

बेलायतले २००८-२००९ तिर स्टुडेन्ट भिसामा धेरैलाई लिएर गयो र त्यहाँ पुगेपछि काम गर्ने समयमा कटौती गर्दै चर्को कलेज फि बनाइदिएपछि धेरै विद्यार्थी सुरक्षित भविष्यको लागि बेल्जियमतिर लागे । बेल्जियममा शरणार्थी केश दर्ता गरे तर धेरैले शरणार्थीको पेपर पाएनन् । र, उनीहरूलाई बेल्जियम छाड्नको लागि भनियो । त्यही रन्कोमा धेरै नेपाली स्पेन छिरे र गाउँ-सहरतिर बाँडिएर बसे । त्यसकै कारण थियो, ओर्दिजियामा नेपाली भेटिनु । पढेलेखेका, कम्तीमा ब्याचलर पास गरेका नेपालीको पीडा अन्य देशमा जस्तो स्पेनमा पनि देखियो ।

अंग्रेजी जानेर नहुने, त्यहीँको स्पेनिस भाषा जान्नुपर्ने, बूढापाकाको स्याहार गर्ने काम गर्नुपर्ने, सामान्य मजदुरी पाउन पनि गाह्रो । हुन त काम ठूलो/सानो हुन्न भन्छन् । तैपनि एउटा कागज बनाइदिनको लागि साहुले श्रमशोषण गरिरहेका र कागज नबनेसम्म थोरै तलबमा अलमल्याउने प्रवृत्ति त्यहाँ पनि हाबी थियो । नौ/दस वर्षदेखि एउटा कागजको आसमा बसिरहेका नेपाली भेट्दा नरमाइलो त लाग्ने नै भयो ।

एकदिन ओर्दिजियाको हुस्सुभित्र लुकामारी गरेपछि म फेरि सान सेबेस्टियन पुगेँ । त्यहीँ भेट्नु थियो, एउटा दाह्रीवाल फ्रेन्च केटो । उमेर ३३, नाम क्लाउडिस्ट । ऊ म्याड्रिडबाट सान सेबेस्टियन हुँदै फ्रान्सको टुलुज जाँदै थियो र उसको कारमा २७ युरो तिरेर म पनि ऊसँगै जाँदै थिएँ ।

ठ्याक्कै ३ बजे आइपुग्यो ऊ । हँसिलो, रसिलो, सामान्य हाइटको । कपाल पूरै खौरेको । दाह्री जुँगा झ्याप्प पालेर चस्मा भिरेको एउटा गोरे केटो । उसले बडो गज्जबले मसँग हात मिलायो र कारमा मेरो सामान राखिदियो । त्यसपछि हामी लाग्यौं, स्पेनको सान सेबेस्टियनबाट फ्रान्सको बोर्डरतिर ।

ऊ टिचर रहेछ, प्राइमरी स्कुलमा सोसल पढाउने । ६ महिना पढाउने, ६ महिना फोटोग्राफी गर्ने । त्यही फोटोग्राफी गर्ने बहानमा ऊ घुम्दै रहेछ । उसले भन्यो, 'मसँग १९६० तिरको क्यामेरा छ र म अझै त्यही चलाउँछु ।'

म छक्क परेँ । एक किसिमले अचम्मित पनि । यस्तो डिजिटल प्रविधिको युगमा साठीको दशकको क्यामेरा किन चलाउँछ ऊ ? मभित्र प्रश्नहरू छाए एकाएक । मैले उसलाई त्यही कुरा सोधेँ पनि ।

उसले बडो मज्जाले कारको स्टेयरिङ घुमाउँदै भन्यो, 'यो क्यामेरा चलाउन मलाई मज्जा आउँछ । नेगेटिभ धुलाउन गर्नुपर्ने मेहनतले म महत्त्वपूर्ण काम गरिरहेको छु भन्ने भान हुन्छ । अझ यसमा रिल नै प्रयोग हुने हुनाले हरेक रिल खर्च गर्नुअघि मिहिन खालको योजना, प्रकाशको सही संयोजन र कुन एंगलबाट लिने भन्ने विषयमा ठूलो गृहकार्य गर्नुपर्ने हुन्छ, जसले मलाई सधैं केही न केही सिकाइरहेको हुन्छ ।'

उसले फरक तरिकाबाट आफ्नो कामलाई विश्लेषण गर्‍यो । मलाई मन पर्‍यो उसको कुरा । पछि खाजा खाने बेलामा उसले मलाई बडो गहु्रँगो र एन्टिक पिसजस्तै उसको क्यामेरा देखायो । मैले भिरेँ र एउटा सेल्फी खिचेँ ।
हाइवेमा गुडिरहेको कारभित्र उसले थरीथरीका अंग्रेजी गीत सुनायो । म त्यसको बोल अहिले सम्झिन सक्दिनँ ।

त्यसले आफ्नो नेता नेपोलियनको कहानी पनि सुनायो र नेपोलियनले फ्रान्समा चलिआएको चलनलाई कानुनी रूप दिन गरेको प्रयासको सराह्रना गर्‍यो । त्यहीबीचमा मैले पेरिस आक्रमणमा सयौंको संख्यामा मारिएका नागरिकको सम्झना गर्दै आतंककारीको विरोधमा बोलेँ । तर, ऊ त मैतिर पो खनियो ।

उसले भन्यो, 'यसमा फ्रान्स सरकारको दोष छ । फ्रान्सले मोरक्को, सिरियालगायत देशलाई उपनिवेश बनायो । त्यहाँका मान्छेहरू यहाँ ल्याएर काममा लदायो र अहिले आएर न उनीहरू यहाँका भए, न उनीहरूको देशको । त्यसैले यो फ्रान्सको दोष हो, उनीहरूको होइन ।'

उसले यति भनिरहँदा हामी फ्रान्सको बोर्डरमा पुगिसकेका थियौं । केही आर्मीहरूले उसलाई देख्नेबित्तिकै उसको कार्ड मागे । उसको दाह्रीले गर्दा सायद आर्मीहरूले उसलाई शंका गरे । उसँगै गएकोले मेरो पनि पासपोर्ट चेक भयो । तर, आर्मीहरूले दोहोरो प्रश्न सोधेनन्, हामी हाम्रो बाटो लाग्यौं ।

एकछिनपछि उसले फेरि कुरा सुरु गर्‍यो । 'यो राजनीतिक समस्या हो फ्रान्सको तर यसरी सेना, हतियारबाट समाधान गर्न लागि परेको छ फ्रान्स । सम्भव होला, नहोला । तर यसले हामी जनतालाई चाहिँ मारमा पारेको छ ।' उसको कुरा ध्यान दिएर सुन्न लायक थियो ।

कुरा गर्दैगर्दा उसको फोन आयो । उसले उठायो र केही कुरा भन्यो फ्रेन्चमा । मैले ठम्याउन सकिनँ । पछि उसैले थप्यो, 'दस दिन भयो मेरो प्रेमिकासँग भेट नभाको । आज ऊ मलाई कुर्दैछे । ऊ मलाइ माया गर्छे । '
'ओ... त्यसैले तपाईंलाई पनि पुग्ने हतारो देखिन्छ ।'

ऊ खिसिक्क हाँस्यो । र, फेरि थप्यो, 'एक वर्ष पुग्यो हाम्रो सम्बन्ध । यसभन्दा अघि म एकजनासँग लिभिङ टुगेदरमा थिएँ । पछि हामी छुट्टियौं । मेरो एउटा फ्ल्याट छ टुलुजमा । यो मेरो कमाइले नै किनेको होे । त्यही फ्ल्याटको एउटा कोठामा ऊ बस्छे ।'

क्याउडिस्टको कुराले मैले भ्यालेन्तिनालाई सम्झेँ । विचार ठ्याक्कै त्यस्तै । भ्यालेन्तिना जस्तै क्लाउडिस्ट पनि विवाह गर्न चाहँदैन । अहिलेसम्म उसले त्यो कुरा सोचेकै रहेनछ । हामी बाँचेको संसारबाट नियाल्दा यो स्वतन्त्रता अलि पच्न गाह्रो हुँदै थियो मलाई । तर, म उसको कुरामा सहमत थिएँ र रमाइलो मानिरहेको थिएँ ।

मैले भेटे जतिका ती सब पात्रहरू प्रेममा बाँधिएका थिए । सयौं किलोमिटरको दुरी पनि प्रेमले मेटाएको थियो । भ्यालेन्तिना होस् वा क्लाउडिस्ट अथवा पोल्यान्डकी त्यो सुइरी केटी, सबले आफ्नो प्यारो मान्छेको साथ पाएका थिए ।

टुप्लुक्क टुलुज आइपुग्यो । यो सहर ग्यारोन नदीको किनारमा अवस्थित छ र पेरिसभन्दा ६ सय ८० किलोमिटर टाढा छ । म त्यहीँ ओर्लिएँ । जाने बेलामा उसले मलाई उसको फेसबुक आईडी दियो । हेर्दाहेर्दै ऊ मलाई टुलुज सेन्टर स्टेसनमा छोडेर गायब भयो ।

साँझ ५ बजेको थियो । चिसो सहर । घाम भर्खर डुब्नडुब्न लागेको । टाढा देखिने धमिलो पहाडका धर्साहरू । सुन्दर आर्किटेक्टयुक्त विशाल भवन र त्यसका बडेमानका आँगनहरू । युरोपका कुनै पनि सहरले आफ्नो आर्किटेक्ट भुलेका छैनन् र तिनीहरू सधैं सुन्दर छन् । हामी सालिक भत्काउँछौं, पुराना घर भत्काउँछौं र कंक्रिटको थुप्रोलाई घर भन्छौं । हामीले सिक्नुपर्ने कुरा धेरै छ जस्तो लागेर आयो ।

रातको १० बज्न अझै दुई घन्टा बाँकी थियो । १० बजे आम्सटर्डमको लागि छुट्ने बस अझै आइपुगेको थिएन । गन्तव्य कैयौं घन्टा टाढा थियो । त्यसैले कुर्नु थियो यहाँ पनि र बसभित्र पनि । कुर्दाकुर्दै चिसोले घुँडामा हान्यो । तर, फ्री वाईफाईले केही राहत दिएको थियो । मैले त्यहीँ बसीबसी क्लाउडिस्टलाई रिक्वेस्ट पठाएँ । उसले छिनमै एसेप्ट गर्‍यो । उसले उसको प्रेमिकासँग ओठ जोडेर खिचेको फोटो पोस्ट गरिसकेको थियो । त्यहीबेला भ्यालेन्तिनाको पनि त्यस्तै खाले फोटो देखियो । खुलेआम प्यारमा मस्त जोडीहरू ।

बस कुर्दै गर्दा छेउमा थिई एउटी सुइरी केटी । फोनमा कुरा गरिरहेकी । उसले के बोलिरहेकी थिई, बुझिनँ मैले । घरी घरी त मलाई नै गाली गरे झैं गर्थी । उसको मन अति नै अस्थिर थियो । पीडा र छटपटी दुवै थियो ऊभित्र । त्यसले फोनमा नानाभाँती फलाकेपछि मतिर हेरी ।

'इङ्लिस ? , ' त्यसले मलाइै सोधी ।
'नो ...नेपाली ।'
'स्पिक इङ्लिस ? '
'या ।'

त्यसले मलाई फोन दिई । मैले फोनमा कुरा गरेँ । फोनमा उसको कोही मान्छे थियो । आफूलाई डच भन्थ्यो । ऊ टुलुजको सेन्ट्रल स्टेसन खोज्दाखोज्दा नभेटेर दौडधुप गरिरहेको थियो । यता केटी उसलाई कुरिरहेकी थिई । मैले डच केटोलाई अंग्रेजीमा फेरि ठेगाना दिएँ । सेन्ट्रल बस स्टेसन, पिर्रे सिमार्द ।

उसले यही ठेगाना अघिदेखि खोजे पनि पत्ता नलागेको बतायो । मैले फेरि बुझाएँ, उसलाई । यसपालि ठेगाना दिँदा मैले एसएनसीएफ टे«न स्टेसनको ठ्याक्कै अगाडि भनेर पनि थपिदिएँ । उसले फोन राख्यो ।

भ्यालेन्तिना पानी खुब मन पराउँछे । पानीमा उभिएर टाढाटाढा फैलिएको समुद्र हेर्दा उसलाई आफू स्वतन्त्र भएझैं लाग्छ । सम्बन्धहरूमा पनि ऊ रोकिएकी छैन । कोही चित्त बुझ्दैन भने ऊ त्यो सम्बन्धलाई घिसिपिटी घिसारी रहँदिन ।

केटीले फेरि फोन गरी । उताबाट के भन्यो थाहा छैन । केटी रुन थाली । उसलाई केटो नभेटिएको कहालीलाग्दो कल्पनाले साह्रै पिरोलेको थियो । घरि उसले मलाई हेरी र घरि मोबाइलतिर । ऊ अंग्रेजी बुझ्न र बोल्न सक्दैनथिई । यतिसम्म कि ऊ कहाँ की हो भन्नेसम्म मैले थाहा पाएको थिइनँ ।

निकैबेर पछि एउटा लम्बु केटो सरासर हामीतिर अगाडि बढ्यो । केटी जुरुक्क उठी र त्यसको छातीमा दुईचार मुक्का हानी । केटो हाँस्दै केटीलाई अँगालोमा बेर्न व्यस्त भयो । केटीले मतिर हेरी । केटोले बुझ्यो । 'हे म्यान तिमी हौ अघि बोल्ने ? '
'हो ।' मैले भनेँ ।

उसले हात मिलायो र भन्यो, 'थ्यांक यु । आई फाउन्ड माई लभ । थ्यांक यु । ऊ पोल्यान्डबाट आएकी । केही थाहा छैन । म पनि नयाँ हो यो ठाउँमा । सो धेरै कुदाकुद भयो । फाइनल्ली आइ फाउन्ड ।'
उसले केटीलाई अँगालो हाल्यो र एउटा हातले सुटकेश समायो । तिनीहरू हिँड्नै लाग्दा केटी फरक्क मतिर फर्की र आफूसँग ल्याएको चकलेटको भाँडो मेरो अघि तेस्र्याई, मैले एउटा झिकेँ र उतिर हेरेँ । ऊ ढुक्क थिई, उसका आँखाहरूले भनिरहेका थिए ,'थ्यांक यु फर द हेल्प ।'

मैले भेटे जतिका ती सब पात्रहरू प्रेममा बाँधिएका थिए । सयौं किलोमिटरको दुरी पनि प्रेमले मेटाएको थियो । भ्यालेन्तिना होस् वा क्लाउडिस्ट अथवा पोल्यान्डकी यो सुइरी केटी, सबले आफ्नो प्यारो मान्छेको साथ पाएका थिए । म चकलेट हातमा खेलाउँदै सोचिरहेको थिएँ, केही मान्छेहरू प्रेमी र प्रेमिकाको प्रेम पाउन यात्रा गर्छन्, अनि केही प्रकृतिको । आखिर सबै यात्रा प्रेममै गएर टुंगिने रहेछ ।

०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.