काँकडभिट्टा गोल्डकपको उपाधि झापा एघारलाई
झापाः काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको छ । उपाधिसँगै उसले रु चार लाख एक हजार पुरस्कार जितेको छ।
काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रको आयोजनमा आज काँकडभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा झापा– ११ ले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपविजेता एपिएफले रु दुई लाख एक हजार पुरस्कार पाएको छ ।
खेलको ७७औँ मिनेटमा एपिएफका टोप विष्टले आत्मघाती गोल गरेका थिए । नब्बेऔँ मिनेटमा झापा–११ का तर्फबाट कर्ण लिम्बूले गोल गरेका थिए भने खेलको अन्तिम समयमा लिम्बूले नै अर्को गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी झापा एघारका योगेश गुरुङ घोषित भए । उहाँले रु २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताभर सर्वाधिक गोल गरेका झापा एघारकै कर्ण लिम्बूले रु १५ हजार पुरस्कार पाउनुभयो ।
ए डिभिजनका खेलाडी सहभागी उक्त प्रतियोगिता पुस १६ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा आठवटा टिम सहभागी थिए । रासस