हिमपात हुँदा किसान खुसी
जुम्लाः जुम्लालगायत कर्णालीका जिल्लाहरुमा लामो समयपछि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले नेपालको कर्णाली लगायत हिमाली क्षेत्रमा हिमपात भएको हो । हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोटको उच्च भेगमा भने भारीमात्रमा हिमपात भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
कार्यालयका अनुसार जुम्ला सदरमुकाममा चार सेन्टिमिटर हिउ परेको छ भने, ९ दशमलव ४ मिलिलिटर पानी परेको छ । सदरमुकामको आइतबारेको तापक्रम शुन्य दशमलव ३ सेल्सीयस भएपनि भोलीदेखि क्रमश चिसा बढ्दै जाने कार्यालयले जनाएको छ । आइतरबार दिनभर मौसम बदली भइ उच्च भेगमा हिउँ पर्ने र भोलीदेखि मौसम सफा रहने कार्यालयका प्रमुख एपी चौरासियाले बताए ।
कर्णालीको दुई हजार पाँच मिटर भन्दा माथिको भेगमा एक फिट भन्दा बढी हिउँ वर्षा भएको छ । जुम्लाकै उच्च भेग डिल्लीचौर क्षेत्रमा १५ सेन्टीमिटरसम्म हिउँ वर्षा भएको उनले बताए ।
ढिलै गरी हिउँपात भएपनि हिउँमा पानीको मात्रा धेरै भएकोले किसानहरुलाई फाइदा दिने बताइएको छ । मंसिरको अन्तिम साता हिउँ पर्ने भएपनि यसपाली ढिलो गरी कर्णालीमा हिउँ वर्षा भएको हो । हिउँसँगै पानी पनि परेकोले किसानहरु खुसी भएका छन् ।
हिउँदे बाली र स्याउ लगायतका फलफूलका विरुवालाई सिंचाई गर्नको लागी सहज हुने भन्दै खुसी भएका हुन् । शनिबार दिनभर चिसो बढेपछि रातिबाट मात्र हिमपात हुन सुरु भएको थियो । आज विहानैदेखि चिसोका कारण पसलमा आवत जावत गर्ने मानिसहरुको चहल पहल भने घटेको छ । अहिले पनि जुम्लामा हिमपात भईरहेको छ ।