संसद चल्न नदिएर एमालेले अलोकतान्त्रिक चरित्र देखायोः महत
बैतडीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले संविधान संशोधन विधेयकलाई संसदमा छलफलका लागि प्रस्तुत गर्न दिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस बैतडीले शनिबार सदरमुकाममा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै महतले सवै विषयको टुंगो संसदमा छलफल गरेरै लगाउनु पर्ने बताए।
उनले भने,‘लोकतन्त्र र संसदीय प्रणालीमा विश्वास गर्ने पार्टीले संशोधन विधेयकबारे संसदमै छलफल हुन दिनुपर्छ। पारित गर्ने या नगर्ने संसदले तय गर्छ। संसद अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक चरित्र देखाएको छ।’
संविधान संशोधनका विषयमा असहमति भए संसदबाटै बहुमत पुर्याएर अस्वीकृत गर्न उनले एमालेलाई चुनौती दिए। ‘संशोधन विधेयकबारे सबै पार्टीभित्र मतभिन्नता हुन सक्छ। तर यसको छिनोफानो आन्दोलन होइन संसदीय प्रक्रियाबाटै हुनुपर्छ,’उनले भने,‘संविधान कार्यान्वयनका लागि सबैको सहमतिमा अघि बढ्नु आवश्यक छ।’
महतले स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझाइसकेकाले नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन हुने बताए। उनले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनका तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए।