उपत्यकामा दुई महानगरपालिका
काठमाडौं: राजधानी उपत्यकाभित्र दुई महानगरपालिका, १५ नगरपालिका र तीन गाउँपालिका रहने भएका छन् । साबिक काठमाडौं महानगरपालिकासँगै ललितपुर उपमहानगर पनि महानगरपालिका बन्ने भएको छ भने उपत्यकामा एउटा पनि उपमहानगरपालिका रहने छैनन् ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मुलुकभर ७ सय १९ वटा स्थानीय सरकार (तह) निर्धारण गरी सरकारलाई बुझाएको प्रतिवेदनमा काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ महानगरपालिका बनाउन सुझाव दिएको छ । आयोग अध्यक्ष बालानन्द पौडेलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको एक हजार ७ सय १८ पृष्ठको प्रतिवेदनमा १२ वटा उपमहानगरपालिका सिफारिस गरिए पनि उपत्यकाभित्र उपमहानगरपालिका नहुने भएको छ ।
काठमाडौं महानगरभित्र ३२ वटा वडा हुनेछन्, यसअघि ३५ वटा थिए । कीर्तिपुर नगरपालिकामा दक्षिणकाली नगरपालिका गाभिएको छ भने कागेश्वरी मनोहरा नगरपालिकामा शंखरापुर नगरपालिका गाभिएको छ ।
काठमाडौंभित्र गोकर्णेश्वर, चन्द्रागिरि, टोखा, तारकेश्वर, नागार्जुन र बूढानीलकण्ठ नगरपालिका छन् । यी सबै नगरपालिकाको केन्द्र तिनैको कार्यालयलाई तोकिएको छ । स्थानीय विकास अधिकारी गोपाल अधिकारीका अनुसार थप नगरपालिका घोषणा हुनुअघि काठमाडौंमा एक महानगरपालिका, कीर्तिपुर नगरपालिका र ५७ गाउँ विकास समिति थिए ।
आयोगको प्रतिवेदनमा ललितपुर महानगरभित्र २९ वटा वडा बनाउन सिफारिस गरिएको छ । यसअघि २२ वडा भएको ललितपुर नगरपालिकामा हरिसिद्धि, धापाखेल र सुनाकोठी गाविस थपेर उपमहानगरपालिका बनाइएको थियो । हाल खोकना, सैंबु र बुङ्मती गाविस थपेर २९ वटा वडाको महानगरपालिका बनाइएको हो । गोदावरी र महालक्ष्मी दुई नगरपालिका बनाइएको छ ।
महालक्ष्मीको केन्द्र सोही नगरमा हुने गरी जस्ताको तस्तै राखिएको छ भने गोदावरी नगरपालिकामा बज्रबाराही र कार्यविनायक नगरपालिकाका साबिकका छम्पी र डुकुछाप गाविसलाई मिसाइएको छ । गोदावरी नगरपालिकाको केन्द्र बज्रबाराहीमा राखिएको छ । कोन्ज्योसोम, बागमती र महांकाल गरी तीनवटा गाउँपालिका बनाइएको छ ।
कोन्ज्योसोम गाउँपालिकामा साबिकका नल्लु, मारदेउ, दलचोकी, चौघरे र शंखु गाविस समेटिएका छन् भने केन्द्र चौघरेलाई बनाइएको छ । बागमती गाउँपालिकामा साबिकका गिन्द्री, आस्राङ, प्युटार, माल्टा, इकुडोल, भट्टेडाँडा र भुसेल गाविस गाभिएका छन् भने केन्द्र भट्टेडाँडालाई तोकिएको छ ।
महांकाल गाउँपालिकामा साबिकका बुखेल, मानिखेल, गोटीखेल, चन्दनपुर, कालेश्वर र ठूलादुर्लुङ गाविस राखिएका छन् भने केन्द्र गोटीखेल हुनेछ । स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालका अनुसार ललितपुरमा यसअघि ललितपुर उपमहानगरपालिका, महालक्ष्मी, बज्रबाराही, गोदावरी, कार्यविनायक गरी चार नगरपालिका र १९ वटा गाविस थिए ।
देशभर १२ वटा उपमहानगरपालिका सिफारिस गरिए पनि काठमाडौं उपत्यकाभित्र एउटा पनि उपमहानगरपालिका नहुने भएको छ ।
भक्तपुर र मध्यपुर नगरपालिका जस्ताको तस्तै राखिएको छ भने केन्द्र पनि हालको नगरपालिका भवनलाई नै तोकिएको छ । स्थानीय विकास अधिकारी ध्रुवराज कोइरालाका अनुसार यसअघि यी दुई नगरपालिकाबाहेक १६ वटा गाविस थिए ।
चारचारवटा गाविस गाभेर सूर्यविनायक, चाँगुनारायण, नगरकोट र अनन्तलिंगेश्वर नगरपालिका बनाइएको थियो । संघीयताको ढाँचामा जान आयोगले नगरकोटलाई चाँगुनारायण नगरपालिकामा गाभेर खरिपाटीलाई केन्द्र बनाउने प्रस्ताव गरेको छ । अनन्तलिंगेश्वरलाई सूर्यविनायक नगरपालिकामा गाभेर सूर्यविनायकलाई केन्द्र तोक्न सिफारिस गरिएको छ ।
प्रधानमन्त्री दाहालले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र मुख्यसचिव डा. सोमलाल सुवेदीलाई प्रतिवेदन अध्ययन गरी सुझाव दिन निर्देशन दिएका थिए । सुझावपछि मन्त्रिपरिषद्मा छलफल गरी राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना छ । राजपत्रमा प्रकाशित भएपछि गाउँपालिका र नगरपालिकाबाट सेवा प्रदानको काम सुरु हुने स्थानीय विकास सचिव केदारबहादुर अधिकारीले बताए ।