हेटौंडा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीलार्इ
काठमाडौंः हेटौडा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ। शनिबार हेटौंडामा भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो।
खेलको १८ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। भरतले दिपक गुरुङको उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। आर्मीका लागि खेलको ८४ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई २–० को जित दिलाए।
खेलको १९ औं मिनेटमा ओलावाले दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो। उपाधिसँगै विजेता आर्मीले नगद पाँच लाख रुपैयाँ हात पारेको छ भने उपविजेता मनाङले तीन लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो।
प्रतियोगितामा आर्मीका सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट गोल रक्षक पनि आर्मीकै विकेश कुथु, डिफेन्डर मनाङका विराज महर्जन, मिडफिल्डर आर्मीका सन्तोष तामाङ, फरवार्ड आर्मीका भरत खवास र प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए। उनीहरुले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरे।