अकोराबको अध्यक्षमा खतिवडा निर्वाचित
काठमाडाैं: सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)को अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन्।
सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले एक सय ४२ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी दिए। उनका प्रतिद्वन्द्वी किशोरजङ्ग थापाले एक सय ३२ मत ल्याए। कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए।
यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला)मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस)मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति)मा अर्जुनकुमार राई विजय भएका छन्। सङ्घका महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भएका छन्।
यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक निर्वाचित भएका छन्।
त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र दीर्घराज उपाध्याय निर्वाचित भए। प्रदेश अध्यक्ष सङ्घको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ। रासस