दोस्रो स्पष्टीकरणमा के लेखे पुर्नर्निमाण प्राधिकरणका सीईओ ज्ञवालीले ?
काठमाडौं: पुर्नर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्नो स्पष्टीकरण पेस गरेका छन् ।
अघिल्लो पटक ज्ञवालीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रो पटक स्पष्टीकरण सोधेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिए ।
ज्ञवालीको स्पष्टीकरण पत्रमा विभिन्न निकायको समन्वय, अनुदान वितरण, पुनर्वासलगायत विषय समेटिएको बताइएको छ । सचिव थपलियाले स्पष्टीकरण पत्र आफूले बुझेर मुख्य सचिव डा सोमलाल सुवेदीलाई समेत बुझाइसकेको जानकारी दिएका छन् ।
भूकम्पपछिको पुर्नर्निमाणको काम चित्तबुझ्दो नभएको जनाउँदै सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । भूकम्पपीडित जनताले प्रभावकारी रुपमा राहत नपाएको, पुर्नर्निमाणको कामले गति लिन नसकेको र प्राधिकरण भूकम्पपीडित जनतालाई सेवा दिनभन्दा पनि साना मसिना काममा मात्रै केन्द्रित भएको जस्ता आरोप लाग्दै आएको थियो । रासस