एक दुर्लभ महाप्रस्थान

एक दुर्लभ महाप्रस्थान

२०७३ मंसिर १३ । राष्ट्रिय नाचघरको प्रेक्षालय । चालीसको दशकका कहलिएका नाटक निर्देशक बद्री अधिकारीको निर्देशनमा २७ वर्षपछि मञ्चन हुन लागेको नाटकको पूर्वाभ्यासको समय । सय वर्ष पुग्न लागेका सत्यमोहन जोशी आफूले वर्षौंअघि 'दैलाको बत्ती' नाम दिई प्रकाशित गरेको तर अहिलेसम्म मञ्चन हुन नसकेको नाटक 'याज्ञवल्क्य' नाममा मञ्चनको तयारी जोडतोडका साथ भइरहेको सुनेर पूर्वाभ्यास हेर्न आइपुगेका थिए । ७९ वर्ष पुगेका रंगकर्मी विष्णुभक्त फुयाँललाई देखेपछि जोशीले उत्साहित हुँदै सोधे, 'तपाईंले पनि यो नाटकमा खेल्नुभएको छ ? ' 'छु । जनकको भूमिकामा अभिनय गर्दैछु', विष्णुभक्तले भने ।

तत्कालै विष्णुभक्तको दुवै हत्केला सत्यमोहन जोशीले च्याप्प समाते र त्यसलाई आफ्नो निधारमा लगेर ढोगे । महर्षि जनक र वयोवृद्ध कलाकारप्रतिको योभन्दा ठूलो सम्मान अरू के हुन सक्थ्यो ? कलाकार विष्णुभक्त नाटककार सत्यमोहन जोशीको यस किसिमको श्रद्धाले भावुक बने । विष्णुभक्तले सोचेका थिए- 'मेरो जीवनको यो एक अद्वितीय क्षण हो । नाटकलाई सफल बनाउनु मेरो अहोधर्म हो ।'

नाटक 'याज्ञवल्क्य'को पूर्वाभ्यास चार महिनाभन्दा बढी समय चल्दा पनि रत्तिभर नथाकिकन हरेक दिन निर्देशकले बोलाएको समयमा विष्णुभक्त फुयाँल रिहर्सलमा पुग्नुको एउटा कारण यो पनि थियो । सुरुमा राष्ट्रिय नाचघरका थुप्रै कलाकार नाटकमा सहभागी थिए । पछि कलाकारले एक-एक गर्दै छाड्दै गए । लामो समयपछि नाटक निर्देशन गर्न लागेका बद्री अधिकारीलाई नाटक जसरी पनि मञ्चन गर्नु ठूलो चुनौती थियो । नाचघरका सहभागी कलाकार कसैले बाहिरी काममा व्यस्तता देखाउँदै त कसैले अरू बहनना बनाउँदै 'याज्ञवल्क्य' छोड्दै थिए ।

महाप्रबन्धक राजेश थापाले नाटकमा सहभागी कलाकारलाई पत्र नै पठाउनु पर्‍यो । र, पनि जागिरे कलाकारले टेरपुच्छर लाएनन् । अन्ततः नाचघरको आयोजना भए पनि नाचघरबाहिरकै कलाकार लिएर बद्री अधिकारीले नाटक 'याज्ञवल्क्य' मञ्चन गरी छाडे । त्यही नाटकमा थिए विष्णुभक्त फुयाँलजस्ता प्रतिबद्ध नाट्यकर्मी ।

तर, ती प्रतिबद्ध कलाकार फुयाँल यतिबेला हामीमाझ छैनन् । रङ्गमञ्चमा अभिनय गर्दागर्दै तिनले प्राण त्यागे । यो जस्तो अद्वितीय महाप्रस्थान एकजना कलाकारको लागि अरू हुन सक्दैन ।

दिवंगत हुनु अघिल्लो दिन नाचघरको नाटक सकिएपछि चुच्चेपाटीस्थित उनको निवासनजिकैको चिया पसलमा राति ८ बजे कलाकार विष्णुभक्त फुयाँल, डम्बर ढकाल, ज्ञानकुमार खड्का र म नाटकबारे लघुसमीक्षा गरिरहेका थियौं । विष्णुभक्त भन्दैथिए, 'यो नाटक जसरी पनि मञ्चन गराउने मेरो ठूलो इच्छा थियो । अनेक व्यवधान आइपरेपछि मञ्चन गर्‍यौं । औधी खुसी लागेको छ ।'

नाटकको प्रस्तुति पक्ष, नाटकप्रतिको फुयाँलको प्रतिबद्धता र अभिनयको अहिले व्यापक तारिफ भइरहेको छ । तर, यी तारिफका शब्द सुन्नका लागि उनी हामीमाझ छैनन् ।

मैले अनेकौंपटक कलाकार विष्णुभक्त फुयाँललाई स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ भनेर सम्झाएको थिएँ । उहाँ नाटक भनेपछि हुरुक्क हुने मान्छे । भन्थे, 'नाटक र अभिनय त मेरो रगतमा बगेको छ । त्यसैको साथले नै त म अहिलेसम्म जीवित छु । यसलाई छाडेँ भने त म थला परिहाल्छु नि । अभिनय गर्दागर्दै, नाटक गर्दागर्दै मर्न पाइयोस् । यो नै मेरो अन्तिम इच्छा हो ।'

२०६० को दशकयता मैले निर्देशन गरेको आधा दर्जन नाटकमा उनले अभिनय गरे । उनको र मेरो बसाइ नजिक-नजिक भएकोले भेटघाट पनि बाक्लै हुन्थ्यो । गत पुस १३ गते बिहान उनकै निवासमा उनी, म र नाटक निर्देशक बद्री अधिकारीले दुई घन्टाजति समकालीन नाटकमाथि चर्चा गरेका थियौं । बद्री अधिकारी भन्दै थिए, 'फुयाँल दाइजस्तो नाटकमा जीवन नै उत्सर्ग गर्ने मान्छे मैले देखेको छैन । यो उमेरमा पनि उहाँको लगाव सबैको लागि ठूलो प्रेरणा हो ।'

विष्णुभक्त फुयाँलद्वारा अभिनीत नाटक, टेलिशृंखला, चलचित्र लामो समयदेखि नेपाली दर्शकले रंगमञ्च, काँचको पर्दा र ठूलो पर्दामा हेर्दै आइरहेका छन् । उनलाई धेरैले चलचित्रकर्मीका रूपमा चिन्छन् । यद्यपि रंगमञ्चमा पनि उनको विशिष्ट योगदान छ । आफूले पाएको भूमिकालाई सूक्ष्म रूपमा अध्ययन गरी विशिष्ट शैलीको चरित्र निर्माण गर्न सक्नु उनको खुबी थियो । हास्यव्यंग्यमा उनको बेजोड पकड थियो । उदाहरणको रूपमा कमेडी टेलिसिरियल 'तीतो सत्य'को एक सामान्य पात्र ('ओ माई लव') लाई उनले यति भिन्न रूप दिए जसले उनलाई खुबै लोकप्रियसमेत बनायो । यो भूमिकाले उनका अरू सबै कामलाई नै ओझेलमा पारिदियो ।

दुई वर्षअघि मैले सुर्खेत, दैलेख, डँडेलधुरालगायत जिल्लामा उनलाई पनि लिएर गएको थिएँ, नाटक मञ्चन गर्न । दर्शकमा उनको अभिनयको 'क्रेज' नजिकबाट देखेको थिएँ । एक वचन बोलिदिएसम्म हुने, अटोग्राफ पाए हुने, सँगै बसेर सेल्फी लिन पाए हुने भन्ने स्कुल, कलेज पढ्नेदेखि पाका र वृद्धहरूको ठूलै आकर्षण देखेँ । अत्यन्त सरल, सहयोगी र हँसिलो मिजासका उनी सकेसम्म कसैको चित्त दुखाउन चाहँदैनथे ।

स्वाभिमान उनको अर्को मूल विशेषता हो । उनले आफ्ना लागि कहिल्यै केही मागेनन् । अरूका लागि सकेको सहयोग गर्थे । युवापुस्ताका कलाकर्मीसँग उनको विशेष लगाव थियो । युवापुस्तामाझ पनि उनी 'विष्णुबुवा' को नामले कहिलिएका थिए । भन्थे, 'युवापुस्तासँग काम गर्दा म युवा नै भएको महसुस गर्छु ।' उनी आफूभन्दा सानालाई पनि 'तपाईं' र नामको पछाडि 'जी' लगाएर बोलाउँथे । जीवनको उत्तराद्र्धमा आइपुगेका उनले जीवनमा अथाहा उतारचढाव भोगे । सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले जीवन बुझेका थिए । पछिल्लो समय उनी आत्मवृत्तान्तसमेत लेखिरहेका थिए । भन्थे, 'मैले जीवनमा निकै दुःख भोगेको छु । त्यसैले स-साना दुःखले मलाई छुँदैन ।'

आरम्भमा उनले नेपाल र भारतका थुप्रै स्थानमा मजदुर, होटलमा वेटर र कुकको रूपमा समेत काम गरे । उनलाई नेवारी र बंगाली भाषाको राम्रो ज्ञान थियो । उनले २०१९ सालमा पहिलोपटक अभिनय गरेको डबली नाटक 'कर्मया भोग' पनि नेवारी भाषामै थियो ।

'कर्मया भोग' (२०१९) मा अभिनय गर्दा उनी काठमाडौंको रोयल होटेलमा काम गर्थे । त्यही होटेलका कर्मचारी र ललितपुरका केही युवाहरूले गाईजात्राको उपलक्ष्यमा मञ्चन गरेको नेवारी नाटक 'कर्मया भोग'मा पहिलोपटक अभिनय गर्ने अवसर उनले पाए । नेवारी नाटकमा अभिनय गर्न भाषाको समस्या हुन्थ्यो नै । तर, आफूले नेवारी बुझ्ने र बोल्न पनि सक्ने बताएपछि उनी छानिए । उनी भन्थे, 'त्यसबखत हामीले काठमाडौं र पाटनमा गरेर २० पटक नाटक देखायौं । त्यतिबेला डबलीमा एक सो नाटक गरेबापत ४० रुपैयाँ आम्दानी हुन्थ्यो ।

उतिबेला केटीको भूमिका पनि केटाले नै गर्नुपथ्र्यो । 'कर्मया भोग'मा मैले पनि ज्यापुनी केटी र पुरेतको दोहोरो भूमिकामा अभिनय गरेको थिएँ ।' 'कर्मया भोग'बाट राम्रै स्याबासी पाएपछि उनले अरू नाटकहरूमा खेल्न थालका हुन् ।

बीसको दशकमा कलाकार मुकुन्दकिशोर भट्टराईसँग भेट भएपछि विष्णुभक्तले नाट्य अभिनयमा निरन्तरता दिन थाले । त्यसबेला उनले मुकुन्दकिशोरद्वारा निर्देशित डबली र मञ्च नाटकहरूमा अभिनय गरेका थिए । २०३१ सालमा मञ्चित 'सुकुलगुन्डा' र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय नाटक महोत्सव २०३३ मा मञ्चित नाटक 'भत्किएको सपना' मा विष्णुभक्तको अभिनय धेरैले मन पराएका थिए ।

२०३६ सालतिर नाट्यकर्मी फुयाँल प्रगतिशील विचारधाराका कलाकार र साहित्यकारसँग नजिक भए । २०३६ सालदेखि नै उनले भूमिगत कम्युनिस्ट पार्टीका भ्रातृ संगठन 'अखिल'का विद्यार्थीसँग मिलेर पञ्चायती शासनको विरुद्धमा लेखिएका प्रगतिशील नाटकमा अभिनय र निर्देशन गर्न थाले । उनी भन्थे, 'त्यस्ता नाटक काठमाडौंका सरस्वती कलेज, त्रिचन्द्र कलेज र अन्य कलेजमा लुकीलुकी पूर्वाभ्यास गथ्र्यौं । अनि तयार भएपछि कीर्तिपुरमा विद्यार्थीमाझ प्रदर्शन गथ्र्यौं ।'

'नाटक र अभिनय मेरो रगतमै छ । नाटककै साथले म अझै जीवित छु । नाटक छाडेँ भने त म थला पर्छु । नाटक गर्दागर्दै मर्न पाइयोस् । यो नै मेरो अन्तिम इच्छा हो ।'- विष्णुभक्त फुयाँल

२०४२ सालमा उनले अग्निशिखाद्वारा लिखित 'इज्जत' निर्देशन गरेका थिए । यो नाटकमा पञ्चायतकालमा दरबारियाको आडमा प्रधानपञ्चहरूले गरेका मूर्तिचोरी र केटी बेचबिखन आदि कार्यको भन्डाफोर गरिएको थियो । उक्त नाटक काठमाडौंमा १२ पटक मञ्चन भयो । उनी भन्थे, 'यो नाटक पूर्वाभ्यास गर्दा तीन ठाउँमा लुकीलुकी गर्नुपर्‍यो । कारण त्यसबेलाका सरकारका गुप्तचरहरू छ्यापछ्याप्ती थिए ।'

२०४३ सालदेखि नै नेपाल स्वतन्त्र मजदुर युनियन र सांस्कृतिक विभागमा काम गर्दा मजदुरपक्षीय नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने काममा उनी लागे । २०४६ देखि २०६४ सालसम्म गलैंचा मजदुर संगठनको उपाध्यक्ष भएर काम गर्दा पनि मजदुरहरूको कथाव्यथामा आधारित थुप्रै नाटकमा अभिनय, लेखन र निर्देशन गरे । उनले 'ऊ पछुताउँछ', 'एकताको फल' (२०४३), 'रमाइलो' (२०४८), 'विकल्प खोइ ? ' (२०४९), 'जीवन दिने आमा', 'हात लाग्यो शून्य' 'चिसो पैसा' (२०५४) लगायत नाटकमा लेखन, अभिनय र निर्देशन गरेका छन् ।

साठीको दशकमा मात्रै 'नेपाल आमा', 'मान्छेभित्रको मान्छेको खोजी', 'तीजको लहर', 'दोषी को ? ', 'पश्चाताप' आदि नाटक लेखेर निर्देशन गरे । यीबाहेक उनले मुकुन्दकिशोर भट्टराई, बद्री अधिकारी, सुनील पोखरेल, बैकुण्ठ भण्डारी, पुरु लम्साल आदि निर्देशकका नाटकमा अभिनय गरेका थिए । उनी नेपाली रंगमञ्च र रजतपटमा अभिनयका माध्यमले प्रसिद्ध कलाकार हुन् । उनी 'नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका स्थापनाकालीन प्राज्ञ सदस्य (२०६७-२०७०) समेत हुन् । उनी २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौं वडा ६ को वडा प्रतिनिधिको रूपमा समेत निर्वाचित थिए ।

विष्णुभक्तलाई सम्झने आधार अनेकौं छन् - कलाकार, नाटककार, निर्देशक, गीतकार, चलचित्रकर्मी, समाजसेवी इत्यादि । उनले २०४० सालदेखि गीत र कवितामा पनि हात हाले । उनका केही गीत रेकर्ड पनि भएका छन्-
'मेरो मनको तारा कता हरायौ
बादलमा खोजें, जूनलाई सोधेँ
कहीँ पनि भेटिनँ, कता हरायौ ? '

२०४६ सालमा बितेकी आफ्नी श्रीमती ताराको नाममा लेखेको यो गीत नै उनको रेकर्डेड अन्तिम गीत हुन पुग्यो । गत वर्षको पुस महिनामा यो गीत डम्बर ढकालको संगीत र रञ्जित नेपालीको स्वरमा रेकर्ड भएको हो ।
चालीसकै दशकदेखि उनले यात्रा संस्मरण र नाटकमा कलम चलाए । २०५९ सालमा उनको 'बाध्यता' नाटकसंग्रह प्रकाशित भयो । २०७३ सालमा उनको नाटकसंग्रह 'सहिदको सपना' प्रकाशित भएको छ जसमा दस नाटकहरू संगृहीत छन् । तीमध्ये अधिकांश नाटक मञ्चन भइसकेका छन् ।

साढे पाँच दशकको नाट्ययात्रामा उनले नाटक निर्देशन, अभिनय र लेखनका माध्यमले आफूलाई अविराम सक्रिय राखे । जीवनको अन्तिम समयसम्म पनि कलाकारितामै सक्रिय रहे । १९९४ साल भदौ २३ गते भक्तपुरमा जन्मिएका उनी २०७३ साल पुस १९ गते नाटकमा अभिनय गर्दागर्दै दिवंगत भए । नाट्य क्षेत्रमा उनको समर्पण र लगाव विशिष्ट प्रकारको थियो । अलबिदा - अमर कलाकार !

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.