पसल फोरेर सुन चोर्ने पक्राउ
परासीः कावासोतीको मध्यविन्दु सुनचाँदी पसल फोरेर नौ लाख बराबरको १८ तोला सुनसहित नगद चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कावासोती–१३ पुरानो कावासोतीका निसान परियारसहित चारजना रहेको इलाका प्रहरी कार्यालय कावासोतीका नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । उनीहरुले आईतवार राती पसलको ताला फोडेर सुनका गरगहना र नगद तीन हजार चोरी गरेका थिए ।
नायब उपरीक्षक थापाका अनुसार बजारमा हिडिरहेका परियारलाई शंकाको आधारमा सोमबार पक्राउ गरिएको हो । चोरी गरेको सुन परियारले घरमा लुकाएर राखेका थिए । अनुसन्धान भईरहेकाले उनीसँगै पक्राउ परेका अन्य तीन जनाको नाउँ भने प्रहरीले बताएको छैन ।
पक्राउ परेका परियार एक पटक लागूऔषध र तीन पटक सार्वजनिक मुद्दामा सजाय पाईसकेका हुन् । उनी दुई महिनाअघि मात्र जेलबाट आएका थिए । ‘परियार बाहिर आउने बित्तिकै चोरीका घटना बढेका हुन्, नायब उपरीक्षक थापाले भने,‘यसअघि कावासोती क्षेत्रमा चोरीका घटना भएका थिएनन् । ’ परियार पक्राउ परेपछि त्यस क्षेत्रमा चोरीका घटना नहुने प्रहरीले विश्वास लिएको छ ।