संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन अावश्यक: कोइराला
पोखरा: नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्।
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको सोमबार शिलान्यास गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा काँग्रेस रहेको बताए।
देशमा चाँडै नै स्थानीय तहको निर्वाचन हुने बताउँदै कोइरालाले त्यसका लागि क्रियाशील बन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए। आर्थिक समृद्धि र विकास अब देशको प्राथमिकता रहेकामा उनको जोड थियो । रासस