एमालेसहितको गठबन्धनको निर्णय : आज पनि संसद चल्न नदिने
काठमाडौं : नेकपा एमाले नेतृत्वको नौ दलीय विपक्षी गठबन्धनले आइतबार बस्ने व्यवस्थापिका संसदको बैठक पनि चल्न नदिने निर्णय गरेका छन्।
एमालेको नेतृत्वमा आइतबार बिहान बसेको प्रतिपक्षी नौ दलको बैठकले सत्तारुढ दलले सहमतिका लागि कुनै पहल नगरेको भन्दै यथास्थितिमा संसद बैठक चल्न नदिने निर्णय गरेको हो। संसद्को बैठक अपरान्ह १ बजे बोलाइएको छ।
सरकारले आजको बैठकमा संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ। तर अहिलेसम्म दलहरुबीच कुनै सहमति भएको छैन। सहमतिबिना बलपूर्वक संसद् चलाउन खोज्दा भिडन्त हुने संभावना छ।
नौ दलीय गठबन्धनको बिहानको बैठकमा सहभागी एमाले सचेतक भानुभक्त ढकालले भने -'यथास्थितिमा संसद् चल्न दिदैनौं ।संविधान संशोधनको विषय बाहेकका एजेण्डा आए चल्न दिने नत्र अवरोध जारी राख्ने निर्णय भएको छ ।'
गत १९ गते सभामुखले बोलाएको शीर्ष बैठकमा पुस २४ गतेसम्म सहमति खोज्ने प्रतिवद्धता दलका शीर्ष नेताहरुले व्यक्त गरेपछि संसद् सूचना टाँगेर पाँच दिनका लागि स्थगित गरिएको थियो।
रकारले मधेसलाई सम्बोधन गर्न मंसिर १४ गते संविधान संशोधन दर्ता गरेपछि एक महिनादेखि संसद् अवरुद्ध छ। संविधान संशोधन फिर्ता लिनुपर्ने र चुनाव घोषणा हुनुपर्ने अडान राख्दै एमालेले संसद् चल्न दिएको छैन।