छोरीहरुकी ‘गड मदर’

छोरीहरुकी ‘गड मदर’

सरल र सरस छिन् लक्ष्मी माली, उनका कविताजस्तै । मुसुक्क हाँस्दै सानो स्वरमा खुसुखुसु घन्टौंसम्म बात मार्छिन् उनी। मालीसँग कुरा गरिरहँदा लाग्दैलाग्दैन- उनी कुनै बेलाकी हक्की, जुझारु हेडमास्टर्नी हुन् । उनको जीवनकथा थाहा लागेपछि र कविता पढेपछि अलमलमा परिन्छ- केको चर्चा गर्ने, उनको वा उनका कविताको ? सायद यो अलमल नै गलत छ- स्रष्टा र सिर्जना त सँगै उभिन्छ जति बेला पनि । शब्दकोश पल्टाउनुपर्ने शब्दै नराखीकन, निधार खुम्च्याएर सोच्नु नपर्ने गरी, कुरो नघुमाईकनै सरल शब्दमा ठाउँमै पन्च हान्छन् उनका कविताले । त्यसरी नै पन्च हानेकी छन् उनले जीवनयात्रामा पनि-
हजुरबा छोरी भन्नुहुन्छ
मामा दिदी भन्नुहुन्छ
बाबा श्रीमती भन्नुहुन्छ
म आमा भन्छु
आमा तिम्रो नाम के हो ?
(आमा तिम्रो नाम के हो ? )
उनको कवितामा जीवन आउँछ । जीवनमा उनी कविताजस्तै बाँचेकी छन् । उनका कविताहरू मुक्त छन्दका हुन् । जसरी उनको जीवन आफैंमा मुक्ति संघर्षको गाथा हो । आखिर को हुन् लक्ष्मी माली ?

डेस्क, बेन्च थिएनन, राख्न सकिन्थ्यो । ब्ल्याकबोर्ड र चक थिएन, चन्दा उठाएरै भए पनि किन्न सकिन्थ्यो । विडम्बना ! स्कुलमा छोरीहरू थिएनन्, त्यसैले मालीको मन दुख्थ्यो ।

साहित्यिक वृत्त उनलाई ‘कवि’ भनेर चिन्छ । तर, काठमाडौंको नैकाप र आसपासका धेरै चेलीका लागि उनी ‘गड मदर’ हुन् । लक्ष्मी माली थिइन् र उनीहरूको जिन्दगीको बाटो फेरियो । लक्ष्मी माली शिक्षक बनेर पुगेकी थिइन् र त उनीहरूको जिन्दगीको चक्का गुड्न थाल्यो ।

पद्मकन्या क्याम्पसबाट शिक्षाशास्त्रमा स्नातक गरेपछि ०३२ सालमा शिक्षिका बनेर ‘ श्री विद्यामन्दिर निम्न माध्यमिक विद्यालय, नैकाप’ पुग्दा नैकाप गाउँ नै थियो । बाँसका झ्याङले घेरिएको, जंगलको छेउमा भएको, साँझ परेपछि स्याल कराउने । काठमाडौं सहरको विकसित बस्ती टेबहालमा हुर्किएकी लक्ष्मीले नैकाप पुगेपछि कसम खाएकी थिइन्, ‘अब त यहाँ मरे पनि फर्किन्नँ ।’ तर, आफ्नै कसम आफ्नै लागि झूठो भइदियो । र, त्यहीँबाट उनको जीवनले नयाँ मोड लियो । जीवनले नयाँ मोड नलिएको भए के उनी कवि बन्थिन् ? त्यो मोड नआइदिएको भए के उनी धेरै छोरीकी ‘गड मदर’ बन्थिन् ? प्रश्नलाई इतिहासको पानामा अधुरै छोडेर त्यो मोडमा दह्रो उभ्याइदिने उनकै साइँला दाजु थिए ।

दाजुले भने, ‘यो त काठमाडौंभित्र नै हो । यसो सोच त, दुर्गम झन् कस्तो होला ? तिमी–हामीजस्ता मानिस त्यहीँ नजिक पढाउन जान पनि हिच्किचाउँछौं भने दुर्गम क्षेत्रमा को जाला ?’

दाजुको एक वचनले उनको सिंगो मनस्थिति फेरियो । अर्को दिन स्कुल पुग्दा सबैजना छक्क परे । कसैले सोचेकै थिएनन्, लक्ष्मी फर्केर आउँछिन् । ‘दसैंतिहार आएजस्तै भएको थियो त्यहाँ त’, त्यसरी एक शिक्षिका स्कुल आइपुग्दा खुसियाली छाएको क्षण सम्झन्छिन् माली ।

स्कुल त गइन् तर स्कुल स्कुलजस्तो थिएन । भौतिक संरचना सुदृढ थिएन, बनाउन सकिन्थ्यो । डेस्क, बेन्च थिएनन, राख्न सकिन्थ्यो । ब्ल्याकबोर्ड र चक थिएन, चन्दा उठाएरै भए पनि किन्न सकिन्थ्यो । विडम्बना ! स्कुलमा छोरीहरू थिएनन्, त्यसैले मालीको मन दुख्थ्यो । टेबहालबाट हरेक दिन नैकापको स्कुल पुग्दा बाटोभरि उनी छोरीहरू देख्थिन् । छोरीहरू घरमा भाँडा माझिरहेका हुन्थे । पानी ओसारिरहेका हुन्थे । घाँसदाउरा गरिरहेका हुन्थे । घरको बलेसीमा, इनारमा, सार्वजनिक धारामा, वनजंगलमा जताततै थिए छोरीहरू तर स्कुलमा थिएनन् । स्कुल केवल छोराहरूको थियो । छोरीहरू नभएको स्कुल के स्कुल ? बचेराबिनाको गुँडजस्तो, मान्छेबिनाको बस्तीजस्तो, मूर्तिबिनाको मन्दिरजस्तो, चराबिनाको जंगलजस्तो । स्कुल रित्तोरित्तो लागेपछि मालीले दृढ प्रतिज्ञा गरिन्— जसरी पनि स्कुलको कक्षाकोठामा छोरीहरू ल्याइछोड्छु ।

त्यो प्रतिज्ञा कुन छन्दमा थियो ?
त्यो पहिलो प्रयासमा कुन विम्ब र कुन प्रतीकको लाली थियो ?
के त्यो सत्कर्मको पहिलो पाइला कुनै कविताभन्दा कम थियो ?
त्यसैले त भनेको— लक्ष्मी माली कविता लेख्छिन् किनभने उनले कविता बाँचिन् । उनका लागि कविता ‘विकृति, विसंगतिविरुद्ध लड्ने हतियार हो । यथास्थितिबाट अगाडि बढ्ने बाटो हो ।’ कविताकोे यही साधारण परिभाषा छ उनीसँग ।

बलेसीमा चुपचाप बसेर स्वैरकल्पनामा रम्नेका लागि जिन्दगी सिमलको भुवा हुनसक्छ । तर, जिन्दगीको जवानीमा गुलाफ सिउरिन चाहनेका लागि भने काँडाको बाटो हिँड्नैपर्छ । त्यो काँडाको बाटो हिँड्ने प्रयत्न गरिन् मालीले पनि । प्रतिज्ञालाई परिणाममा उतार्न उनले कम्मर कसिन् । तर, जण्ड थियो समाज । जरा गाडेर बसेको थियो अन्धो चिन्तन । छोरा र छोरीमा विभेदको पर्खाल लगाउने अन्धो थियो युग । त्यो अन्धो युगमा दृढ संकल्पको धिपधिपे बत्तीमात्र थियो मालीसँग ।

निःशुल्क शिक्षा लागू भइसकेको थिएन । मासिक शुल्क तिरेर पढाउनुपथ्र्यो । छोराको शुल्क तिर्न आएका बाहरूलाई सोध्थिन् उनी, ‘बुवा तपाईंकी छोरी छैन ? ’

‘एक डोको छ’, जवाफ दिन्थे उनीहरू । ‘छोरीलाई पढाउनु पर्र्दैन ? ’ भनी सोध्दा ‘किन पढाउने टाढा पठाउने जातलाई ? ’ भन्थे कोही । ‘छोरी पढाए तपाईंले हाम्रो घाँसदाउरा गर्दिनुहुन्छ ? ’ ओठे जवाफ दिन्थे कोही ।

‘म पनि कम थिइनँ । छोराछोरीलाई पक्षपात गर्ने ? पाप लाग्छ तपाईंलाई भनेर कराउँथे ।’ ओठमा हल्का मुस्कान भरेर सम्झिन्छिन् उनी । अहिले सम्झँदा सम्झना पनि रमाइलो लाग्छ । उनको त्यो प्रयासले विस्तारै काम गर्न थाल्यो । विस्तारै छोरीहरू स्कुल आउन थाले । बाआमाको रहरले होइन । लक्ष्मी मालीको करले ।

‘अचेल त स्कुलमा फिस तिर्न जान पनि दिक्क लाग्छ । त्यो नयाँ आएकी मास्टर्नी साह्रै किचकिच गर्छे । छोरी पढाउन ल्याएन भनेर । आ... अर्को वर्ष त छोरीलाई पनि राखिदिन्छु ।’ चियापसलमा यसैगरी गुनासो पोख्थे रे बाहरू । करैले भए पनि छोरीहरू स्कुल आए । लक्ष्मी मालीको ३७ वर्षे शिक्षक जीवनपछि प्रधानाध्यापकका रूपमा ०६९ सालमा सेवानिवृत्त हुँदा त्यस स्कुलका विद्यार्थीमध्ये ६३ प्रतिशत छोरी थिए ।

छोरीहरू स्कुल आए र चुँडियो डोको नाम्लोको नियति । छोरीहरू कक्षाकोठा प्रवेश गरे र समय बनिरहेन बन्धकी । छोरीहरूले किताब फर्काए र चिन्न थाले आफ्नै जिन्दगी । अनि छोरीहरूमा आएको त्यो परिवर्तन लेखिन् मालीले कवितामा—
‘सानुमाया रमाउँदै भन्छे
दिदी आरुको फूल कति राम्रो
पहिले पनि देखेको हो
आरुका, नासपातीका फूलहरू
तर कहिल्यै राम्रो लागेन
अचेल सानुमाया विद्यालय जान्छे
किताबहरू पढ्छे
साथीसँग खेल्छे, ठट्टा गर्छे
.....
जब घाँस, दाउरा, निगुरो, तरुल खोज्नबाट मुक्त भई
जब भीरबाटोमा मल बोक्नबाट मुक्त भई
भोक र बासी मकैबाट मुक्त भई
उसलाई थाहा भो
आरुका फूलहरूको रङ सेतो र गुलाबी हुन्छ ’
(सानुमाया)
छोरीहरू स्कुल आए । संघर्षको कथा यत्तिकैमा टुंगिएको भए सायद कथा अर्कै हुन्थ्यो । तर, मास्टर्नीको चित्त बुझाउन छोरीलाई स्कुल पठाउने बाहरूको सोच फेरिएको थिएन । जुत्तामोजा लगाएर चिटिक्क परेर भाइ स्कुल आउँदा दिदीको खुट्टा नांगै हुन्थ्यो । जुत्ता लगाए पनि पालिस हुन्थेन । ‘तैंले पालिस नलगाए पनि हुन्छ भनेर बाले भन्नुभयो’, मलिनो हुन्थे छोरीहरू । भाइको भागमा मीठो खाजा राख्दिने बाआमाले छोरीलाई पनि भोक लाग्छ भन्ने सोच्न पनि सोच्दैनथे । पलपलमा लड्नुपथ्र्यो माली । क्षणक्षणमा जुध्नुपथ्र्यो । हो, उनी एक्लै लडिनन् होला । साथ दिनेहरूले दिए होलान् । तर, सुरु उनैले गरेकी थिइन् आफ्नो भागको लडाइँ । त्यसैल त नैकाप आसपासका छोरीहरूका निम्ति गड मदर हुन् उनी ।
अँ गड मदर । उनकै विद्यार्थीले दिएको पद ।
अहिले जागिरे जीवन बिताइरहेकी एक छात्रा आइपुगिछन् उनकोमा । भनिछन्— म्याडम तपाईं त गड मदर हो मेरो । गड मदर । घटना सम्झाइन् आफैंले । आठ कक्षा पढ्दै गर्दा ती छात्राका बाले नपढाउने निधो गरेछन् । बिहे गरी पठाइदिन खोजेछन् । अनि लक्ष्मी माली गइछन् घरैमा । सोधिछन्— छोरी खोइ ? स्कुल किन नआको ?
त्यही एउटा वचनले गरेछ काम । र, फेरिएछ ती छात्राको जिन्दगी । स्नातकोत्तर गरेर जागिरे भएकी छन् उनी । आफ्नै खुट्टामा जिन्दगी दौडाइरहिछन् ।
जीवनका अनेकन गल्छेडाहरू पार गरेर आएपछि लक्ष्मी माली आफैंलाई सोध्छिन्— कहाँबाट आयो यति धेरै तागत ? कहाँबाट आयो त्यो हिम्मत ? कहाँबाट आयो त्यो चेतना ? जवाफ पाउन पल्टाउनुपर्छ जिन्दगीकै एल्बम ।

जान्ने हुँदादेखि नै आमा नदेखेकी लक्ष्मी कति बेला आमाविहीन भएकी थिइन् आफैंलाई पत्तो छैन । घरमा उनी एक्ली छोरीमान्छे थिइन् । बा र दाइहरूले हुर्काए । ६ वर्षको उमेरमा संकटा प्राविबाट सुरु भएको उनको स्कुले जिन्दगी पद्मकन्या क्याम्पसको स्नातकमा पुगेर टुंगियो । स्कुलभन्दा बाहिरको संसार चिनाउने पहिलो गुरु भने उनकै साइँला दाइ थिए— तीर्थ माली । कुनै बेला संकटा फुटबल क्लबका नाइके । प्रगतिशील विचारका धनी । उनैले त हो लक्ष्मीको मस्तिष्कमा समाजका निम्ति केही गर्नुपर्छ भन्ने विचार रोपिदिएको ।

माध्यमिक तहमै पढ्दा किताब पढ्ने बानी लागेको थियो मालीलाई । तर, कस्तो छुट्याउन सक्दिनथिन् । १० कक्षा पढ्दा कतैबाट गुल्सन नन्दाको किताब ल्याएकी थिइन् उनले । ‘यस्तो नपढ्नु यो पढ्नु’ भनेर प्रेमचन्दका किताब दिएका थिए दाजुले ।

पद्मकन्याको वातावरणले क्रान्तिकारी बनाएको थियो उनलाई । अंगुरबाबा जोशी प्रमुख रहेको क्याम्पस अनुशासनमा कडा थियो । तर, सिकाउँथ्यो धेरै पनि । र, त्यहीँ थिइन् सहाना प्रधान पनि । कम्युनिस्ट नेत्री एक शिक्षिकाका रूपमा । सुरुदेखि नै प्रगतिशील खेमामा लागिन् माली । स्ववियु सदस्य पनि भइन् । २०२८ सालको ‘नयाँ शिक्षा’ विरुद्धको आन्दोलनमा सक्रिय सहभागी भइन् । त्यति बेलादेखि नै लेखनमा पनि सक्रिय थिइन् उनी । हरिभक्त कटुवाल, भूपि शेरचनहरूका कविता सुन्न जान्थिन् । पारिजातसँग त दोस्ती नै थियो । त्यो दोस्तीका सूत्रधार थिए— स्नेह सायमी । उनै सायमी पछि बने जिन्दगीकै दोस्त।

रमाइलो छ उनको र स्नेहको दोस्ती । दोस्तीबाट बढेर बसेको प्रेम । प्रेमबाट बनेको परिवार । तर, अचम्म ! आजसम्म पनि एकले अर्कालाई ‘म तिमीलाई प्रेम गर्छु’ भनेकै छैनन् । मनले मनलाई चिनेपछि, आँखाले आँखासँगै बात मारेपछि, हातले हात समातेर हिँडेपछि ती प्रेमको अंग्रेजी तीन शब्द नबोले पनि प्रेम हुँदो रहेछ ।

नैकाप स्कुलमै स्वंयसेवा गर्न आएका स्नेहको सक्रियताले तानेको थियो रे लक्ष्मी मालीलाई । जुझारु र हक्की शिक्षिकाका रूपमा देखेपछि मन परेको थियो रे स्नेहलाई । सँगसँगै कार्यक्रमहरूमा जान थालेपछि बढेको थियो रे निकटता । ‘त्यति बेलोको प्रेम अनौठो थियो’, गुलाफी सम्झना ताजै छ लक्ष्मीसँग, ‘चाहेको बेलामा भेट नहुने । कहिले त महिनौं नहुने । भेटेपछि रमाइलो लाग्ने । भेट्दै गरौं न भनिरहने ।’

समय अनौठो थियो । शब्द घुमाउरो थियो तर भाव प्रस्ट थियो । वचन पक्का थियो । माया गाढा थियो । भरिलो साथ थियो । हरेक संघर्षमा दरिलो हात थियो । त्यसैले त जीवनमा थुप्रै कविता लेखेर र कविताजस्तो जिन्दगी बाँचेर फेरि पनि कविता नै लेखिरहिछन् लक्ष्मी माली ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.