वैशाखमसम्म निर्वाचन हुन्छः प्रधानमन्त्री
चितवनः प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण तथा समुद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले निर्वाचन गर्ने विषयमा दलहरुको बीचको अन्योलता पनि हटिसकेको बताए ।
संविधान संशोधनका विषयमा भने राजनीतिक दलका बीचमा वातावरण बनिनसकेको भन्दै उनले बताए । संविधान घोषणाको समयमा तीन दलका बीचमा संविधान संशोधन गर्ने विषयमा सहमति गरिएको उनको भनाई थियो ।
‘संविधान घोषणा गर्दा संविधान संशोधन हुन्छ भन्ने उद्घोष गरिएअनुरुप अहिले प्रस्ताव गरिएको हो ।’ उनले भने । मधेसी, थारुलगायतका माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक भएको भन्दै उनले सबैको स्वीकार्यता बढाउन संविधान संशोधन आवश्यक परेको बताए ।
संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउँदै प्रधानमन्त्री दाहालले यतिबेला देश राजनीतिक इतिहासको विशेष मोडमा रहेको बताए ।
संविधान कार्यान्वयनका लागि सबै जिम्मेवार भएकाले सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए । चितवनको विकासको गति तीव्र रुपमा अगाडि बढाउन आफू लागेको भन्दै उनले छिट्टै विशेष प्याकेजको घोषणा गर्ने बताए ।रासस