क्यासियोका नयाँ किबोर्ड बजारमा
काठमाडौं: लामो समयदेखि विभिन्न विद्युतीय सांगीतिक उपकरणहरू उत्पादन गर्दै आएको जापानिज कम्पनी क्यासियोले नेपाली बजारमा नयाँ मोडेलका किबोर्ड प्रवेश गराएको छ । कम्पनीले राजधानीमा एक सांगीतिक कार्यक्रम गरी किबोर्डको बिक्री सुरु गरेको हो ।
सांगीतिक उत्पादनलाई स्तरीय बनाइ समयको आवश्यकता अनुसार निर्माण गरिएका नयाँ मोडेलका किबोर्डले संगीत बजारलाई व्यावसायिक बनाउने कम्पनीको दाबी छ । कार्यक्रममा उपस्थित संगीतकर्मी, संगीत प्रशिक्षकका साथै सम्बन्धित सबैलाई कम्पनीले आफ्ना नयाँ मोडेलका किबोर्डबारे जानकारी गराएको थियो ।
संगीतको कुनै भाषा हुँदैन, न त यसलाई कुनै सीमानाले रोक्न सक्छ । सायद त्यसैले नै होला संगीत प्रायः सबैको रुचिमा पर्छ । नेपालमा संगीतको विकासक्रमले पनि धेरै नै गति लिइसकेको छ । नेपाली म्युजिकमा नयाँ किबोर्डको भूमिका महत्वपूर्ण हुने कम्पनीको विश्वास छ ।