रोनाल्डो, मेसी र ग्रिजम्यान: को होला उत्कृष्ट फुटबलर ?

रोनाल्डो, मेसी र ग्रिजम्यान: को होला उत्कृष्ट फुटबलर ?

उत्कृष्ट फुटबलर को ? अन्तर्राष्ट्रिय फुटबलमा यो बहस सधैं चलिरहन्छ । एक दशकयता भने यो बहस क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीमा केन्द्रित छ । यही बहसमा सन् २००८ यता रोनाल्डो र मेसीको पक्षविपक्षमा विभाजित छन्, फुटबलपारखी ।

रोनाल्डो र मेसी विश्वकै उत्कृष्ट, एकआपसमा प्रतिद्वन्द्वी दुई स्पेनी क्लब रियल म्याड्रिड र बार्सिलोनासँग सम्बन्धित छन् । फरक क्लबसँगै यी दुई खेलाडीको फुटबल संस्कार र खेल्ने शैली पनि फरक छ । उनीहरूको स्वभाव झनै फरक छ ।

रोनाल्डो मैदानमा आक्रामक रूपमा प्रस्तुत हुन्छन् । उनको शारीरिक हाउभाउ पनि आक्रामक हुने गर्छ । त्यसैले रोनाल्डोका आलोचक उनलाई रिसाहा पनि भन्ने गर्छन् । उनको मैदानबाहिरको जीवन पनि विवादास्पद नै छ । कोख किनेर (सरोगेसी मदर) छोरा जन्माएका रोनाल्डो प्रेममिका फेरिरहन्छन् । नियमित रूपमा नाइट क्लब धाउँछन् ।

मेस्सी भने त्यसको ठीक विपरीत छन् । मैदानमा उनी सधैं शान्त रूपमा प्रस्तुत हुन्छन् । लामो समयदेखि एन्टोनेल्ला रोकुज्जोसँग प्रेमसम्बन्धमा छन् । उनीहरूका दुई नानी पनि भइसकेका छन् । मेस्सीले प्रेमिका फेरेको र नाइट क्लब धाएको समाचार सुनिएको छैन ।

यी दुई खेलाडीको विपरीत स्वभावले पनि समर्थकलाई प्रभाव पार्ने गरेको छ । रोनाल्डो र मेसीको फुटबल कलालाई मात्र हैन, मैदानभित्र र बाहिर उनीहरूले प्रस्तुत गर्ने व्यवहारलाई समेत लिएर समर्थकहरू पक्षविपक्षमा लामै समय बहस गर्छन् । फेरि पनि निष्कर्ष भने आआफ्नै अडान हुने गर्छ ।

समर्थकहरूको यही बहसलाई केही हदसम्म अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रत्येक वर्ष प्रदान गर्ने फिफा वर्ष खेलाडीको अवार्डले मत्थर पार्ने गर्छ । त्यसैले फुटबलका पारखीहरू प्रत्येक अंग्रेजी नयाँ वर्षसँगै फिफा वर्ष खेलाडीको घोषणाको प्रतीक्षामा रहन्छन्, जुन प्रतीक्षा यो वर्ष पनि छ ।

यही ९ जनवरीमा फिफाले सन् २०१६ को उत्कृष्ट फुटबलरको नाम घोषणा गर्दैछ । यो वर्षबाट भने अवार्डको अगाडि 'बेलोन्डे अर'को ट्याग झुन्डिनेछैन । फ्रान्स फुटबलसँगको सहकार्यमा सन् २०१० देखि वर्षको उत्कृष्ट फुटबलरलाई 'फिफा बेलोन्डेअर अवार्ड' प्रदान गर्दै आएको फिफाले यसै वर्षबाट सहकार्य तोडेको छ । त्यसैले ६ वर्षपछि फिफाले फेरि वर्षको उत्कृष्ट एक फुटबलरलाई 'फिफा बेस्ट प्लेयर अफ दी इयर'बाट पुरस्कृत गर्दैछ ।

यो अवार्डका लागि पछिल्लो आठ वर्षजस्तै यसपटक पनि रोनाल्डो र मेसी सर्ट लिस्टमा परेका छन् । यस वर्ष उनीहरूलाई टक्कर दिँदैछन्, अर्को स्पेनी क्लब एट्लेटिको म्याड्रिडका फ्रान्सेली स्ट्राइकर स्टोइन ग्रिजम्यानले ।
यी तीनै स्ट्राइकर सन् २०१६ मा निकै चम्किएका खेलाडी हुन् । सन् २०१६ रोनाल्डोका लागि अविस्मरणीय वर्ष नै बन्यो । यो वर्ष रोनाल्डोले आफ्नो करिअरकै ठूलो सफलता हात पारे । उनी सन् २०१६ मा क्लब र राष्ट्रिय टिम गरी दुवै टोलीबाट युरोपियन च्याम्पियन बने ।

रोनाल्डोले गत वर्ष आफ्नो क्लब रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाए । त्यसपछि गत भदौमा फ्रान्समा सम्पन्न मिनी विश्वकप भनिने युरोकपमा पनि रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई च्याम्पियन बनाए । सिनियर राष्ट्रिय टोलीबाट रोनाल्डोले जितेको यो नै पहिलो उपाधि हो ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडले उपाधि जित्दा रोनाल्डो नै सर्वाधिक गोलकर्ता थिए । टोलीका लागि उनी एक्लैले १६ गोल गरे । जब कि रोनाल्डोपछिका दोस्रो सर्वाधिक गोलकर्ता बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले सात गोल कम अर्थात् नौ गोलमात्रै गरेका थिए ।

यस वर्ष मेसीको उपलब्धि पनि कम छैन । मेसीले सन् २०१६ मा आफ्नो टोली बार्सिलोनालाई स्पेनी लिग, कोपा डेल रे र स्पानिस सुपर कप गरी तीन ठूला प्रतियोगिताको उपाधि दिलाए । बार्सिलोनाबाट 'स्पेनी ला लिगा'को आठौं उपाधि उचाल्ने क्रममा मेसीले यो वर्ष २० गोल गरे । रोचक त के भने उनले आफ्ना सहकर्मीलाई थप १६ गोलका लागि अवसर सिर्जना गरिदिए ।

मेसीले यो वर्ष दक्षिण अमेरीकी देशहरूबीचको प्रतियोगिता कोपा अमेरिका सुरु भएको एक सय वर्ष पुगेको अवसरमा आयोजित विशेष संस्करण 'कोपा सेन्टेनरियो'मा आफ्नो देश अर्जेन्टिनालाई फाइनलमा पुर्‍याए । चिलीसँग पराजित भएर आफ्नो देशलाई उपाधि दिलाउन नसके पनि सदाझैं छाप छाड्न भने सफल रहे । प्रतियोगितामा अन्य कुनै पनि खेलाडीले भन्दा बढी गोल अवसर सिर्जना गरेका मेसी प्रतियोगिताको दोस्रो सर्वाधिक गोलकर्ता बने ।

फ्रान्सेली ग्रिजम्यानले पनि यस वर्ष रोनाल्डो र मेसीलाई टक्कर दिने उपलब्धि हात पारेका छन् । एट्लेटिको म्याड्रिड यस वर्ष स्पेनिस ला लिगामा तेस्रो स्थानमा सीमित बन्यो । आफ्नै देशले आयोजना गरेको युरोकपमा पनि ग्रिजम्यानको टोली फ्रान्स उपविजेतामै सीमित भयो । तर, एट्लेटिको म्याड्रिड र फ्रान्सेली राष्ट्रिय टोलीका एक्ला स्ट्राइकर ग्रिजमान दुवै प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भए । सन् २०१६ मा क्लब र देशका लागि कुल ४० गोल गरेका ग्रिजम्यान यही प्रदर्शनका आधारमा अवार्डका लागि अन्तिम तीनजनामा छानिएका हुन् ।

रोनाल्डो, मेसी र ग्रिजम्यान तीनै खेलाडीले गत वर्ष आफ्नो क्लब र राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण योगदान दिए । तर, सफलताको दृष्टिबाट क्लब र देशको दुवै टोलीबाट उपाधि जितेका रोनाल्डो प्रतिस्पर्धामा तुलनात्मक रूपमा अघि देखिएका छन् ।

गत महिना फ्रान्स फुटबलले घोषणा गरेको सन् २०१६ को 'बेलोन डे अर'को उपाधि भने रोनाल्डोले जिते । त्यसले फिफा वर्ष खेलाडीको अवार्डमा पनि रोनाल्डोकै सम्भावना बढी देखाएको छ । यद्यपि विश्वका दुई सय दुई देशका कप्तान र मुख्य प्रशिक्षक, विशेष प्रक्रियामार्फत छनोट गरिएका ३० फुटबल पत्रकार तथा फुटबल समर्थकबाट छानिने फिफा वर्ष खेलाडीको अवार्ड यी तीनमध्ये कुनै पनि खेलाडीले जित्न सक्नेछन् ।

फिफाले दुई सय दुई राष्ट्रका कप्तान र मुख्य प्रशिक्षकहरूको मतलाई ५० प्रतिशत र फुटबल समर्थकहरूले फिफा डट कममा दिएको मतलाई ५० प्रतिशत मानेर विजेता खेलाडीको नाम सार्वजनिक गर्ने गर्छ । त्यसमा खेलाडीको उपलब्धि र सफलतामात्रै हैन, उनीहरूको व्यक्तिगत र सार्वजनिक आचरण पनि कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकबाट प्राप्त हुने मतको आधार बन्नसक्छ ।

अवार्डका निम्ति तीन खेलाडी प्रतिस्पर्धामा छन् । यी तीनै स्ट्राइकर सन् २०१६ मा निक्कै चम्किएका खेलाडी हुन् ।

रमाइलो संयोग, यी तीनमध्ये मत जसको पक्षमा गए पनि विजेता स्पेनी क्लबसँगै जोडिनेछन् । पछिल्लो ६ वर्षयता फिफा बेलोन डे अर अवार्डका लागि त दुई स्पेनी क्लब रियल म्याड्रिड र बार्सिलोनाकै खेलाडीबीच मात्र प्रतिस्पर्धा हुँदै आइरहेको छ । सन् २०१३ मा बायर्न म्युनिखबाट फ्रांक रिबेरी तथा सन् ०१४ मा बायर्नकै म्यानुअल न्युयर सर्ट लिस्टमा पर्नुबाहेक पछिल्लो ६ वर्षयता रियल म्याड्रिड र बार्सिलोनाकै खेलाडीमात्रै सर्ट लिस्टमा परेका छन् ।

यो अवधिमा बार्सिलोनाका मेसीले मात्रै चारपटक फिफा बेलोन डे अर अवार्ड जितेका छन् भने रोनाल्डोले दुईपटक जितेका छन् । त्यसअघि दुवै खेलाडीले फिफा प्लेयर अफ दी इयरको उपाधि जितेका छन् ।

फिफाले सोमबार नै वर्षको उत्कृष्ट महिला फुटबलरसमेत घोषणा गर्दैछ । यो वर्ष वर्षको उत्कृष्ट महिला खेलाडीका लागि जर्मनीकी मेलानी बेहरिंगर, अमेरिकाकी कार्ली ल्होइड र ब्राजिलकी मार्ता सर्ट लिस्टमा परेका छन् ।

यस्तै फिफाले सोमबार नै पुरुष र महिलातर्फको वर्षको उत्कृष्ट प्रशिक्षकको नामसमेत घोषणा गर्दैछ । फिफाले वर्षको उत्कृष्ट गोललाई प्रदान गर्ने पुस्कास अवार्ड तथा फेयर प्ले टोली पनि सार्वजनिक गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.