‘न्यायालय विवादित भए न्याय असम्भव’
काठमाडौंः पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले न्यायपालिका विवादमुक्त भएमात्रै निष्पक्ष न्याय सम्भव हुने बताएका छन्। लयर्स फोरम नेपालले प्रकाशन गरेको त्रैमासिक म्यागेजिन भर्डिक्टको सोमबार विमोचन कार्यक्रममा उनले न्यायाधीशलाई मात्र औंला ठड्याउनुभन्दा समग्र न्यायिक निकायलाई स्वच्छ बनाउनु पर्ने बताए।
उनले न्याय क्षेत्रलाई कस्तो बनाउने भन्नेमा कानुन व्यवसायीको भूमिका प्रमुख रहने भन्दै उनीहरुलाई निष्पक्ष न्यायका पक्षमा उभिन सुझाव दिए। ‘कानुन व्यवसायी असल र सक्षम भएमात्र सक्षम न्यायाधीश आउन सक्छन्,‘उनले भने,‘न्यायाधीशसलाई सिकाउने कानुन व्यवसायीले नै हो।’
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले न्यायपालिका जिम्मेवार र स्वच्छ नभए मुलुकमा विकृति र विसंगति बढ्ने बताए। उनले न्यायापालिकामा विचनल आए त्यसलाई खबरदारी गर्ने काम सञ्चार क्षेत्रले गर्नुपर्नेमा जोड दिए।
लयर्स फोरम नेपालका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति अधिवक्ता नारायणप्रसाद दुवाडीले न्याय क्षेत्रको विकास र सुधारका लागि म्यागेजिनका माध्यमले खवरदारी गर्ने बताए।
कानुनी क्षेत्रका कमी कमजोरी औंल्याएर प्रजातान्त्रिक रूपमा न्याय दिलाउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रकाशन सुरु गरिएको जानकारी उनले दिए। म्यागेजिनमा कानुनी प्रक्रिया र यसको असरका सम्बन्धमा अनुसन्धनात्मक लेख समेटिएका छन्।