सरकारी विद्यालयमा दुई लाख विद्यार्थी घटे

सरकारी विद्यालयमा दुई लाख विद्यार्थी घटे

काठमाडौं: सरकारी स्कुलमा एक वर्षमा पौने दुई लाख विद्यार्थी घटेका छन् । शिक्षा विभागले तयार पारेको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थी प्राथमिक तहमा घटेका छन् ।

विभागको प्रतिवेदनअनुसार गत वर्ष मुलुकभरका सामुदायिक स्कुलमा कक्षा एकदेखि दससम्म ५९ लाख ३० हजार सात सय ६२ जना विद्यार्थी भर्ना भएका थिए । चालू शैक्षिक सत्रमा यस्ता विद्यार्थीको संख्या ५७ लाख ५७ हजार सात सय ४४ मात्र छ । यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष एक लाख ७३ हजार १८ जना विद्यार्थी घटेका छन् ।

गत वर्ष सामुदायिक स्कुलमा कक्षा एकदेखि पाँचसम्म ३६ लाख ११ हजार चार सय २६ जना विद्यार्थी भर्ना भएका थिए । यस वर्ष ३४ लाख ५० हजार २३ जनामात्र भर्ना भएका छन् । यस हिसाबले प्राथमिक तहमा मात्र एक वर्षमा एक लाख ६१ हजार चार सय तीनजना विद्यार्थी घटेको देखिन्छ ।

विभागका अनुसार कक्षा ६ देखि आठसम्म गत वर्ष १५ लाख ६१ हजार ६ सय १६ जना भर्ना भएकोमा चालू शैक्षिक सत्रमा यही तहमा १५ लाख ४० हजार ७२ जनामात्र भर्ना भएका छन् । यो तहमा २१ हजार ५ सय ४४ जना विद्यार्थी घटेका छन् । कक्षा नौ र दसमा गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीसंख्या बढेको छ । यो तहमा गत वर्ष सात लाख ५७ हजार ७ सय २० जना विद्यार्थी भर्ना भएकोमा यस वर्ष करिब १० हजार बढेर सात लाख ६७ हजार ६ सय ४९ जना विद्यार्थी पुगेका छन् । मुलुकभर ३३ हजार सामुदायिक विद्यालय छन् ।

विद्यालय भर्ना हुने विद्यार्थीको तथ्यांक संकलनमा गरिएको कडाइ र प्रविधिको प्रयोग गरेर यस्ता काम गरिएका कारण विद्यार्थी संख्या घटेको शिक्षा विभागको दाबी छ । विगतका वर्षमा विभागले सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या र उनीहरूको विवरण कागजमा लेखेको पत्रका आधारमा अद्यावधिक गर्ने गरेको थियो ।

गत वर्षदेखि भने हरेक विद्यालयले विद्यार्थीको पहिचान खुल्ने गरी सीडीमा राखेर जिल्ला शिक्षा कार्यालयमा तथ्यांक बुझाउने व्यवस्था गरिएको विभागका निर्देशक अणप्रसाद न्यौपानेले बताए । 'विद्यार्थीको अनुहार देखिने गरी सबै विवरण भरेर जिल्ला शिक्षा कार्यालयमा पठाउन भनिएको छ । यसअघि सम्बन्धित विद्यालयले विद्यार्थीको नाम र संख्यामात्र जोडी एउटा कागजमा लेखेर दिने गरेको थियो', न्यौपानेले भने, 'यस विधिले गर्दा फर्जी विद्यार्थीको नाम लेखेर पठाउने प्रवृत्तिमा पनि कमी आएको छ ।'

जन्मदरमा आएको कमीका कारण पनि विद्यालय भर्ना हुने विद्यार्थी घटेको विभागको दाबी छ । विभागका उपसचिव देवीराम अर्यालले भने, 'सबैभन्दा धेरै विद्यार्थी प्राथमिक तहमा घटेका छन् । जन्मदरमै आएको कमीका कारण विद्यार्थी घटेको यस तथ्यांकले स्पष्ट पार्छ । त्यसबाहेक निजी स्कुलमा भर्ना हुने विद्यार्थी बढेर पनि असर परेको हुनसक्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.