एजेन्डा बिहीन दलका कारण मुलुकमा चौतर्फी हमलाः ओली
विराटनगरः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक एजेन्डबिहीन अन्य दलका कारण मुलुक चौतर्फी आक्रमणको सिकार बन्दै गएको बताएका छन् ।
विराटनगरमा सोमबार एमाले मोरङको ८ औं जिल्ला अधिवेशन उद्धघाटन गर्दै ओलीले देश बिकास र राजनीतिको एजेन्डाबिहीन दलका कारण मुलुकमा अहिले चौतर्फी हमला भइरहेको बताए । ‘मुलुकलाई बाहिरी तथा भित्री शक्तिले निरन्तर रुपमा हमला गरिरहेका छन्,’ उनले भने, ‘त्यस्ता हमलाको विरुद्धमा उभिने मुलुकमा एउटा मात्र शक्ति एमाले हो ।’
नेपालको राष्ट्रिय राजनीतिको मियो एमाले नै भएको दावी गर्दै ओलीले मुलुक र एमालेलाई खत्तम बनाउन देश बाहिर र भित्र पनि मोर्चाबन्दी भइरहेको बताए ।
‘मुलुकलाई अप्ठेरो पार्ने काम त देश भित्र र बाहिरका शक्तिबाट एकै पटक भएकै हो,’ उनले भने, ‘मुलुक बचाउनु पर्छ भनेर लडिरहेको एमाले जस्तो मजवुत शक्ति विरुद्ध संसारका मैहुँ भन्नेहरु घेराबन्दी गर्न लाग्दा देश भित्रैकाले सहयोग गरिरहेका छन् ।’
एमाले नभएको भए अहिले विदेशी शक्तिहरुले टाउको टेकीसक्ने उनको कथन छ । देश विकास र राजनीतिक एजेन्डा बोकेको एमाले जस्तो एउटा शक्तिका अगाडि अरु दलहरु सिनेमाको सिन जस्तो सखाप हुने ओलीको चेतावनी छ ।
कुनै राजनैतिक एजेन्डा नै नभएका कारण त्यसको फाइदा बाहिरी शक्तिहरुले उठाउँदा सहयोगीको भूमीका निर्वाह गर्नु बाहेक बैचारिक हिसावमा कुहिरोमा हराएका काग जस्तै रहेका अरु दलहरुसंग कुनै विकल्प नहुने उनको भनाइ छ ।
उनले अन्य दलहरु आर्थिक, सामाजिक र सांस्कृतिक प्रणालीका हिसावमा पनि पारदर्शी नभएको बताए । पारदर्शीपना नभएकाले भाषा, क्षेत्र र जातका नाममा द्धन्द्ध उद्योग मच्चाएर त्यो उद्योग फस्टाएपछि व्यवस्थापनलाई व्यवसाय बनाउने दलहरु मुलुकमा हावी हुँदै जाँदा त्यस्ता षडयन्त्रको सिकार नेपाली जनता हुनु परिरहेको बताउँदै ओलीले भने, ‘एमाले विचारमा मात्र हैन सांगठनिक देखि लिएर सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा समेत प्रष्ट छ ।’ ओलीले मुलुक र एमाले भित्र भइरहेको हमलाको प्रतिकार गर्न देशभक्त, संविधान पक्षधर र प्रगतिशीलहरुको मोर्चाबन्दी बनाउने उद्धघोष गरे ।
ओलीले जालझेल, छलछाम र षडयन्त्र पूर्वक रुपमा सरकारले संविधान संशोधनको प्रश्ताव संसदमा ल्याएको बताए । रोष्टम भित्र लुकेर मन्त्रीले जालझेल पूर्ण तरिकाले प्रश्ताव टेवुल गरेको बताउँदै उनले भने, ‘एमाले त्यसको विरुद्धमा रहेका कारण कुनै पनि तागतले संशोधन प्रश्ताव पारित हुँदैन ।’ मधेसी दलहरुले एमालेमाथि आवेशयुक्त र उत्तेजनापूर्ण अभिव्यक्ति दिएको भन्दै कार्यकर्तालाई त्यसको प्रतिकार गर्न उनले आग्रह गरे ।
पृथ्वीनारायण शाहको पालादेखि चर्चामा रहेको जाई कटक नगर्नु, झिकी कटक गर्नु भन्ने उखानलाई एमालेले अंगिकार गरेको बताउँदै ओलीले भने, ‘कार्यकर्तामाथि जाई लागेमा एमाले दम दबाएर भाग्दैन । बरु प्रतिवाद गर्न तयार हुन्छ ।’ मधेसी दलहरुलाई थान्कामा रहेर कुरा गर्न सुझाव दिंदै उनले आफ्नो हैसियत अनुसार बस्न चेतावनी दिए ।
ओलीले मधेसमा विकास र समृद्धिको नारा लिएर जान कार्यकर्तालाई आग्रह गरेका छन् । मधेसी नेताहरुले मधेसमा विकास गर्न नचाहेको उल्लेख गर्दै ओलीले कटाक्ष गरे, ‘मधेसको विकासको कुरा गर्यो भने उहाँहरु भाग्नुहुन्छ । किनकी विकास हुँदा जनता धनी हुन्छन्, र हाम्रो जमिनदारी सकिन्छ भन्ने सोच छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यङ्ग्य गर्दै एमाले नेतृत्वको सरकार लोट्रीमा परेको चिट्ठा जस्तो नभएकाले विकासका नयाँ आयाम थालनी गर्न सफल भएको बताए । ओलीले नेपालका कुनैपनि दल एमालेसँग तुलना नहुने र एमालेलाई सँगै उभ्याउँदा उनीहरु कम्मरतिरमात्रै आइपुग्ने दावी गरे ।
नेपाली कांग्रेसका कारण लोकमानलाई हटाउन संसदबाट ढिलो भइएको र संसदलाई सर्वोच्चले उछिनेको उनको भनाइ छ । ‘कांग्रेस विचारले शिथिल पार्टी हो । जुनसुकै निर्णय पनि उ छिटो गर्न सक्दैन,’ ओलीले भने, ‘विचार र नीति नभएकै कारण एमालेले छिटो गर्ने निर्णय उसले दुई महिनामा पछि गर्न सक्दैन । त्यही भएर महत्वपूर्ण र गहन निर्णयमा कांग्रेस संधै पछि पर्छ ।’