२५ कर्मचारी बर्खास्त !

२५ कर्मचारी बर्खास्त !

काठमाडौः सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ ।

निजामती कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयले सरकारका विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा दरबन्दी रहेका २५ कर्मचारीलाई कारबाहीप्रक्रिया अघि बढाएको छ ।

कर्मचारीहरू सरकारले दिएको सुविधाअनुसार छात्रवृत्तिमा जाने र नेपाल नफर्कने निजामती कर्मचारी ऐनविपरीत भएको भन्दै पहिलो चरणमा २५ जनालाई बर्खास्त गर्दै क्षतिपूर्तिसमेत असुलउपर गर्ने तयारी गरेको हो ।

अध्ययन बिदामा गएर सम्पर्कमा नरहेका अन्य कर्मचारीका विषयमा अनुसन्धान जारी रहेको र फेरि कारबाहीप्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ । ‘नेपाल सरकारलाई आएको सुविधाअनुसार छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने अनि बिदा सकिएपछि पनि नफर्कनेलाई कारबाहीप्रक्रिया अघि बढेको छ', सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले अन्नपूर्णसँग भने, ‘अहिले २५ जना त्यस्ता कर्मचारीलाई बरखास्त गर्न सम्बन्धित कार्यालयमा पठाएका छौं ।'

निजामती सेवा ऐनको दफा ६१ को (१) को छ ले बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म अनुपस्थित भए सेवाबाट हटाउन सकिने व्यवस्था गरेको छ ।

निजामती सेवाका कर्मचारी सरकारलाई उपलब्ध छात्रवृत्तिको कोटामा अध्ययन बिदा लिएर विदेश जाने, उक्त समय सकिएपछि बेतलबी बिदा बस्ने र त्यो समय पनि सकिएपछि सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ ।
सामान्यले बर्खास्त गर्ने गरी प्रक्रिया अघि बढाएकोमा शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयदेखि विभिन्न विभागमा कार्यरत विभिन्न तहका कर्मचारी छन् । २०५८ साउन २ देखि २०६० कात्तिक १ सम्म बिदा स्वीकृत गरेर एमफिल अध्ययनका लागि बेलायत गएकी शिक्षा मन्त्रालयकी शाखा अधिकृत गायत्री तिम्सिना अझैसम्म कार्यालयमा उपस्थित भएकी छैनन् ।

त्यस्तै विद्यालय निरीक्षक झलकुमारी पौडेल २०५९ वैशाखमा विद्यावारिधिका लागि जापान गएको अझैसम्म सम्बन्धित कार्यालयमा उपस्थित छैनन् । उनले २०६३ मंसिर ९ गतेसम्म मात्रै बिदा स्वीकृत गराएकी थिइन् ।

त्यस्तै शिक्षा मन्त्रालयकै शाखा अधिकृत नवीनकुमार सिंह अध्ययनका लागि २०६६ कात्तिक २ सम्म बिदा लिएर अमेरिका गएका भए पनि अझै सम्पर्कमा छैनन् ।

शिक्षा मन्त्रालयकै शैक्षिक तालिम केन्द्र तनहुँका शाखा अधिकृत मदन नाथ २०६८ कात्तिक २ सम्म बिदा लिएर अध्ययनका लागि क्यानाडा गएका अझै फर्किएका छैनन् । अमेरिका गएका शिक्षा विभागका कम्प्युटर इन्जिनियर कमलकुमार काफ्लेको पनि अध्ययन र बेतलबी बिदा २०७० माघ १ गते सकिएको छ तर उनी अझैसम्म सम्पर्कमा छैनन् ।

सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत रमेश अधिकारी २०६८ भदौ ३० सम्म बिदा लिएर एमएस्सी गर्न बेलायत गएका थिए । उनी पनि फर्किएका छैनन् ।

त्यसैगरी अस्ट्रेलिया गएका भूमिसुधार तथा व्यवस्था मन्त्रालयका नापी अधिकृत विमलप्रसाद ज्ञवालीको पनि २०७० असार १५ गते दुईबर्से अध्ययन बिदा सकिएको छ तर उनी अझै सम्पर्कमा छैनन् । भूमि व्यवस्था प्रशिक्षण केन्द्रका वरिष्ठ प्रशिक्षक गोविन्दप्रसाद बराल २०६९ चैत ३० गतेसम्म अध्ययन बिदा लिएर पीएचडी गर्न अस्ट्रेलिया गएका थिए । उनी पनि सम्पर्क नगरी उतै भासिएका छन् ।

अस्ट्रेलिया नै गएका भूमि व्यवस्था प्रशिक्षण केन्द्रका अर्का वरिष्ठ प्रशिक्षक देवराज पौडेल पनि अध्ययन बिदा सकेर २०६९ असार ३२ गते फर्कनुपर्नेमा अझै सम्पर्कमा छैनन् ।

अस्ट्रेलिया गएका भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका नापी अधिकृत गिरिराज खनालको पनि ३० जुलाई २०१२ मा अध्ययन बिदा सकिएको छ तर उनी अझै फर्किएका छैनन् ।

यसरी अध्ययनका लागि गएर नफर्कनेमा अर्थ मन्त्रालयका उपसचिव रमेशलाल श्रेष्ठ पनि हुन् । उनी अध्ययन बिदा लिएर अमेरिका गएपछि फर्किएका छैनन् । त्यस्तै छात्रवृत्तिमा अमेरिका गएकी अर्थ मन्त्रालयकै शाखा अधिकृत अप्सरा कार्कीको २०७३ वैशाख ३१ गते दुईबर्से बिदा सकिएको छ । उनी पनि नेपाल फर्किएकी छैनन् ।

अध्ययनका लागि क्यानाडा गएकी अर्थ मन्त्रालयकै विजया आचार्यको बिदा २०७१ असोज २४ गते सकिए पनि अझै सम्पर्कमा छैनन् । जल तथा मौसम विज्ञान विभागकी सिनियर डिभिजन मेकानिक्स अर्चना श्रेष्ठ र सोही कार्यालयका भाष्कर दाहालको पनि २०७१ मंसिरमा अध्ययन बिदा सकिएको छ तर अझै उनीहरू सम्पर्कमा छैनन् ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका प्राविधिक सहायक उमेश रेग्मी २०६८ कातिक २९ देखि अनुपस्थित छन् । त्यस्तै सोही कार्यालयकी प्राविधिक सहायक दीपा श्रेष्ठ पनि २०७२ जेठ ३० देखि अनुपस्थित छन् । त्यस्तै कृषि विकास कार्यालय अछामका कमनसिंह धामी पनि दुई वर्षदेखि अनुपस्थित छन् ।

वरिष्ठ पशुचिकित्सक डा. टंकप्रसाद प्रसाईं अध्ययनका लागि अस्ट्रेलिया गएका थिए । उनी २०७२ साउन ३० गतेसम्म बिदा लिएर गए पनि सम्पर्कमा छैनन् ।

त्यस्तै पशु चिकित्सक पिताम्बरसिह बिष्ट पनि एमएस्सी अध्ययनका लागि अमेरिका गएर २०६४ साउन २४ गते फर्कनुपर्नेमा उत्तै भासिएका छन् ।

एमएस्सी गर्न मलेसिया गएका डा. खड्गसिह बिष्ट, डा. बालकृष्ण रेग्मी र डा. मर्मज्ञ ढकालको अध्ययन बिदा सकिएको तीन वर्ष पुगिसकेको छ तर उनीहरू पनि सम्पर्कमा छैनन् ।

सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत गान्धी सुवेले लामो समय हराएर हाजिर हुन पाऊँ भनी अहिले मन्त्रालयमा निवेदन दिएका छन् तर उनलाई पनि बर्खास्त गर्ने तयारी सरकारले गरेको छ ।

सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीका सीईओ अमरबहादुर माझीको पनि अध्ययन बिदा २०७२ असार २० देखि सकिएको छ तर उनी अझैसम्म कार्यालयमा उपस्थित छैनन् ।

यी हुन् बर्खास्त हुने कर्मचारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.